
पोखरा १८ पुस । धादिङ जिल्ला आगिन्चोक गाविसको वडा नं. २ र ३ स्थित अधिकांश युवा–युवतीहरु विदेश एवं अन्यत्र रहेका कारण सुनसान छ । त्यसैमाथि गतवर्षको महाभूकम्पका कारण घरविहीन, बाँस र टिनको सहायताबाट निर्मित छाप्राहरुमा बुढा आमा, बा तथा केही गरिब, निमुखा केटाकेटीहरु निराश मुहारमा देखिन्छन्। भूकम्पले थिलो थिलो पारेको मनमा अझै खाटा बस्न सकेको छैन । आशैआशमा जीवन गुजारिरहनु परेको अवस्था कम्ति पीडादायी छैन उनीहरुको । यस्तै अवस्थामा पनि गत शुक्रबार मध्यान्ह १२ बजेतिर एक रोमाञ्चक दृश्य देखियो उक्त गाउँमा । पञ्चेबाजा घन्किएको थियो, वृद्ध बा आमाको हातमा फूल माला थियो साथमा केटाकेहीहरु पनि। पोखराबाट गाउँमा प्रवेश गरेका केही परिचित एवं केही अपरिचित एक हुल युवाहरुलाई स्वागत गर्न आतुर थिए उनीहरु । पाहुनाहरुलाई पञ्चेबाजा घन्काउँदै, पूmलमाला पहिर्याउँदै भव्य स्वागत गरे उनीहरुले ।
स्वागत गरेपछि पाहुनालाई करिब १ किमिको उकालो पैदलमार्फत श्री भीमोदय माविमा पुर्याए उनीहरुले । विद्यालय हो कि बाख्राको गोठ, छुट्याउनै मुस्किल । करिब ४० वर्षको पुरानो विद्यालय नै थियो त्यो । विद्यालयको अवस्था निकै नाजुक, भौतिक संरचनाले राज्यलाई गिज्याइरहेको थियो । विद्यालयमा पनि विद्यार्थी तथा शिक्षक–शिक्षिकाहरुले पाहुनाको भव्य स्वागत गर्दै कार्यक्रमको मञ्चमा पुर्याए। विद्यालयको वार्षिकोत्सव कार्यक्रम शुरु भयो, कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य लीलानाथ पाण्डेले गरे ।
मुलुकको राजनीतिक किचलोबाट उक्त विद्यालय पनि अछुतो रहन सकेको रहेनछ । भौतिक संरचना र दयनीय अवस्था भन्दा पनि राजनीतिले गर्दा लामै समयदेखि नेतृत्व पाउन सकेको रहनेछ विद्यालयले । यहि कारणले कार्यक्रमको अध्यक्षता गरिरहेका पाण्डेको मुहारमा पनि खुशी देख्न सकिंदैनथ्यो । सहयोगी हात लिएर विद्यालयमा पुगेका पाहुनाका कारण सबैको मुहार हर्षित देखिन्थ्यो तर उनको भने शुरुदेखिनै मलिन थियो । कार्यक्रमकै बीचमा पाहुनाको नेतृत्व गरेका धादिङ–पोखरा सम्पर्क समाजका अध्यक्ष युवराज खतिवडाका साथै सहभागीले विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि संकलित रकमको चेक विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक विष्णुहरि शाह लगायतको हातमा थमाए। विद्यार्थी, शिक्षक–शिक्षिका, अभिभावक सबै हर्षले गद्गद् भए ।
विद्यार्थीका लागि सामाजिक संस्थाबाट प्राप्त पहिलो सहयोग थियो त्यो । धादिङ–पोखरा सम्पर्क समाजको अगुवाइ तथा पोखरामा रहेका विद्यालयका केही भूपू विद्यार्थीको पहलमा उक्त सहयोग त्यहाँ पुर्याइएको थियो । गरिब, असहय तथा जेहेन्दार विद्यार्थीका लागि अक्षयकोष निर्माण गर्ने उद्देश्य रहेको छ उक्त सहयोगको । अक्षयकोष तीन लाख ५१ हजार १५१ रुपैयाँको रहेको छ। आगामी दिनमा अक्षयकोषमा रकम थप गर्ने समाजका अध्यक्ष खतिवडाले प्रतिवद्धता जनाए। अक्षयकोषमा ५४ हजार १५२ रुपैयाँ सहयोग गरेका समाजका अध्यक्ष खतिवडाले विद्यालयको दयनीय भौतिक संरचना देखेर मन थाम्न नसकी एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरे । आप्mनो मन्तव्य राख्ने क्रममा उनले विद्यालयमा देखिएको राजनीतिक किचलो छिटो अन्त्य गर्न आग्रह गरे। सहमतिमा छिटो नेतृत्व चयन गरि विद्यालयको अवस्था सुधार गर्न लाग्नुपर्ने उनको जोड थियो । विद्यालयका लागि समाज र आफ्नो व्यक्तिगत रुपमा अझै सहयोग गर्ने उनले प्रतिवद्धता जनाए । उनले भने–“तपाइँहरु सबै मिलेर विद्यालयको अवस्था सुधार गरि विद्यार्थीको भविष्य उज्जवल बनाउनतर्फ लाग्नुस्, सबै तवरले म र समाज सहयोग गर्न हरदम तयार छ ।’’समाजका वरिष्ठ उपाध्यक्ष सुदर्शन बसौलाले आफूहरुले अध्ययन गरेको विद्यालयमा सानो भएपनि सहयोग गर्न पाउँदा खुशी लागेको भन्दै विद्यालयको भौतिक संरचना सुधारमा आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।

लोकगीत प्रस्तुत गर्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कास्कीका द्वितीय उपाध्यक्ष दधिराम सुवेदीले विद्यालयको अवस्था निकै नाजुक रहेको भन्दै धेरै सहयोगी हातहरु आवश्यक रहेको बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका प्रतिनिधि हरि बुर्लाकोटी, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष रामबहादुर भण्डारी र विजुलबहादुर दर्जी, शिक्षक अभिभावक संघका निवर्तमान अध्यक्ष दीपबहादुर बसौला लगायतले आ–आफ्नो विद्यालयको भौतिक संरचना नामजुक अवस्थामा रहेको विद्यार्थीको पठन–पाठनमा निकै समस्या परेको बताएका थिए ।
विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य लीलानाथ पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत शिक्षक नारायणप्रसाद रिजाल र कक्षा १० की छात्रा कविता वसौलाले गरेका थिए भने संचालन सहायक प्रधानाध्यापक नवराज बरालले गरेका थिए ।
२०३४ सालमा स्थापित विद्यालयमा हाल करिब ३०० विद्यार्थी अध्ययनरत छन् ।
Post a Comment