0
पत्रकार महासंघको स्थानीय र केन्द्रीय आगामी नयाँ नेतृत्वको चुनौतीहरु के–के हुन् ? दलीय आबद्धताबाट पत्रकारितालाई मुक्त राख्नु नै पहिलो र सबैभन्दा महत्वपूर्ण चुनौती हो । शायद यो फलामका चिउरा चपाउनु जत्तिकै गाह्रो छ । त्यसकारण यो करिबकरिब अंसभव नै छ भन्दा हुन्छ । कारण, अन्य क्षेत्रमा जस्तै नेपाली पत्रकारिता पनि राजनीतिक हस्तक्षेपको शिकारबाट ग्रस्त छ । संसारका कैयौं मुलुकको पत्रकारिता विज्ञापनदाताको प्रभावबाट प्रताडित छभने नेपाली पत्रकारिता राजनीतिक दलको हस्तक्षेपबाट ! पत्रकारहरुका दल निकटका विभिन्न चुलाचौकाहरु छन् । ती चुलाचौकाहरुले महासंघको नेतृत्वका लागि उम्मेदवारहरु खडा गर्छन् र ति मध्येबाटै महासंघको नेतृत्व चुनिन्छ । त्यसरी खडा हुने नेतृत्वले दलीय आर्शिवाद थापेर मैदानमा उत्रने हुनाले दलीय हस्तक्षेप रोक्न नेतृत्व सफल हुँदैन भनिएको हो ।
श्रमजीवि र सफल पत्रकारहरुलाई महासंघको नेतृत्वमा पु¥याउनु अर्को चुनौती हो । किन नाम चलेका र धेरैले पत्याउने इमान्दार पत्रकारहरु महासंघको नेतृत्वमा आउँदैनन् त ? यसको पनि कारण छ । योग्य, क्षमतावान् र इमान्दार पत्रकारहरु दलीय आबद्धता चाहँदैनन् तर दलीय आबद्धता नभइकन महासंघको नेतृत्वमा आइदैन । यसरी आउने नेतृत्वले दलीय सिन्डिकेट खडा गरेको हुन्छ, सदस्यता वितरणमा । त्यो जिल्लादेखि केन्द्रसम्मकै चलन हो । जिल्ला नेतृत्व जुन पार्टी निकटको छ, त्यसले सदस्यताका लागि बढी सिफारिस गर्छ । नेतृत्व भएन भने सिफारिसमा पर्न निकै मुस्किल छ । केन्द्रीय नेतृत्वको अर्को सिन्डिकेट पनि त्यहाँ खडा गरिन्छ । अन्यत्र भएजस्तै भागवण्डाबाट त्यो पनि अछुतो छैन । सदस्यता अस्वीकृत भएकाहरुले सदस्यता लिनकै लागि उजुरी तथा मुद्दामामिला गर्नुपर्ने अवस्था पनि यदाकदा देखिने गर्दछ । त्यसकारण नेतृत्वमा आउनेहरु पत्रकारिता क्षेत्रबाट भन्दा राजनीतिबाट बढी आउँछन् । महासंघको नेतृत्वमा आइसकेपछि मात्रै उनीहरु पत्रकारका नेताका रुपमा चिनिन्छन् । इतिहास त्यसै भन्छ । दलको सिन्डिकेटभित्र नछिर्ने तर पत्रकारितामा सफल र चर्चित भएका अनुहारहरु आफ्नो मत त ‘नो भोट’मा छोड्न चाहने अवस्थामा छन् ।
गैर पत्रकारलाई रोक्नु अर्को महत्वपूर्ण चुनौती हो । राजधानीतिर फरक परिवेश हुनसक्छ, त्यहाँ मिडिया उद्योगहरुले आफूलाई व्यवासायीकै रुपमा चिनाउन सक्छन् होला तर मोफसलमा अवस्था फरक छ । रहर र राजनीतिको पत्रकारिता गर्ने व्यवासायीहरु सबभन्दा अग्रपंक्तिमा हुन्छन्, सदस्यको । साथै नेतृत्वको दाबेदारीको पनि । राजनीतिक पत्रकारिता भएकाले राजनीतिक दलका नेता कार्यकर्ताहरुले पनि महासंघको सदस्यता नलिने कुरै भएन । स्थानीय व्यापारीहरु, संघ संस्था वा निकायका कर्मचारीहरुले समेत सदस्यता लिएका हुन्छन् । एक अक्षर नलेख्नेहरु पनि पत्रकार बनेका पर्याप्त उदाहरण देखिन्छन् । त्यसकारण श्रमजीवि पत्रकारहरु सदस्यताको लाइनमा सबैभन्दा पुछारमा हुन्छन् । अरुलाई पुगेपछि मात्रै उनीहरुका लागि सदस्यता प्राप्त हुन्छ । यसले श्रमजीविहरुको हक अधिकार पनि हनन हुन पुगेको छ । मताधिकारबाट पत्रकार स्वयं बन्चित हुने अवस्थामा उसले अन्य समाचार कसरी सम्प्रेषण गर्ला ?
पत्रकारिताको देशव्यापी सञ्जाल खडा भइरहँदा दक्षता अभिवृद्धि गर्नु अर्को चुनौती बनेको छ । भाषिक रुपमा दक्ष बनाउनु प्रमुख चुनौती बनेको छ । ज्ञानका अन्य क्षेत्रमा र बहुभाषामा दक्ष बनाउन निकै मेहनत गर्नुपर्ने देखिन्छ । पत्रकारितामा लेखनको सिप र शैली अपरिहार्य छ । यसका लागि पत्रकार महासंघले विज्ञहरुबाट पर्याप्त तालिमका कक्षाहरु संचालन गरेको देखिदैन । सहर र सदरमुकाम केन्द्रित रहेर नै तालिम चलाइन्छ । तर ती पनि पर्याप्त छैनन् । पर्याप्त ज्ञानको अभावमा सुँधेर समाचार पत्ता लगाउने जनशक्ति पत्रकारितामा देखिएको छैन, खोजी पत्रकारिता त परेको कुरा भयो । कलमको निम नतिर्खादा सम्म पत्रकारिताको विश्वसनीयता बढाउन, पत्रकारको सुरक्षा गर्न र जनताको सूचनाको तिर्खा मेटाउन लगभग असंभव नै छ । ससाना मिडिया उद्योगले आफ्ना पत्रकारहरुलाई तालिम दिएर दक्ष बनाउन सक्ने अवस्था छैन । सुखद कुरा पत्रकार महासंघको देशव्यापी सञ्जाल खडा भएको छ । भन्नुको अर्थ हो, मिडिया र तिनमा काम गर्ने पत्रकारहरुको संख्या बढ्दो छ । तर पत्रकारहरुले पत्रकारितामा भविष्य देख्ने अवस्था छैन, त्यसकारण पत्रकारिताबाट पलायन हुनेहरु पछिल्लो समयमा ज्यादा छन् । पलायन हुनुको मुख्य कारण यस क्षेत्रमा भविष्य देख्न नसक्नु नै हो । एकातिर न्युनतम् पारिश्रमिक पनि पाइदैन अर्को्तिर भविष्य सुरक्षित पनि देखिदैन । त्यसकारण यस क्षेत्रमा मानिसहरुलाई टिकाउन निकै गाह्रो देखिन्छ । मोफसलमा कतिपय पत्रकार निशुल्क सेवा गरिरहेका छन् भने कतिपय न्युन पारिश्रमिकमा आफ्नो श्रम बेचिरहेका छन् । अन्यत्र तलब बढ्दा पत्रकारिता क्षेत्रमा तलब बढदैन तर पेशा अन्य क्षेत्रमा भन्दा बढी दुख गर्नुपर्ने प्रकृतिको छ । व्यवसायीले जेनतेन आफ्ना मिडिया धान्दा श्रमजीविहरु भने चरम शोषणमा परेका छन् । पेशाको गुणस्तरीयता बढ्नुमा अनुभवको पनि महत्वपूर्ण स्थान रहेको हुन्छ । तर अनुभव आर्जन गरेका पत्रकारहरु नै पलायन भइरहेको देखिन्छ ।
सुरक्षा अर्को चुनौती छ, आज पनि । वास्तविक समाचार लेख्नभन्दा औपचारिकै समाचारमै आफूलाई केन्द्रित गर्नुको मुख्य कारण सुरक्षा चुनौती नै हो । जहाँ पनि स्थानीयता निकै जब्बर हुन्छ । ठूलो क्षेत्र धेरै प्रकाशन भएका ठाउँमा सुरक्षा चुनौती त्यति समस्याको विषय नबन्न सक्छ तर मोफसलतिर यो निकै चुनौतीको विषय बनेको छ । सबैलाई खुशी पारिएकै समाचार अखबार वा रेडियो टेलिभिजनमा छाउनुको कारण यो पनि हो । वास्तविक समाचार लेख्ने साहस गर्नेहरु निकै थोरै छन् र उनीहरुले जोखिम मोल्नैपर्ने अवस्था छ । खोजी पत्रकारितामा यसले पनि अवरोध पु¥याएको छ ।
सरकारले तोकेको न्युनतम् पारिश्रमिक उपलब्ध गराउनुपर्ने वातावरण सिर्जना गर्ने चुनौती पनि महासंघसँग छ । ससाना मिडिया हाउसहरुले कसरी न्युनतम् पारिश्रमिक उपलब्ध गराउने ? न्युनतम् पारिश्रमिक दिने हो भने मिडिया उद्योग वर्षको त कुरा छाडौँ केही महिना पनि चल्न सक्दैनन् नदिने हो भने पत्रकारहरु लामो समय टिक्दैनन् । यही बाध्यतामा ससाना मिडिया उद्योग चलेका छन् । यो चुनौती पनि निकै जटिल देखिएको छ, पत्रकारितामा । उद्योगधन्दा कलकारखाना आदिको विकास समान रुपमा नहुँदासम्म पत्रकारिताले यो समस्या झेलिरहने निश्चित छ । पत्रपत्रिका वा मिडियाको शैली, प्रस्तुति र संरचनामा परिवर्तन नआउनुको कारण पनि यही हो ।
बिरलै चर्चा हुने कुरा हो, पत्रकारितामा भ्रष्टाचार । तर यो भित्रभित्र मौलाएको छ । चर्चित चर्चित ब्रोर्ड्सिट दैनिकहरु पनि असत्य र भ्रामक समाचारका लागि अवैधानिक रुपले विदेशिनेहरुले अन्तराष्ट्रिय निकायहरुमा पेश गर्छन् भन्ने सुनिन्छ । मोफसलमा त विभिन्न कार्यालय, व्यापारिक तथा ससाना उद्योगधन्दाका समाचारहरु खासै लेखिदैनन् । प्रशासक र पत्रकार तथा नेताको सम्बन्ध पनि निकै निकटको रहेको छ । केवल औपचारिक समाचारमा मात्रै पत्रकारिता सीमित छ । पत्रकारिता आवाजहीनहरुको आवाज नबनेको कुरा पनि उत्तिकै जोडतोडले उठेको छ । सम्पादकको टेबुलबाट समाचार ‘किल’ भएका छन् । आर्थिक तथा दलीय बार्गे्निङ्मा कुरा नमिले मात्र समाचार बाहिर आउँछ नभए तै चुप मै चुपको अवस्थाबाट पत्रकारिता गुज्रिरहेको छ । व्यवस्थापक पत्रकारिताका मूल्य मान्यताको उल्लंघनमा आँखा चिम्लन विवश छ । तथ्य कसरी प्रस्तुत गर्ने यो नेपाली पत्रकारिताको अर्को महत्वपूर्ण चुनौती हो । अझै पनि नेपाली पत्रकारिता भ्रममा र कल्पनामा चलिरहेको छ भन्ने आरोप लाग्दछ । पत्रकारिताले हिजो ५० को संख्यालाई पाँच सय र पाँच सय संख्यालाई पाँच हजार भन्यो भन्ने आरोप आज पनि ज्यँुका त्युँ छ । तर समाचार संस्था र महासंघले कही कतै यसको खण्डन गरेको पाइदैन । भ्रामक समाचारले कस्तो जनमत निर्माण गर्ला ? गम्भीर परीक्षाको विषय छ । उल्लिखित प्रमुख चुनौतीहरु एक अर्कासँग सम्बन्धित छन् । दलीय सिन्डिकेटमा हुने पत्रकार महासंघको निर्वाचन र त्यसबाट आउने नेतृत्व यस्ता चुनौती सामना गर्न सक्षम हुने देखिदैन ।




Post a Comment

 
Top