0
समृद्धिलाई फराकिलो आँखाले हेर्नुपर्छ जस्तो लाग्छ । समृद्धि भन्नेवित्तिकै हाम्रो मन र आँखामा टड्कारो आउने आम्दानीको कुरा हो । तर, त्यो आम्दानी कहाँबाट आउँछ भन्ने कुरा पनि हामीले ख्याल गर्नुपर्छ । आम्दानीका साथै शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सम्बन्ध पनि हेर्नुपर्छ । दरिलो सामाजिक सम्बन्धमा मान्छे हुर्किन पायो भने, जीवनकालमा पछिसम्म पनि सामाजिक सम्बन्धहरु राम्रो राख्न सकियो भने त्यसले समृद्धिको ढोका खोल्छ । सम्बन्धहरु कुनै गाढा र कुनै पातला हुन्छन्, ती दुईखाले मिश्रण भएको सम्बन्ध आवश्यक हुन्छ जस्तो लाग्छ । ज्यादै गाढा सम्बन्धले पनि मान्छेलाई कुण्ठित तुल्याउँछ । बाबु–आमाले माया गर्छन् भनिन्छ, तर कतिपयलाई बाउ–आमाले ट्याप्पै समातेर राख्छन् । केही रुपमा त्यो खाले सम्बन्ध पनि चाहिन सक्छ । तर, त्यसबाहेक खुला खालको सम्बन्ध, साथीभाइ र समुदाय सँगको सम्बन्ध पनि चाहिन्छ । स्वतन्त्र हुन सक्ने, स्वतन्त्र ढंगले आफ्नो मत राख्न सक्ने, राम्रो शिक्षा, स्वास्थ्यका साथै उँच(निच तथा भेदभाव न्यून भएको (हुँदै नभएको हामी कल्पना गर्न सक्दैनौं) अवस्थाले समृद्धिको वातावरण तयार पार्छ । लोकतन्त्रको उदय भएपछि र पूँजीवादी पद्धतिको गुण के हो भने जन्मिँदै हुने असमानताहरु, चाहे त्यो जातीय असमानता हुन्, महिला–पुरुषको असमानता हुन्, यसलाई न्यूनीकरण गर्ने अहिले ठ्याक्क बेला छ जस्तो लाग्छ मलाई । हामीले अगाडि सार्नुपर्ने सम्पन्नताको इमेज यो हो । समृद्धिका बारेमा हामी हाम्रा दुईवटा ऐतिहासिक पृष्ठभूमिको चर्चा गर्न सक्छौं, जुनबेलामा दक्षिण एसिया (भन्न मिल्छ भने चीन सहितको दक्षिण एशिया) समृद्ध भएको देखिन्छ । एउटा धेरै अगाडि बुद्धकालीन कालखण्डको दक्षिण एसियाली भूभाग । अर्को कालखण्ड हो, सन् १२ सयदेखि पाँच सय वर्षसम्मको अवधि । म दोस्रो कालखण्डका बारेमा धेर चर्चा गर्दैछु ।
 
त्यो अवधिमा यो पूरै क्षेत्र सम्पन्न थियो, संसारको सबभन्दा विकसित क्षेत्रमै थियो सायद । यो कुरा पनि विचार गर्नु महत्वपूर्ण छ । किनकि हामी यसरी हुर्केका छौं, हामीलाई नेपाल सधैं गरिब नै थियो जस्तो लाग्छ । त्यसबाट हामीलाई अब पछि पनि यस्तै हुन्छ भन्ने हाम्रो मानसिकता बन्छ । त्यसबाट मुक्ति पाउने हामीलाई कल्पना गर्नसमेत गाह्रो छ । तर, हामीले ती ऐतिहासिक कालखण्डहरु, जुनबेला नेपाल सहितको सिंगो क्षेत्र समृद्ध थियो, त्यो थाहा पायौं भने हामीले गर्ने समृद्धिको कल्पना पनि अलि राम्रो हुन सक्छ । त्योबेला भारतमा मुगल साम्राज्यको बेला थियो । मुगल साम्राज्य सुरुदेखि उत्कर्षसम्म पुगेको बेला थियो । चीनमा सङ र मेङको समय थियो, जुन बेलामा चीनको सबभन्दा स्वर्ण युग भनिन्छ । नेपालमा त्यहीबेला हो, खस साम्राज्यको बेला, मल्ल राज्यको बेला, सेन राज्यको बेला, जुन सायद नेपालको सबभन्दा समृद्ध समय थियो । त्यतिबेला काठमाडौं उपत्यका त संसारको सम्पन्न ठाउँमध्येको थियो । त्यसकारण हामी सबैले त्यो बारम्बार सम्झिराख्नुपर्छ, खास गरेर नेपालका राजनीतिज्ञहरुले सम्झिराख्नुपर्छ जस्तो लाग्छ । त्यसबाट ऊर्जा लिनुपर्छ ।
विगतलाई विश्लेषण गर्ने, त्यसमा पनि राम्रा कुरालाई विश्लेषण गर्ने, त्यसबाट पाठ सिक्ने र वर्तमानलाई विश्लेषण गर्ने र भविश्यलाई ‘रि(इम्याजिनेसन’ गर्ने त्यो सबै कुरा हामीले इतिहासले दिएको छ । यो तीन सय वर्ष मात्र रह्यो । सन् १७ सयपछि यो क्षेत्र ओरालो लाग्यो । सन् १६ सयमा संसारमा जति वस्तु र सेवा उत्पादन हुन्थे, त्यसको ५५ प्रतिशत यही क्षेत्रबाट हुन्थे । ५५ प्रतिशत कुल गार्हस्थ उत्पादन यो क्षेत्रको रहन्थ्यो । त्यो दोहो¥याउँदै सम्झिन लायक छ । त्यसले हामीलाई त्यस्तो फेरि हुन सक्छ, हामी फेरि त्यही हाराहारीमा पुग्न नसके पनि उल्लेख्य उपलब्धि हासिल गर्न सक्छौं भनेर ढाडस दिन्छ ।
के कारणले ओरालो लाग्यो ?
समृद्धिको एउटा चक्र छ । त्यो समृद्धिको कोर एरियाहरु कहिले विश्वको कुनै ठाउँमा त कहिले कुनै ठाउँमा घुमिराखेको छ । सन् १७ सय पछाडि हाम्रो क्षेत्रमा बेलायतको उपनिवेश हावी भएको बेला भयो । त्यो उपनिवेशको अन्तर्गत यो क्षेत्र ज्यादै कमजोर भयो, उद्योगहरु खस्किए । यहाँ ठूलो हदको औद्योगिकरण थियो । भारत र चीनका शहरहरु संसारका सबभन्दा धेरै जनसंख्या भएका शहरहरु थिए । त्यत्रो जनसंख्या कहीँ थिएन संसारमा । तर, त्यसपछि औद्योगिकरण सुस्तायो, बेरोजगारी सिर्जना हुन थाल्यो । क्रमशः ओरालो लाग्यो । त्यो बेलामा चीन, नेपाल र भारतमा पनि ठूलो राजनीतिक उथलपुथल पनि भएको थियो, सायद अन्य एसियाली मुलुकहरुमा पनि ।
उथलपुथलकारी बेला (यसलाई एकथरीले सिर्जनशील विनाश पनि भन्छन्) र विशाल आर्थिक सम्पन्नताको बेला थियो । अनि क्रमशः पूँजीवादी विकासको केन्द्र यताबाट उता (पश्चिममा) स¥यो । अब यतिका तीन चार सय वर्षपछि यो सम्भावना फेरि देखिएको छ, नयाँ युगमा हामी पदार्पण गर्दै छौं । सन् १६ सयदेखि १७ सयसम्म हराएको समृद्धि यो क्षेत्रमा फर्किने सम्भावना अहिले टड्कारो देखिएको छ । भारत र चीनको समृद्धिका फिगरहरु हामीलाई थाहा छँदैछ ।
समृद्धि सजिलो कुरा त छैन । अघि मैले केही वातावरण बन्दैछ, विश्वको ऐतिहासिक परिस्थिति अहिले कस्तो बन्दै छ भनेर भारत र चीनको कुरा गरेको हुँ । त्यसले धेरै कुरा खोले पनि सबै सम्भावना खोल्दैन । हामीले आफैंले गर्ने कुरा हो । गरेर मात्र हुने कुरा हैन, हामीले बुद्धि पुर्याएनौं भने राजनीतिक उथलपुथलकारी बेला पनि हो । त्यहाँ भएको विकासले हामीकहाँ राजनीतिक उथलपुथल र सैन्य उथलपुथल पनि ल्याउँछ ।
भारत र चीनसँग नेपालको तुलना
भारत र चीनको विकास तीव्र हुँदै जाने हो भने र हामीले त्यो वृद्धिसँग प्रतिस्पर्धा गर्न नसक्ने हो भने ठूला संकटहरु आउन सक्ने सम्भावना छ । अहिले नै त्यसका सूचकहरु १०–१५ वर्षयता देखिएको छ भन्ठान्छु म । त्यो चाहिँ पछि बढ्दै जान्छ । गरिबीको चापमा नेपाल लामो समय रह्यो । त्यसबाट उम्किन थालेको चीन करिब १९७८ देखि र भारत १९९० देखि हो । १९९० ताका हाम्रो पनि आर्थिक वृद्धिदर सारै कम थिएन । अहिले पनि भारत र चीनभन्दा हाम्रो वृद्धि दर त धेरै पछाडि नै छ, तर विश्वको तुलनामा ३÷४ प्रतिशतको वृद्धि सारै थोरै हैन । भारत र चीनसँग तुलना गर्ने हो भने चाहिँ सारै थोरै हो । त्यसकारण हामीलाई त छिमेकमा बाँच्नु छ, छिमेकमा बाँच्नलाई त्यहीखालको वृद्धि दर हासिल नगर्दा ठूलो घाटा पर्ने सम्भावना छ । त्यो घाटा आर्थिक मात्र हैन, अरुखालका घाटाहरु पनि, राजनैतिक घाटा, सामरिक घाटाहरु पनि हुन सक्छन् भन्ठान्छु म ।
आशाको किरण
तर, सबै कुरा अँध्यारो छ जस्तो पनि लाग्दैन । म बारम्बार भनिरहन्छु, सन् १९८० देखि २०१० सम्मको शिक्षा र स्वास्थ्यको विस्तार संसारका मूल वर्गमा विभाजन गर्दा सबैभन्दा अगाडि नेपाल थियो । त्योचाहिँ २०१० को युएनडीपीको मानव विकाससम्बन्धी रिपोर्ट हेर्रुयो भने देखिन्छ । शिक्षा र स्वास्थ्यको विस्तार सबैभन्दा अगाडि थियो । हामी भन्छौं, स्वास्थ्यको यस्तो समस्या छ । पक्कै छ, धेरै समस्या छ । शिक्षामा समस्या भनेको शैक्षिक गुणस्तर घटेको छ । पहुँच बढे पनि गुणस्तर घटेको छ । यो चिन्ताजनक कुरा हो । तर, संसारका कुनै पनि मुलुकको तुलनामा नेपाल अगाडि रह्यो । ३० वर्ष अगाडि रहनु भनेको सानो कुरा होइन । हामी विगतको २० वर्षलाई हेरौं, आम्दानी बढेको छ । चीन र भारतको जस्तो नबढे पनि बढेको छ । गएको १० वर्षमा असमानता केही घटेको छ । कसै–कसैले भन्छन् असमानता बढेको छ, त्यो कुरा सत्य हैन । आम्दानीको असमानता र उपभोगको असमानता घटेको छ । त्यो हुनुको के कारण हो भने, श्रमले भाउ पायो । काम नपाउने मान्छेले काम पाए, युवाहरु विदेशमा पुगे । नेपालमै पनि मजदुरीको दर गएको १५ वर्षमा दोब्बरभन्दा बढी भएको छ । आम्दानीको वृद्धि, भलै अर्को मुलुकमा गएर बढेको होस्, सबै नराम्रो पनि छैन । मलाई सबै मान्छेले नेपालमै काम गर्नुपर्छ जस्तो पनि लाग्दैन । शिक्षा र स्वास्थ्य बाहेक नेपालको सकारात्मक कुरा गर्दा असमानता त छ । जस्तै( कसले कति जमिन राख्छ भन्नेमा । कसैको धेरै छ, कसैको थोरै छ । तर, धेरैको छ । अरु धेरै मुलुकमा यतिका धेरै जनसंख्याको आफ्नै जग्गा–जमिनमाथि स्वामित्व हुँदैन । नेपाल कृषिबाट धेरै आम्दानी गर्ने मुलुकहरुमा पनि पर्छ । छरिएको रिसोर्स (भूमि) हुनु अत्यन्त महत्वपूर्ण छ । हामीकहाँ श्रम मुख्य दुई किसिमको छ, एउटा आफ्नो परिवारको खेतबारीमा आफैं काम गर्ने हो, दोस्रो चाहिँ ज्यालादारी हो । भन्नाले आश्रति श्रम हामीकहाँ केही देशभन्दा थोरै छ । अर्को किसिमले भन्दा श्रम स्वतन्त्र पनि छ । श्रम स्वतन्त्र हुनु, रिसोर्सेज छरिएको हुनु, शिक्षा–स्वास्थ्य विस्तारित हुनु उल्लेख्य कुरा हुन् । अझ मेरो उमेरको मान्छेले त अदभूत देख्छ । मैले स्कूल पढ्दा नेपालीहरुको औसत आयु ३५ वर्ष छ भनिन्थ्यो, अहिले ७० वर्ष पुगेको छ । त्यो हेर्दा प्रगति नभएको भन्ने स्थिति पनि छैन । केही यस्ता सकारात्मक फिचर छन्, चीन र भारत जसरी विकसित भइरहे अनुसार नेपाल पनि त्यसरी विकसित हुन सक्ने सम्भावना देखाउँछ । हुन्छ भन्ने त छैन, तर सम्भावनाचाहिँ खुलाउँछ ।
हाम्रो कमजोरी र दलीयकरणको असर
शिक्षा र स्वास्थ्य बाहेक अरु क्षेत्रमा हामीले प्रगति गर्न सकेका छैनौं । हामीले रोजगारी वृद्धि गर्न नसकेको हो । त्यसकारण गरिबी दर करिब २७र२८ प्रतिशत देखिन्छ । गरिबी व्यापक हुनुको कारण हामीले रोजगारी वृद्धि गर्न नसक्नु नै हो । रोजगारी सिर्जना गर्न नसक्नुका पछाडि दुई–तीनवटा कारण छन् । एउटा, हाम्रो सरकारले के खालको अर्थतन्त्र सञ्चालन गर्ने हो, त्यो बारेमा राम्रोसँग अठोट नै गर्न सकेको छैन । त्यसको एउटा मापक अहिले पनि ‘समाजवाद उन्मुख अर्थतन्त्र’ भनिएको छ ।
 
मैले बुझ्दा समाजवादका तीनवटा प्रकार हुन्छन् । तीनवटै प्रकारमा नेपालको संविधानमा लेखिएको समाजवाद मेल खाँदैन । त्यसकारण के खालको अर्थतन्त्र सञ्चालन गर्न खोजेको हो, निजी क्षेत्रको लगानीलाई खुलाउन खोजेको हो कि हैन, केही पनि स्पष्ट छैन । अहिले नेपालको अर्थतन्त्र मूलतः पुँजीवादी किसिमले चलेको छ, विकृति पुँजीवादी किसिमले पनि चलेको छ । तर, नेपालका दुईवटा मुख्य कम्युनिष्ट पार्टीहरु पुँजीवादी विकासका लागि तयार छैनन् । त्यो पुँजीवाद भन्ने कुरा ती पार्टीलाई पाप गर्नुजस्तो लाग्छ । किनकि कम्युनिष्ट पार्टी पुँजीवादी हुन सक्दैन भन्ने छ । त्यसकारण बडो विचित्रको स्थिति छ । अर्थतन्त्रलाई कसरी बुझ्ने, कसरी सञ्चालन गर्ने भन्नेमा ठूलो एउटा खाडल छ जस्तो लाग्छ । धेरै कुरा राजनीतिक दलहरुको व्यवहारले असर पारेको छ । मूल अर्थतन्त्रको स्वरुप के हो भन्ने बारेमा दलहरुले अंगीकार गरेको दृष्टिकोणले पनि यस्तो भएको हो । त्यो दृष्टिकोण प्रष्ट नहुँदा र प्रष्फुटित रुप दिन नसक्दा गोलचक्करमा परेजस्तो देखिन्छ । दलीयकरण र कार्टेलिङको कुरा हामी बेलाबेलामा गर्छौं, त्यसले समाजलाई निकास दिनबाट धेरै रोकेको छ भन्ने मलाई लाग्छ । वास्तवमा नेपालमा प्रतिस्पर्धात्मक बहुदलीय प्रणाली भने पनि दुई वा तीनथरि मिल्ने र भागबण्डा गर्ने खालको बहुदलीय व्यवस्था जस्तो भयो । त्यस कारणले एक किसिमले हेर्दा कहिलेकाहीँ बहुदलीय पनि हो कि हैन भन्नुपर्ने र शंका गर्नुपर्ने देखिन्छ । किनकि बहुदलीय हुनुको एउटा मर्म त एउटा पार्टीले नराम्रो गर्दा अर्को पार्टीले बोल्छ भन्ने हो । तर, तीनथरि मिलेरै नराम्रो गर्न थालेपछि बोल्ने कसले ? त्यो स्थिति पनि बेलाबेलामा देखा परेको छ ।
राजनीतिक दलका नेता र तीनका कार्यकर्ता एउटा वर्ग र त्यसबाहेक आम मान्छेको अर्को वर्ग हुँदा त्यसको असर माथिदेखि तलसम्म परेको देखिन्छ । खास गरेर स्रोतहरुको वितरणमा पार्टी लाइनबाट जाँदा यस्तो हुन्छ, जस्तो–स्थानीय निकायको कुरा गरौं । चुनाव नभएको यत्रो वर्ष भयो, त्यसले के असर गरेको छ ? त्यसले फेरि पनि बाँडीचुँडी खाने पद्दतिलाई प्रश्रय दिएको छ । बाँडीचुँडी खाने कसले हो ? जागिर खाने कसले हो ? विश्वविद्यालयमा अन्तर्वार्ता लिएर काम दिने मान्छेहरु दलीय लिस्ट बोकेर बस्छन् भन्ने सुनिन्छ । पहिला नै बोकेर आएका हुन्छन् । त्यस कारण यो तलदेखि माथिसम्म नीतिगत कुरामै छ । जस्तो–हामी बैंकरहरुको नीतिको कुरामा पनि देख्छौं । कसको फाइदाका लागि त्यो भयो ? निजी स्कूलहरुको कुरा गरौं, अहिले डा. गोविन्द केसीको आन्दोलनको विरुद्धमा विभिन्न स्टेपहरु नीतिगत तहमै मिलेमतो गरेर भागबण्डा गर्ने र तल्लो तहसम्म हाकिमहरुसँगको कार्टे्लिङ, स्थानीय राजनीतिक पार्टीका रुपहरु अनि हाकिम चलाउने कम्पनी लगायतको साँठगाँठले अरु उपभोक्ताहरु मात्र प्रभावित छैनन्, कतिपय अवस्थामा लगानीकर्तालाई पनि लगानी गर्नबाट रोकेको छ ।
छिमेकी देशको प्रगतिसँगै नेपालमा एकदम उथलपुथल आउँदैछ
दुई छिमेकी देशको तीव्र विकासको अघि मैले कुरा गरेँ । देशको आर्थिक र सामरिक विकासबाट नेपालमा जोखिम पनि एकदम बढ्छ, अघि मैले उथलपुथलको कुरा पनि गरेँ । सँगै त्यसले सम्भावना पनि प्रशस्त खुलाएको छ । किनकि संसारभरि विकास र सम्पन्नता हुने क्षेत्रीय तहमा हो, एउटा–एउटा देशको तहमा हैन । इतिहास पढ्यो, क्षेत्र–क्षेत्रले विकास गरेको देखिन्छ, कुनै एउटा सिंगो मुलुकले मात्र हैन । त्यसकारण छिमेकी मुलुकहरुको आर्थिक विकासले नेपालको विकासमा पनि सम्भावना धेरै खोलेको छ । हामीले अहिल्यै छिटो–छिटो गरिहाल्नुपर्ने कुरा चाहिँ यी देशहरुसँग कसरी इन्टेग्रेट भन्ने नै हो । यी देशहरुसँग आर्थिक रुपमा कसरी समन्वय गर्ने भन्ने चुनौतीले धेरै सम्भावना पनि खोल्छ । राजनीतिक रुपले देश पृथक छ, तर क्षेत्रीय पुँजीवादभित्रको पृथकता हो त्यो । त्यहाँभित्र हामी एकै ठाउँमा छौं । त्यस कारण ती मुलुकहरुमा चाहिने कुरा उत्पादन गर्ने, त्यहाँको उपभोक्तालाई चाहिने कुरा यहाँ बोलाएर दिने, यी कुरामा ती देशको अर्थतन्त्र र हाम्रो अर्थतन्त्र हामीले चाहे पनि, नचाहे पनि जोडिन्छ । यो सामान्य अवस्था हैन । नेपालको इतिहासमा हामी यस्तो विन्दुमा आइपुगेका छौं, एकदम उथलपुथलकारी समय आउँदैछ । हामीले कल्पना नगरेको उथलपुथलकारी हुन्छ भन्ने मलाई लाग्छ । इतिहासले त्यो कुरा इंगित गर्छ । त्यस कारणले त्यो कुरा मनन गरेर, त्यसको मर्म बुझेर हाम्रो आउँदो २०, ५०, १०० वर्षसम्मको कोर्ष तयार गर्नुपर्छ जस्तो लाग्छ । मैले फेरि पनि जोड दिएर भन्ने कुरा, हाम्रा नेताहरुले अघि मैले उल्लेख गरेको इतिहास पढून् । त्यसबाट ऊर्जा र जाँगर झिकून् । त्यसले धेरै ठूलो आड दिन्छजस्तो लाग्छ ।
(पोखरामा जारी नेपाल साहित्य महोत्सवमा शनिबार ‘समृद्धि कति नजिक’ विषयमा मिश्रले राखेको धारणाको सम्पादित अंश)




Post a Comment

 
Top