0
साझा प्रकाशनले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले नभ्याएको अवस्थामा पाठ्यपुस्तक मुद्रण सहित विगतमा खोसिएको वितरणको जिम्मेवारीसमेत बहन गर्न आफू सक्षम रहेको जनाएको छ ।  संस्थाले ‘एक पटक ः एक काम साझा प्रकाशन’ भन्ने अभियान सहित सरकारका सबै कार्यालयका मुद्रणका काम लिन पहल गर्ने तथा शिक्षा मन्त्रालय मातहतका विशेषगरी पाठ्यक्रम विकास केन्द्रबाट थप काम लिई छपाइ र वितरण गर्ने घोषणा गरेको हो । व्यवस्थापिका–संसद्को महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिले मङ्गलबार समयमा सरकारी निकायलाई जिम्मा दिन र काम गर्ने वातावरण गराउन शिक्षा मन्त्रालयलाई निर्देशन दिएको थियो । केन्द्रले कागज र चालु पुँजी अभावमा आवश्यक पाठ्यपुस्तक छाप्न नसकिएको जनाउँदै आएको छ। साझाका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले निजी क्षेत्रले त्यही पाठ्यपुस्तकको काम गरेर नाफा कमाउने र राज्यका संस्था घाटामा जानुका कारण खोज्न अध्ययन समूह गठन गरिएको भन्दै विगतमा प्रकाशनमा भएका अनियमितताबारे पनि आगामी वैशाखभित्र लेखा परीक्षण प्रतिवेदनसहित सबै विवरण सार्वजनिक गर्ने बताए । सरकारले गत महिना ऋण र अनुदान गरी ३० करोड निकासा गरे पनि सङ्क्रटग्रस्त सो संस्था बामे सर्न थालेकाले अब आफैँ कमाएर राज्यसँग माग्ने होइन दिनसक्ने नमुना संस्थाका रुपमा यसलाई विकसित गर्ने शर्माले प्रतिबद्धता जनाए । साझाको सञ्चालक समितिले शर्मालाई बुधबारैदेखि लागू हुने गरी थप चार वर्षका लागि महाप्रबन्धकमा नियुक्ति गरेको छ । दोस्रो कार्यकालको बुधबार केन्द्रीय कार्यालयमा थालनी गर्दै शर्माले आगामी दुईवर्षे सुधारका कार्ययोजना सार्वजनिक गर्दै चुस्त व्यवस्थापन र दक्ष जनशक्ति परिचालन गरी सो जिम्मेवारी पूरा गर्ने बताए । लेखकको लेखकत्व, कर्मचारीको पारिश्रमिकलगायत सेवानिवृत्त तथा अवकाशप्राप्त कर्मचारीलाई दिनुपर्ने उपदान, विभिन्न व्यक्ति, निकाय र संस्थालाई तिर्नुपर्ने कुल रु ४० करोडभन्दा बढी ऋण दायित्व साझा प्रकाशनलाई छ ।



Post a Comment

 
Top