0
गोल्डेन न्यूज संवाददाता
विश्वभरका होटल, रेस्टुरेन्ट र पर्यटकीय गन्तव्यबारे जानकारी दिने साइट ‘ट्रिप एडभाइजर’ले नेपालका उत्कृष्ट १० होटल घोषणा गरेको छ। सन् २०१७ का लागि ‘ट्राभलर्स च्वाइस’ घोषणा गर्दा पोखरा, काठमाडांै र नगरकोटका होटल उत्कृष्ट १० भित्र परेका छन्। हालै सार्वजनिक गरिएको घोषणामा पोखराका २, काठमाडौंका ७ र नगरकोटको १ होटल उत्कृष्ट १० भित्र परेका छन्। होटलमा बसेका विदेशी पाहुनाले दिएको सुझाव र सल्लाहको आधारमा ट्रिप एडभाइजरले बर्सेनी उत्कृष्ट होटल घोषणा गर्दै आएको छ। साइटका अनुसार यसपटक काठमाडौंको द्वारिकाज होटल पहिलो नम्बरमा परेको छ। त्यस्तै काठमाडौंकै होटल टिबेट इन्टरनेसनल दोस्रो, होटल साम्बला तेस्रो नम्बरमा परेका छन्। पोखरामा सञ्चालित अतिथि रिसोर्ट एन्ड स्पा चौथो र पोखरा ग्रान्ड पाँचौ नम्बरमा परेका छन्।
 
त्यस्तै काठमाडौंकै पार्क भिलेज रिसोर्ट छैठौं र हायात रिजेन्सी सातौं नम्बरमा परेका छन्। नगरकोटको क्लब हिमालयन रिसोर्ट आठ नम्बरमा परेको छ। काठमाडौंकै होटल शंकर नवौं र सोल्टी क्राउन प्लाजा दसौं नम्बरमा परेका छन्। पोहोर पोखरा र काठमाडौं बाहेक चितवनका होटल समेत उत्कृष्ट १० को सूचीमा परेका थिए। यसपटक चितवनका कुनै पनि होटल उत्कृष्ट १० भित्र परेका छैनन्। उत्कृष्ट १० भित्र परेको पोखराको अतिथि रिसोर्ट एन्ड स्पाका म्यानेजर किरण तुलाधर ट्रिप एडभाइजरको यो सूचीले होटलको व्यापार बढाउन समेत सघाउने बताउँछन्। ‘ट्रिप एडभाइजरको यो सूचीलाई विदेशी पर्यटकले निकै नै विश्वास गर्छन्। यही सूचीको आधारमा विदेशीले होटलमा अनलाइन बुकिङ गर्छन्,’ उनले भने, ‘उत्कृष्ट १० भित्र पर्नु भनेको होटलको सेवा सुविधा उत्कृष्ट रहेको पुष्टि गर्छ। होटलको सेवा, सुविधा र पूर्वाधारको आधारमा यसलाई ’रेटिङ’ गरिने भएकाले निकै विश्वसनीय रहने उनले बताए। ‘सेवा सुविधा उपयुक्त नभए ट्रिप एडभाइजरको सूचीमा पर्न सकिन्न। त्यही भएर हामीले बढी मेहनत गर्नुपर्छ। ट्रिप एडभाइजरको उत्कृष्ट १० मा पर्नु, वर्षभरिको मेहनतको परिणाम हो,’ तुलाधरले भने,‘त्यही भएर सेवा सुविधा चुस्त र दुरुस्त राख्नुपर्छ। भूकम्प र नाकाबन्दीपछि खस्किएको पर्यटन व्यवसायमा यस्तो सूचीभित्र पर्ने कुनै पनि होटलको व्यापार बढाउन सघाउने उनले बताए। ‘यही सूची हेरेर अधिक विदेशी पाहुनाले अनलाइन बुकिङ गर्छा्’, उनले भने। ५० कोठा रहेको अतिथि विगत पाँच वर्षदेखि चलिरहेको छ। उत्कृष्ट १० भित्र परेको अर्काे पोखरा ग्रान्डका सिनियर सेल्स म्यानेजर कमल शेरचनले ट्रिप एडभाइजरको यो सूचीले होटलको व्यापार प्रवद्र्धन हुने बताउँछन्। ‘होटलमा बसेका पाहुनाको कमेन्टमा यो सूची प्रकाशित हुन्छ। पाहुनाले कस्तो खालको कमेन्ट गर्छन्, त्यही आधारमा बर्से्नि उत्कृष्ट छानिने हो,’ उनले भने,–‘होटलको स्तर यही सूचीबाट थाहा हुन्छ। पाहुनाले जस्तोसुकै पनि कमेन्ट गर्न सक्छन्, त्यसैलाई आधारित मानिएको हुन्छ। उनका अनुसार होटलमा बसेका पाहुनाले ट्रिप एडभाइजरको साइटमा सेवा र सुविधाका आधारमा सकारात्मक वा नकारात्मक कुुनै पनि खालको प्रतिक्रिया दिन सक्छन। ‘पाहुनाले नकारात्मक कमेन्ट गर्नासाथ नम्बर कटौती हुन्छ,’ उनले भने, ‘सबैको सकारात्मक प्रतिक्रिया पाएमा उत्कृष्ट हुन सकिन्छ। संख्यात्मक रुपमा केही पाहुनाको कमेन्टलाई आधार मानेर ट्रिप एडभाइजरले उत्कृष्ट १० भित्रका होटल छान्ने गर्छ। पोखरा ग्रान्ड १ सय ४० कोठा क्षमताको पाँचतारे होटल हो।  यो सूचीमा पर्दा पोखरामा पनि उत्कृष्ट होटल रहेछन् भन्ने सकारात्मक सन्देश विश्वभरका पाहुनासमक्ष पुग्ने शेरचनले बताए। ‘त्यही भएर हामीलाई होटलका सेवा सुविधा चुस्त र दुरुस्त राख्न चुनौती हुन्छ। कतैबाट पनि नकारात्मक प्रतिक्रिया नआओस भन्ने चाहना हुन्छ,’ उनले भने,–‘त्यसका लागि निकै मेहनत गर्नुपर्छ।’ ट्रिप एडभाइजरले उत्कृष्ट १० भित्र परेका होटललाई इमेलमार्फत सूचीमा परेको जानकारी समेत दिलाउँछ। साइटले केही दिनअघि मात्र यहाँका होटल उत्कृष्टमा पारेको जानकारी दिएको थियो। साइटले उत्कृष्टको सूची निकाल्दै होटलमा पाइने सेवा सुविधा र आतिथ्यता तथा पूर्वाधार र सरसफाइबारे जानकारी दिन्छ। अनलाइनमै होटलमा बसेका पाहुनाको प्रतिक्रिया उल्लेख गरिदिन्छ। पोखरा पर्यटन परिषद् (पिटिसी) का अध्यक्ष सोमबहादुर थापाले विदेशी पर्यटकले ट्रिप एडभाइजरलाई बढी विश्वास गर्ने भएकाले त्यसले होटलको व्यापारमा सघाउने बताउँछन्। ट्रिप एडभाइजरको सूचीमा पर्दा पोखराका होटलले अन्तर्राष्ट्रिय स्तरमा पहिचान कमाउने उनले बताए। ‘सूचीले पोखरामा होटलको गुणस्तर झल्काउँछ। समग्र पोखराका होटलले अन्तर्राष्ट्रिय स्तरमा पहिचान कमाउँछन्,’ उनले भने, ‘नेपालका उत्कृष्ट होटलको पहिचान कमाउनु आफैमा पनि राम्रो हो।’ पर्यटन बोर्ड पोखराका वरिष्ठ अधिकृत सूर्य थपलिया पनि होटलको सेवा र सुविधाबारे पाहुनाको प्रतिक्रियामा आधारित हुने भएकाले ट्रिप एडभाइजरको सूची बढी विश्वसनीय हुने बताउँछन्। ‘पाहुनाले पाएको सुविधाको आधारमा कमेन्ट गर्छन्। एउटै मान्छेले धेरैपटक कमेन्टसमेत गर्न सक्दैन,’ उनले भने, ‘त्यसैले अरुभन्दा बढी विश्वसनीय छ।’ समूहमा भन्दा व्यक्तिगत रुपमा हिड्ने (एफआइटी) पाहुनाले यो सूचीलाई बढी विश्वास गर्ने उनले बताए। ‘यसले होटलको त व्यापार बढाउँछ। गन्तव्य प्रवर्द्धन गर्न पनि सघाउँछ,’ उनले भने, ‘उत्कृष्ट दुईवटा होटल रहेको ठाउँमा अरु होटल पनि उत्कृष्ट हुन सक्छन् भन्ने सन्देश फैलाउन सघाउँछ।’







Post a Comment

 
Top