0
गोल्डेन न्यूज संवाददाता
पोखराको नयाँबजारस्थित नव प्रभात माविमा जलवायु परिवर्तन, सरसफाई र फोहरमैला व्यवस्थापन सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भयो । पोखरालाई प्लाष्टिकका झोला र गिलास मुक्त क्षेत्र घोषणा गरेसँगै यस क्षेत्रलाई सफा र फोहरमैला रहित बनाउने उद्देश्यले नगरपालिका कार्यालयको सहयोगमा रेडियो जननीले उत्तः कार्यक्रम आयोजना गरेको हो ।  कार्यक्रमका प्रमुख अतिथि  विद्यालयका सहायक प्रध्यानाध्यापक श्रवण कुमार शर्माले विद्यार्थीले अहिले सिकेका कुरा भविष्यमा सहयोगी हुने हुँदा जे कुरा पनि राम्रो सिक्न अनुरोध गरे । उनले सचेतनामूलक कार्यक्रमले जलवायु परिवर्तन, सरसफाई, र फोहरमैला व्यवस्थापनमा धेरै सहयोग पुग्ने विश्वास व्यक्त गरे ।   रेडियोकी अध्यक्ष हिरा भट्टराईले रेडियोले समुदायमा पुगेर विभिन्न सचेतनामूलक र सिपमुलक कार्यक्रम गर्दै आएको भन्दै  पोखरालाई सफा सुन्दर राख्नका लागि कार्यक्रम आयोजना गरिएको जानकारी दिइन। अध्यक्ष भट्टराईले विद्यार्थीले सिकेका कुरा घरका अन्य सदस्यहरुलाई सिकाउन सके कार्यक्रमको प्रभावकारिता अझ बढ्ने विश्वास व्यक्त गरिन् । रेडियोकी स्टेशन म्यानेजर बिमला भण्डारीले जलवायु परिवर्तनको असर सँगै यसले मानवीय जीवनमा धेरै समस्याहरु निम्त्याउने भएकाले यसतर्फ सबै सचेत हुनुपर्नेमा जोड दिइन । उनले जलवायु परिवर्तनका कारण पानी पर्ने समयमा पानी पर्न नसकेको, घाम लाग्ने समयमा राम्रोसँग घाम लाग्न नसकेको, हिमालहरु पग्लिदै गएकोले मानवलाई विभिन्न किसिमका रोगहरु लाग्न थालेकाले हामीले आ–आफ्नो घरबाट परिवर्तन सुरु गर्नुपर्नेमा जोड दिइन। 

 पोखरा उपमहानगरपालिकाका वातावरण अधिकृत निर्मलमान सिंह भण्डारीले पोखरा उप–महानगरपालिकाले मात्र पोखराको फोहर व्यवस्थापन गर्न नसक्न्े भन्दै  पोखरावासीको साथ अनिवार्य आवश्यक हुने बताए। उनले जलवायु परिवर्तन जस्ता विकराल समस्याहरुको न्युनिकरण गर्नका लागि  विद्यार्थीहरुको पाठ्यक्रमले मात्रै प्रर्याप्त ज्ञान आर्जन नहुने भएकाले जनचेतनामूलक कार्यक्रम आवश्यक भएको स्पष्ट पारे ।  विद्यालयकी शिक्षिका गौरी तमुले विद्यार्थीहरुमाझ गरिएका यस्ता कार्यक्रमहरुबाट व्यवहारिक ज्ञान प्राप्त हुने र कुहिने फोहोर र नकुहिने फोहोरको व्यवस्थापन गरि विद्यालयलाई सुन्दर बनाउनका लागि यो कार्यक्रमले सहयोग पुग्ने बताइन । यस्ता कार्यक्रमहरु विद्यार्थीहरुलाई मात्र होइन  समाजमा रहेका विभिन्न व्यक्तिलाई  दिनुपर्नेमा जोड दिइन । विद्यार्थी सुनिता गोपालीले कार्यक्रम लाभदायी रहेको भन्दै पोखरालाई स्वच्छ र सफा बनाउन घर र विद्यालयबाट थालनी गर्नुपर्नेमा जोड दिंदै आफूले जानेका कुराहरु आफ्नो घर परिवारमा गएर सिकाउन विद्यार्थीहरुसंग आग्रह गरिन् । रेडियोकी अध्यक्ष हिरा भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन रेडियोकी  गंगा मरासिनीले गरेकी थिइन ।





Post a Comment

 
Top