0
हरि पन्त÷गोल्डेन
आफ्नै घरेलु मैदानमा आफै विपक्षी भएर उत्रनु जो कोहीका लागि रमाइलो नहोला । तर नेपाली राष्ट्रिय फुटवल टीमका कप्तान समेत रहेका अनिल गुरुङलाई यस्तै संयोग मिलेकोछ, त्यसमा उनी निकै खुशी छन्। एउटा ठूलै प्रतियोगिता को उपाधि उचाल्दा खुशी हुनु स्वभाविक हो। राजनीतिमा सत्रु र मित्र हुँदैन भन्ने प्रचलन जस्तै खेलकूदमा पनि हुँदैन, जून कप्तान अनिलले चरितार्थ गरेका छन् ।  १५ वर्ष अघि सहारा एकेडेमी मार्फत फुटवल खेलेका उनी १५ बर्षपछि सोही टीमको विरुद्धमा, त्यो पनि आफ्नै नेतृत्वमा । १५औं आहारारा गोल्डकपको फाइनलमा मनाङको कप्तान भइ उनी मैदानमा उत्रिएका थिए । उनी भन्छन्–‘यस्तो संयोग प्रायः कम हुने गर्दछ, तर मैले भूमिका निभाउन कुनै टिमको प्रतिनिधित्व गर्नुपर्छ भने त्यसमा साथीभाई, दाजुभाई कुनै सम्वन्ध हुदैन, मात्र हुन्छ मेरो क्लवको भूमिकामा मेरो कर्तव्य ।’  सहाराका खेलाडी तथा अनिलका १५ वर्ष अघिका सहकर्मी विष्णु गुरुङ अनिल राष्ट्रिय टीमको समेत कप्तान हुन पुगेकोमा निकै खुशी छन् । उनी भन्छन्–‘अनिल एकेडेमीमा हुँदा सिनियर खेलाडी हुनुहुन्थ्यो। डेढ दशकपछि विपक्षीको कप्तान भएर मैदानमा उत्रिएपनि म निकै खुशी छु ।’ अनिलको सफलतामा समग्र पोखराले गौरवको अनुभूति गरेको उनले बताए । घरेलु उत्पादन अनिलको कप्तानीमा उत्रिएको मनाङले घरेलु टीम सहारालाई पराजित गरि उपाधि उचाल्यो । घरेलु टीम सहारालाई घरेलु मैदानमै १–० ले पराजित गर्दै मनाङले पाचौं पटक उपाधि उचालेको हो । करिब १५ हजार दर्शकलाई साक्षी राख्दै मनाङले सबैभन्दा धेरै आहारारा गोल्डकप जित्नेको सूचीमा पनि आफ्नो नाम लेख्यो । आहा गोल्डकपको उपाधि ४ पटक नेपाल पुलिस क्लवले जितेको छ । गतवर्ष पुलिससंग बराबरी रेकर्ड बनाएको मनाङले यसवर्ष नयाँ रेकर्ड बनाउन सफल भयो ।
खेलको ७०औं मिनेटमा डिफेन्स कमल श्रेष्ठले ३५ यार्डबाट हानेको बल कर्भ हुँदै सिधै गोल भएपछि मनाङले नयाँ रेकर्ड कायम गरेको हो। प्रतियोगिताभर उत्कृष्ट खेल प्रदर्शन गरि सर्वोत्कृष्ट खेलाडी समेत घोषित सहाराका गोल रक्षक सुजित गुरुङ उक्त गोल हुँदा झुक्किन पुगेका थिए। गुरुङ फाइनल खेलको पहिलो हाफ अघिसम्म सर्वोत्कृष्ट खेलाडी बन्ने आँकलन सबैले गरेका थिए। तर जब मनाङका कमलको सजिलो  प्रहारलाई पनि रोक्न नसक्दा केही समर्थकले आयोजक टीमको खेलाडी भएकाले उनले सर्वोत्कृष्ट खेलाडी घोषित हुन नसक्ने भन्न थालेका थिए ।   मनाङले यो जित संगै १२ औं संस्करणको फाईनलमै व्यहोरोको हारको बदला लिएको छ भने डिफेन्डिङ च्याम्पियनको शाख पनि जोगाएको छ । मनाङमा क्लब अधिकांश राष्ट्रिय टीमका खेलाडी थिए । आयोजक सहारामा भने यू–१९ का खेलाडीले भरिएको थियो । दर्शकको समर्थन दुवैलाई उस्तै रह्यो । खेल जित्दै मनाङले ५ लाख १ हजार रुपैयाँ राशिको पुरस्कार र ट्रफी हात पा¥यो भने सहाराको दोस्रो पटक उपाधि उचाल्ने सपना अधुरै रह्यो । सहारा २ लाख ५१ हजार रुपैयाँमा चित्त बुझाउन बाध्य भयो ।  खेलअवधिभर उत्कृष्ट प्रदर्शन गरेको सहारालाई फाईनलमा भाग्यले ठग्यो । खेलको ५२औं मिनेटमा कप्तान उत्तम गुरुङको प्रहार क्रसबारमा लागेर रिवाउण्ड हुनु नै सहाराका लागि दुर्भाग्य भयो । हेमन्त गुरुङको पासमा अफ्रिकन खेलाडी मार्टिनले मनाङका डिफेन्सलाई कटाउँदै हानेको बल गोलकिपरबाट रिवाउण्ड भएको थियो । रिफ्लेक्ट बललाई उत्तमले उत्कृष्ट प्रहार गरेपनि क्रसबारमा लागेर बाहिरियो । ‘खेलाडीले राम्रो खेले । अवसर पाएका थियौं । तर व्याडलक नै मान्नुपर्छ। क्रसबारमा लागेर फर्कियो । त्यो नै हाम्रो लागि अशुभ संकेत भयो’ सहाराका प्रशिक्षक किरण श्रेष्ठ भन्छन्–‘खेलाडीको प्रदर्शन बाट म सन्तुष्ट छु । सहाराले फाईनलमा आधा दर्जन फ्रिकिकको अवसर पायो । तर कुनैपनि फ्रेम भित्र परेन् । खेलको ८ मिनेटमा हेमन्तको पहिलो फ्रिकिकलार्ई मार्टिनले हेड गर्दा क्रसबार माथिबाट बाहिरियो । अरु फ्रिकिक प्रहार भएपनि मनाङ डिफेन्सले क्लीयर गरे ।
 
यता, मनाङले पनि सहारालाई एकोहोरो दबावमा राख्यो । बल नियन्त्रणमा लिदैं एकपछि अर्को मुभ बनाउन कसरत गरेपनि मनाङ सफल हुन सकेन् । १२औं मिनेटमा विक्रम लामाले पहिलो फ्रिकिक मार्फत मिलाईदिएको अवसरलाई कप्तान अनिलले सदुपयोग गर्न सकेनन् । खेलको अतिरिक्त समयमा अनिल गुरुङले मिलाईदिएको पासलाई सुजल श्रेष्ठले फ्रि हेड प्रहार गरेपनि सफल हुन सकेन । स्कोर निकाल्न ढिलो भयो, सहाराले डिफेन्शिप खेलिदियो । त्यसले गर्दा केही कठिनाई भयो’ मनाङका प्रशिक्षक छिरिङ लोप्साङ गुरुङ घन्छन्–‘तर अन्तिम समयमा भएपनि गोल निस्कियो । पोखरामा फेरि एकपटक उपाधि उचाल्यौं । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीको पुरस्कार सहाराका गोलरक्षक सुजित गुरुङले हिरो ड्यास स्कुटर पाए । उत्कृष्ट स्ट्राइकर सहराकै शिव सुवेदी, सर्वाधिक गोलकर्ता धरान फुटवल क्लवका कर्ण सुब्बा घोषित भए । उनले खेलमा ३ गोल गरेका थिए । यसैगरी उत्कृष्ट डिफेन्स मनाङका कमल श्रेष्ठ, उत्कृष्ट मिडफिल्डर मनाङकै सुजल श्रेष्ठ,  उत्कृष्ट गोलरक्षक सहाराका सुजित गुरुङ र उत्कृष्ट प्रशिक्षक पनि सहाराका किरण श्रेष्ठ घोषित भए । सर्वाधिक गोलकर्ताका लागि  २५ हजार रुपैयाँ र अन्यका लागि १५÷१५ हजार रुपैयाँको पुरस्कार व्यवस्था आयोजक सहारा क्लवले गरेको थियो । अनुशासित टोलीको पुरस्कार रमपम झापा–११ ले पाउन सफल भयो । यसैगरी प्रतियोगितामा भाग्यशाली दर्शक बन्दै पोखरा रामबजारकी संगीता रानाले एकतोला सुनको औठीं प्राप्त परिन् ।



Post a Comment

 
Top