0
गोल्डेन न्यूज संवाददाता
पोखरामा मंगलबार सम्पन्न भएको वडास्तरीय फुटवल प्रतियोगिताको उपाधि पोखरा वडा नम्बर १३ ले जितेको छ । पोखरा रंगशालामा मंगलबार भएको फाईनल खेलमा पोखरा–१३ ले पोखरा २७ हेमजालाई अतिरिक्त समयमा २–१ को गोल अन्तरले पराजित गर्दै उपाधिसहित ७५ हजार नगद पुरस्कार प्राप्त गरेको हो । पोखरा–१३ को जितमा अतिरिक्त समयमा नवराज गुरुङले निर्णायक गोल गरेका हुन् । ४०÷४० मिनेटको निर्धारित समयमा दुबैतर्फ एक–एक गोलले खेल बराबरीमा पुगेपछि खेल निर्णायकका लागि १०÷१० मिनेट अतिरिक्त समय थपिएको थियो । निर्धारित समयमा पोखरा १३ का सुनिल गोतामे र पोखरा २७ का अशोक नेपालीले एक÷एक गोल गरेका हुन् । उपविजेता भएको पोखरा २७ ले ३५ हजार पुरस्कार प्राप्त गरेको छ । पोखराका २४ वटा वडाहरुको सहभागिता रहेको प्रतियोगितामा पोखरा १२ अनुशासित टोली घोषित भएको छ । त्यसै गरी प्रतियोगितामा पोखरा–१३ का खेलाडी उत्तम गुरुङ उत्कृष्ट खेलाडी घोषित भए । गुरुङ पोखरा–१३ का कप्तान हुन भने उनी शनिबार सम्पन्न भएको आहा रारा गोल्ड कपमा आयोजक सहाराको टिमबाट समेत कप्तान सम्हालेका थिए ।  प्रतियोगितामा उत्कृष्ट गोलरक्षकमा पोखरा १३ का राजु गुरुङ, उत्कृष्ट डिफेन्डरमा पोखरा २७ का राशन कार्की, उत्कृष्ट स्टाईकरमा पोखरा १३ का नवराज गुरुङ, प्रतियोगितामा उत्कृष्ट मिडफिल्डरमा पोखरा २७ का प्रविन थापा घोषित भए । प्रतियोगितामा ७ गोल गरी सर्वाधिक गोलकर्ताको उपाधि पोखरा २७ का समिर कार्कीले हात पार्न सफल भए । विभिन्न ईभेण्टमा उपाधि हात पार्ने खेलाडीहरुलाइ जनहि ५÷५ हजार नगद सहित पुरस्कृत गरिएको छ। उक्त अवसरमा फुटवल खेलकुदको विकासमा महत्वपूर्ण भूमिका खेलेको भन्दै एन्फा कास्कीका उपाध्यक्ष मीलन गुरुङलाई सम्मान गरिएको छ । विजयी खेलाडीहरुलाई पश्चिमाञ्चल क्षेत्रीय प्रशासक खगराज बराल, पोखरा उप–महानगरपालिकाका कार्यकारी अधिकृत नवराज ढुंगाना, नगरपालीकाका बरिष्ठ कानुनी अधिकृत तथा प्रतियोगिता संयोजक नारायण शर्मा लगायतले पुरस्कार वितरण गरेका थिए ।  पोखरा उप–महानगरपालिका कार्यालयको २१औं बार्षिकोत्सव तथा अन्य सम्मान कार्यक्रम समेत सम्पन्न भएको हो । पोखरा उप–महानगरपालिकाको आयोजना, जिल्ला खेलकुद विकास समिति कास्कीको संयोजन, एन्फा कास्कीको व्यवस्थापनमा करिब दुई दशकपछि पोखरामा उक्त प्रतियोगिता पहिलो पटक भएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले बताए ।






Post a Comment

 
Top