0
गोल्डेन न्यूज संवाददाता
शुक्रबार विहानैदेखि भद्रपुर विमानस्थलमा एमाले कार्यकर्ताको भिडभाड नियन्त्रणविहीन थियो । पालैपालो एमालेका शीर्षनेताहरु विमानस्थलमा उत्रिँदा स्वागत गर्ने नेता कार्यकर्ताको भीड विमानस्थलको रनवे छेउसम्मै पुग्थ्यो । शनिवारबाट शुरु हुने मेची महाकाली राष्ट्रिय अभियानको शुरुवात झापाको काँकडभिट्टाबाट तय भएकाले एमाले अध्यक्ष केपी ओली शुक्रवार अपरान्ह भद्रपुर विमानस्थलमा उत्रिए । उनको स्वागतमा एमालेका कार्यकर्ताको ठूलो भिड लागेको थियो । एमाले नेता कार्यकर्ताको भिड व्यवस्थापन गर्न विमानस्थल सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई हम्मे हम्मे परेको जिल्लाका एक उच्च सुरक्षा अधिकारीले बताए । सबै नेता कार्यकर्ताहरु बिभिन्न लियरमा लाइन लागेर नेताहरुलाई चाकडीको शैलीमा माला लगाउन तछाड मछाड गरिरहेका थिए । नेताहरुलाई स्वागत गर्ने एमाले कार्यकर्ताको भीडका कारण विमानबाट उत्रिएका यात्रुले बाहिर निस्कने बाटो नपाएपछि प्रहरीले बाध्य भएर यात्रुले बाटो नपाएको भन्दै स्वागतार्थीहरुलाई विमानस्थल बाहिर लैजानु परेको थियो । नेताहरु पनि गलामा माला अटेसम्म लगाइरहेका थिए । विमानस्थलमा नेता पुग्दा चाकडीका लागि भित्रैसम्म जाने, भीआइपी रुममा पनि भिडभाड गर्ने र माला खादाको अनावश्यक खर्चिलो स्वागत गर्ने शैली बन्द गर्ने पार्टीको निर्णय कसैले वास्ता गरेनन् । स्वागत गर्ने र स्वागत पाउनेमध्ये एउटाले यो विषय महशुस नगरेसम्म कागजमा निर्णय गर्दैमा व्यवहारमा कार्यन्वयन हुन नसक्ने एमाले प्रचार बिभाग सचिव बिष्णु रिजालले बताए ।
विमानस्थलमा भिडभाड गर्ने, नेताहरुको स्वागतका नाममा चाकडी गर्ने शैली बन्द गर्नकै लागि पोखरा भेलाले लिखित प्रस्ताव पारित गरे पनि त्यसको कार्यन्वयनमा अझै उच्चस्तरको संस्कार बिकास गर्नुपर्ने आवश्यकता देखिएको मोर्चा संगठन प्रमुख गोकर्ण विष्टले बताए । यसैबीच एमालेको सिंगो नेतृत्व झापामा पूर्वी नेपालमा आएकाले पूर्वको सुरक्षा संयन्त्र समेत एमालेकै वरिपरि परिचालित भएको छ । एमालेको अभियान विरुद्ध मधेशी मोर्चा र कांग्रेस माओवादीबाट समेत कुनै पनि अप्रिय घटना हुन सक्ने भएकाले पूर्वका सबै सुरक्षा प्रमुखहरु झापा केन्द्रित भएका छन् ।
तीन जना पूर्वप्रधानमन्त्री र दुईजना पूर्वगृहमन्त्री सहित एमालेका सबै नेताहरु अभियानमा रहेकाले उच्च सुरक्षा सतर्कता अपनाइएको हो । नेकपा एमालेले केही अघि पोखरामा आयोजना गरेको जनवर्गीय संगठनहरुको भेलामा विभिन्न प्रस्तावहरु पारित गर्दै तडक भडक नगर्ने प्रतिवद्धता जनाएको थियो । कार्यक्रमहरुलाई खर्चिलो नबनाउने, विमानस्थलमा भीडभाड नगर्ने, माला र खादामा धेरै खर्च नगर्ने लगायतका प्रतिवद्धता सार्वजनिक गरेको थियो । ओली लगत्तै वरिष्ठ नेता झलनाथ खनाल भद्रपुर विमानस्थलमा उत्रिएका थिए । अपरान्ह ४ बजे एमाले नेताहरुको लस्कर नै उत्रियो सोही बिमानस्थलमा ।
बुद्ध एयरको बिमानबाट बरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम, भीम रावल, महासचिव ईश्वर पोखरेल, स्थायी कमिटी सदस्य केशव बडाल लगायत नेताहरु विमानस्थलमा उत्रिँदा स्वागत गर्ने नेता कार्यकर्ताको भीड विमानस्थलको भित्रै पुग्यो । झापाका नेता सांसदहरु मनकुमार गौतम, नरेश खरेल, हिक्मत कार्की, रविन कोइराला, प्रेम गिरी, बलदेव चौधरी लगायतका नेताहरु हातमा खादा, माला बोकेर बसेका थिए ।
एमालेका जनवर्गी संगठन तथा मोर्चाहरुको हालसालै पोखरामा सम्पन्न राष्ट्रिय भेलाले नेताहरु जिल्लामा जाँदा विमानस्थलमा भिडभाड नगर्ने र खादा माला लिएर स्वागतका लागि लाइन नलाग्ने लिखित प्रस्ताव पारित गरेको थियो । तर, एमालेका नेताहरु विमानस्थलमा उत्रिँदा पोखरा भेलाको सो प्रस्ताव खारेज भयो ।

Post a Comment

 
Top