0
गोल्डेन न्यूज संवाददाता
पोखराको चिप्लेढुङ्गामा रहेको ओम डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना शेयर सदस्य तथा सेवाग्राहीका लागि एएसबिए सेवा शुरु गर्ने भएको छ । यो सेवा आगामी माघ १ गतेदेखि सूचारु हुने बैंकले जनाएको छ । ओमलाई धितोपत्र बोर्डले यो सेवा संचालन गर्ने स्वीकृति दिएपछि बैंकले यो सेवा शुरु गर्न लागेको हो । यो सेवा पाउने पोखरामा रहेका बैंकहरुमध्ये ओम पहिलो हो । विशेषगरि यो सेवा शेयरमा लगानी गर्नेहरुका लागि उपयुक्त हुन्छ । बैंकका कार्यकारी अधिकृत विश्वमोहन अधिकारीका अनुसार ओमका शेयर सदस्य तथा सेवाग्राहीले आफ्नो खातामा रकम जम्मा गरेर शेयरमा लागनी गर्न सक्नेछन्, नगद पैसा बोक्न जरुरी छैन । 
सार्वजनिक निष्काशन  (आइपिओ)  तथा पुनः निष्काशन (एफपिओ) मा लगानी गर्दा अनिवार्य रुपमा बैंक खातामा रकम जम्मा गर्नुपर्ने हुन्छ । सोही खातामा नै रोक्का रहने ब्यवस्था गरे बमोजिम लगानी कर्ताहरुले सार्वजनिक निष्काशनमा लगानी गर्दा एएसबिएका लागि स्वीकृत प्राप्त बैंकहरुमा मात्र रकम जम्मा गरी लगानी गर्न सक्ने व्यवस्था गरेको छ । यसैबीच ओम डेभलपमेन्ट बैंकले बिहीबारदेखि तीन वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैकले स्याङ्जाको गल्याङ, बुटवलको ट्राफिकचोक र पोखराको लेकसाइड शाखा गरी ३ वटा नयाँ शाखाबाट कारोबार शुरु गरेको हो । यी तीनै शाखाको औपचारिक उद्घाटन भने केही पछि हुने बताइन्छ । शाखाको कारोबार पछि बैंकको शाखा संख्या २९ पुगेको र मनास्लु विकास बैंकसँग मर्जरको प्रक्रियामा रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले जानकारी दिए ।

Post a Comment

 
Top