0
गोल्डेन न्यूज संवाददाता
नेपालले इमर्जिङ टिम्स कप क्रिकेटमा मंगलबार बंगलादेश यू–२३ सँग ८३ रनले पराजित भएको छ । टस जितेर पहिलो फिल्डिङ रोजेको नेपालले निर्धारित ५० ओभरको खेलमा बंगलादेशलाई २५७ मा रोक्न सफल भएको थियो । तर नेपालका भरपर्दो मानिएका कुनै पनि ब्याट्स्म्यानले गतिलो प्रदर्शन गर्न नसकेपछि नेपाली टिम १७४ रनमा समेटिएको हो । उद्यपि नेपालका मध्यक्रमका ब्याट्स्म्यान दिलिपनाथ र दीपेन्द्र ऐरीले भने राम्रो साझेदारी गर्न सफल भएसँगै नेपाल लज्जास्पद हारबाट भने जोगिएको हो । दिलिपले ४१ र दीपेन्द्रले ५६ रन बनाएका थिए । यस्तै तल्लोक्रमका ब्याट्स्म्यान विनोद भण्डारीले ३३ रनको योगदान दिएका थिए । नेपालका कप्तान ज्ञानेन्द्र मल्ल सून्य रनमै पेभिलियन फर्किएका थिए भने अर्का ओपनर सुनिल धमलाले पनि १ रन मात्रै बनाएर आउट भएका थिए । यस्तै निकै भरपर्दो मानिएका शरद भेषावकर पनि २ रनमा आउट भएका थिए । बंगलादेशका लागि राहतउल जावेदले ४ विकेट लिएका थिए भने सइफ उद्दिनले ३ विकेट लिएका थिए । यस्तै अब्दुल हसान राजुले २ विकेट लिएका थिए ।
यस्तै नेपालका बलर अभिनाश कर्णले बंगलादेशका प्रारम्भिक ब्याट्सम्यानलाई सुरुवाती ओभर मै पेभेलियन फर्काउन सफल भएपछि बंगलादेशलाई नेपालले २५७ रनमा समेट्न सफल भएको थियो । कर्णले ३ विकेट लिएका थिए भने सन्दीप लामिछानेले महत्वपूर्ण २ विकेट लिएर उनलाई साथ दिएका थिए । मेहबुब आलम र ज्ञानेन्द्र मल्लले पनि १–१ विकेट लिएका थिए ।
बंगलादेशका लागि नासिर हुसैनले अविजित १०४ रन बनाएका थिए भने अर्का ब्याट्स्म्यान मोमिनुल हकले ६१ रन बनाएका थिए । लगातार दुई हारसँगै नेपाल इमर्जिङ टिम्स कप क्रिकेटको समूह चरणबाटै बाहिरिएको छ । नेपालले सोमबार पाकिस्तानसँग ६ विकेटले पराजित भएको थियो ।
यसैबीच एफसी एसियन कप छनोट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाल ४–१ गोलले पराजित भएको छ। नेपालविरुद्ध पहिलो हाफमा ३ गोल गरेको फिलिपिन्सले दोस्रो हाफमा एक गोल थपेको थियो। नेपालका लागि एक मात्र गोल पहिलो हाफमा विशाल राईले गरेका थिए। नेपालले १२ मिनेटमै रातो कार्डका कारण डिफेन्डर विक्रम लामालाई गुमाएको थियो। ७८ मिनेट नेपाल १० खेलाडीमा सीमित भएर खेलेको थियो।

Post a Comment

 
Top