0
गोल्डेन न्यूज संवाददाता
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेसी र पहाडीलाई भड्काउने षड्यन्त्र भैरहेको बताउँदै सबैलाई मिलाउने दायित्व कांग्रेसको काँधमा रहेको बताएका छन् । नेपाली कांग्रेस कास्कीले सोमवार बिहान आयोजना गरेको कार्यकर्ता भेलालाई संवोधन गर्दै उनले भने–‘भोलि मधेसी र पहाडीलाई भड्काउने वाहाना नमिलोस् । सबैलाई मिलाएर हिड्ने हाम्रो कर्तब्य हो’ उनले भने ‘पार्टीको निर्णय बिरुद्ध कोही बोल्छ भने कडा से कडा कार्वाही हुन्छ ।’
मधेसी र पहाडीलाई भड्काउने बाहाना नमिलोस् भन्नका लागि पनि मधेसीको भावना बुझ्न पर्ने उनले बताए । सभापति देउवाले मधेसी जनताको भावनाको कदर गर्दै मधेसी र पहाडीको बीचमा मेलमिलापको वातावरण बनाउनुपर्ने खाँचो आंैल्याए। नेकपा एमालेले ५ नं. प्रदेशको प्रस्तावित सीमाङ्कनका विरुद्ध आन्दोलन गरेको र अन्य सत्तारुढ पार्टीका केही नेता समेतले साथ दिएको कुरा प्रति लक्षित गर्दै सभापति देउवाले भने–‘यसअघि कांग्रेसका तत्कालिन सभापति सुशिल कोइराला र नेकपा एमालेका अध्यक्ष केपी ओलीले नै हस्ताक्षर गरे अनुसार सीमाङ्कनको प्रस्ताव गरिएको हो । यसमा धेरै विवाद गर्नु जरुरी छैन ।’ संविधानको सफल कार्यान्वयन र देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न आशन्न तीनवटै तहका निर्वाचनमा काँगे्रसले जित्नु आवश्यक भएको बताउँदै उनले त्यसका लागि पार्टीभित्र आन्तरिक एकता कायम गरी अघि बढ्न कार्यकर्तालाई निर्देशन दिए । “पार्टीमा आन्तरिक एकता नभए चुनाव जित्न सकिँदैन, जसले चुनाव जित्न सक्छ, त्यसैलाई उम्मेदवारको टिकट दिने हो”, उनले भने–“काँग्रेस पराजय हुँदा सङ्घीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयन, संविधानको कार्यान्वयन जस्ता धेरै कुरा प्रभावित वन्छ, टिकट पाउनेलाई नपाउनेले सहयोग गरी अघि बढ्नुपर्छ ।’ भेलाका अन्य वक्ताले आशन्न निर्वाचनमा कांग्रेसलाई बलियो बनाउन पार्टी नेतृत्वले भूमिका बलियो हुनुपर्नेमा जोड दिएका थिए । उनीहरुको त्यस्तो भनाइको सभापति देउवाले प्रतिवाद गरे । ‘तपाइँहरु आफ्नो ठाउँमा प्रभावकारी काम गर्नुस् र कांग्रेसलाई जिताउनुस् । आफ्नो ठाउँमा चुनाव हारेपनि मलाई नै दोष दिने हो र ?’ उनको प्रश्न थियो । कांग्रेसभित्र गुट उपगुटको राजनीति बढ्दै गएको भन्ने कार्यकर्ताको गुनासोको जवाफमा सभापति देउवाले भने–‘पार्टीको आन्तरिक चुनावमा हारजित हुन्छ नै । तर यसलाई समायोजन गर्न म लागिपरेको छु । सबैलाई मिलाएर आगामी निर्वाचनमा कांग्रेस बलियो बनाउन मैले सक्दो पहल गर्नुछु ।’ नेपाली कांग्रेसको केन्द्रीय समितिमा पूर्णता दिने र विभागहरुको गठन छिट्टै गरिने देउवाले जानकारी दिए । केन्द्रीय समितिमा पर्नका लागि धेरै वरिष्ठ साथीहरुले चाहना गरेको भएपनि अब ३÷४ जनामात्र मनोनित गर्न सकिने भएकाले आफूलाई समस्या परेको उनले दुखेसो पोखे । उनले भने–‘अन्य पार्टीमा केटाकेटीलाई नै केन्द्रीय सदस्य भन्दै मञ्चमा बोलाउने गरेको देखेको छु, तर कांग्रेसमा धेरै सिनियर साथीहरु छन्, तैपनि उनीहरुलाई केन्द्रीय समितिमा अटाउन सकिने अवस्था छैन ।’ कार्यक्रममा नेपाली काँग्रेसका पूर्व महामन्त्री एवं पूर्व सभामुख तारानाथ रानाभाटले निर्वाचनका लागि उपयुक्त वातावरण बनाउन सरकार गम्भीर बन्नुपर्नेमा जोड दिए ।  सांसद यज्ञबहादुर थापाले तीन तहका निर्वाचन सम्पन्न गर्दै मुलुकमा संविधानको कार्यान्वयन गर्नका लागि पार्टीको नेतृत्वदायी भूमिका आवश्यक रहेको बताए । उनले स्थानीय तहको निर्वाचनमा कांग्रेस कमजोर भएर प्रदेश र केन्द्रीय तहको निर्वाचनमा धक्का पुग्ने भन्दै गुट–उपगुटमा विभाजित कायम रहे कांग्रेसलाई कसैले बचाउन नसक्ने स्पष्ट पारे ।   काँग्रेसका पूर्व आमन्त्रित केन्द्रीय सदस्य शुक्रराज शर्माले देशका विभिन्न कठिन मोडमा नेतृत्व गरेको पार्टीले तीनै तहको निर्वाचनमा आफ्नो नेतृत्वदायी भूमिका स्थापित गर्दै संविधान कार्यान्वयन र प्राप्त उपलब्धिको रक्षाका लागि अघि बढ्ने बेला आएको बताए । कांग्रेस नेता खेमराज पौडेलले पार्टीको केन्द्रीय समितिलाई पूर्णता दिन र सन्तुलन मिलाएर अघि बढ्न सभापति देउवालाई आग्रह गरे ।  कास्की कांग्रेसका सभापति कृष्ण केसीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल महिला संघ कास्कीकी सभापति कोपिला रानाभाट, कास्की कांग्रेसका उपसभापति हरि आचार्य र सचिव रामराज लामिछाने लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।
यसैगरी स्याङ्जामा आइतबार आयोजित एक कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवालाई कार्यकर्ताले पार्टी राष्ट्रिय सवालका विषयमा पछाडि परेकाले राष्ट्रियताको पक्षमा अडिग रहन आग्रह गरेका छन् । नेपाल सांस्कृतिक संघको दोस्रो जिल्ला अधिवेशन तथा कार्यकर्ता भेटघाटमा उनीहरूले केन्द्रीय स्तरका नेता पार्टीको लाइन बाहिर हिँड्ने र राष्ट्रियताका सवालमा एकजुट हुन नसकेको भन्दै त्यसको कारण सोधे । ‘कतिपय केन्द्रीय स्तरका नेता संविधान संशोधनको विपक्षमा वक्तव्य दिँदै हिँडेको छन्,’ कांग्रेस निकट मुस्लिम संघका मुन्ना शेखले भने, ‘हरेक ठाउँमा आफ्नो अनुकूल हेरेर नेताहरूले भाषण तथा वक्तव्य बाजी दिने गरेका छन् । सिंगो पार्टी नै संविधान संशोधनको पक्षमा उभिरहँदा कतिपय नेताहरू भने पार्टीको धार विपरीत हिँडेकाले त्यसलाई पार्टीले कारबाही गर्ने कि नर्गर्ने ।’
उनले पार्टीका तर्फबाट निर्वा्चित सांसद, मन्त्रीलगायत केन्द्रीय सदस्यहरूले पार्टीको हितमा मात्र एकजुट भई लाग्नुपर्ने माग राखेका थिए । कार्यक्रममा उपस्थित अन्य कार्यकर्ताले पनि सभापति देउवासमक्ष गुनासोका चाङ राखेका थिए ।
कार्यकर्ताका गुनासालाई सम्बोधन गर्ने क्रममा सभापति देउवाले राष्ट्रिय मुद्दामा कांग्रेस पछि नपरेको दाबी गरे । ‘तत्काल गर्नुपर्ने भनेको संविधान संशोधन नै हो,’ उनले भने,–‘संविधान संशोधन जुनसुकै हालतमा पनि यही सरकारले गरेरै छाड्छ । मधेसी जनताको माग सम्बोधन गर्दै एमालेलाई पनि सहमतिमा ल्याएरै संविधान संशोधन हुन्छ ।’ उनले संविधान संशोधन पश्चात तीन तहका चुनाव गराउनेतर्फ सरकार लाग्ने बताए ।
स्थानीय चुनाव गर्न नसके देशमा संवैधानिक संकट उत्पन्न हुने उनको भनाइ थियो । उनले २०७४ माघ ७ भित्र तीन तहका चुनाव पनि गराइसक्ने प्रतिबद्धता समेत व्यक्त गरे । ‘मधेसी जनताको माग, इच्छा, चाहना र आवश्यकता अनुसार संविधान संशोधन पास हुन्छ । जनताको मागअनुसार संविधान संशोधन भएपछि लडाइँको नै अन्त्य हुन्छ र संविधान पनि कार्यान्वयनको दिशामा अघि बढ्छ,’ सभापति देउवाले भने ।



Post a Comment

 
Top