0
हाम्रो अभियानमा सहयोग गरेकोमा सर्वप्रथम सर्वोच्च अदालतलाई धन्यवाद दिन्छु । हामीलाई काम गर्न बाधाअड्चन आएको थियो, त्यो आज अदालतले फुकाईदिएको छ । हाम्रो प्रयासप्रति यहाँहरुको सहयोग र समर्थनले हामीलाई झन जिम्मेवार बनाएको छ । हामी के बोल्छौं र कति गर्छौं भन्ने प्रश्न उठिराख्ने भएकाले अझ जिम्मेबार बनाएको महसूस गरेको छु । हामीले मुलुकलाई लोडसेडिङ बाट मुक्त गर्नका लागि २४ सै घण्टा प्रयास जारी राखेका छौं । विद्युत प्राधिकरणका हजारौं कर्मचारी यसमा खटिइरहनुभएको छ । यो प्रयासलाई हामी जारी राख्नेछौं । यसले हामीलाई केही समस्या त पारेको छ नै । काम गरे पनि हुने नगरे पनि हुने प्रवृति रहेको अवस्थामा असजिलो बनाएको छ, यो राष्ट्र र जनताको पक्षमा छैन् । पहिलो व्यवस्थापन मान्छेको गर्नुपर्ने रहेछ । हामीले जनशक्तिको व्यवस्थापन गरेर परिचालन गर्न सके सफलता प्राप्त हुँदोरहेछ । प्रविधि त मान्छेले चलाए चल्ने हो । त्यसैले मान्छेको व्यवस्थापन गरेको हो । म व्यवस्थापनको ज्ञाता हैन तर मान्छेको मनोविज्ञान बुझ्ने भएकाले यतिसम्म भएको छ । यो बीचमा धेरै प्रयासहरु गरियो । यस विषयमा बाहिर केही नकारात्मक कुरा पनि भएका छन् । पहिला यो नक्कली हो भनियो अहिले भारतबाट ल्याएर लोडसेडिङ हटाएको भन्ने कुरा सुन्न आइरहेको छ । जेसुकै भए पनि कमसेकम हामीले उज्यालो नेपाल अभियान सञ्चालन गरेका छौं । यसमा आम नेपाली जनताको सहयोग र समर्थन छ । अहिले हामीले भारतबाट थपेको जम्मा ४० मेगावाट बिजुली मात्र हो बाँकी विगतकै हो । त्यो थपेको पनि ३ दिन भयो । यसका लागि पनि सरकारी स्तरमा, मन्त्रिस्तरमा र संस्थागत तहबाट धेरै मेहनत र वार्ता गरेर हामीले यो कुरा मिलाएका छौं । हाम्रो मुख्य समस्या पूर्वाधार हो । अहिले पूर्वाधारको अवस्था लथालिंग छन् । एकैचोटी समस्या समाधान गर्न सकिँदोरहेनछ । सुरु गरेको कुरा के हो भने पहिलो सकारात्मक सन्देश दिउँ, मान्छेलाई ध्यानकर्षण गरांै र सकारात्मक रुपमा सोच्ने गराउँ त्यसपछि मात्र सहकार्य गर्न सकिन्छ । सहकार्य गर्नलाई त वातावरण र स्पिरिट मिल्नु पर्याे नि !  लोडसेडिङ अन्त्यले अब त्यो वातावरण बनाएको छ । सहकार्य गर्न सबै तयार हुनुहुन्छ । जनतालाई सकारात्मक बनाउन र आशा गर्ने अवस्था बनेको छ, ठुलो पुँजी हो यो । यो पुँजीको परिचालन गर्ने हो अब यसबाट तपाईहरुका समस्या हल हुन्छन् । यो पहिला भयो अरु छुटेछ नभन्नुस । किनकी यो पहिला जरुरी थियो । यो नभइ हुँदै हुँदैन थियो । १६ घण्टा लोडसेडिङ भएको भए तपाईहरुले मेरा कुरा सुन्नुहुन्थ्यो ? कालो झण्डा देखाउनुहुन्थ्यो होला । अहिले कमसेकम लोडसेडिङ अन्त्य भएकाले मेरो र कार्यकारी निर्देशकको कुरा सुन्नुभएको छ । समय यता दिए हुन्थ्यो भन्ने तपाइँलाई लागिरहेको छ । प्रेसलाई चौथो अंग भनेको छ, निजी क्षेत्र राष्ट्रको अर्को मुख्य खम्बा पनि हो । निजी क्षेत्रसँग राज्यले सहकार्यको कुरा गरेको छ, विभिन्न परिभाषामा जस्ले जे भने पनि एउटा महत्वपुर्ण खम्बा तपाईहरु पनि हो । ऊर्जा क्षेत्रको विकासका लागि तपाईसँग सल्लाह लिन्छौं र सल्लाहकार मानेका छौं । विद्युत प्राधिकरणको सञ्चालकमा निजी क्षेत्रलाई पनि राख्न सकिन्थ्यो, मुद्दामामिलाको झमेलामा तपाईलाई किन हाल्ने भनेर नबनाएको हो । मुद्दा पर्ने निश्चित थियो, यो झमेलामा तपाई किन पर्नुहुन्छ भनेर नबनाएको हो । व्यवसायीलाई मुद्दा लगाएपछि कस्ले सञ्चालन गर्ला भनेर हो । तपाईहरुलाई सल्लाहकार बनाउँला त्यसका लागि उपाय पनि खोजौंला । मुख्य कुरा हामीलाई ऊर्जा चाहिएको छ, बढीभन्दा बढी ऊर्जा उत्पादन गर्नुछ । उत्पादन भएपछि के गर्ने त्यतिबेला सोचौँला । यसको अर्थ भस्मासुर मात्र भनेको हैन् यसको अर्थ पनि छ । तपाईलाई उद्योग खोल्ने योजना ल्याउनु भनेको छ नि त । दिनुस् योजना भनेका छौं । तपाई हजार मेगावाट माग्नुहुन्छ ? एक वर्षपछि १ हजार मेगावाट माग्नुहुन्छ भने म अहिले आपूर्तिको प्रतिवद्धता व्यक्त गर्छु । यो झुटा कुरा हैन यसको सम्भावना र उपाय दुवै छ, माग्नुस् न तपाईहरुले, अहिले बत्ति जोड्दे भन्ने कुरा यो नियमति हो यो नमाग्नुस, उद्योगलाई माग्नुस् । इन्भर्टर र व्याट्री ल्याउनेले अब उद्योग ल्याउनुस्, त्यसको क्षतिपूर्ति त्यहाँ हुनेछ ।  त्यसले अहिले देशलाई ऊर्जा चाहिएको छ । ऊर्जा मन्त्रालयमा छलफल हुँदा यति बचत भयो भन्नुभयो, यो विषयमा मलाई ज्ञान थिएन् । प्रहरीले पनि शान्ति सुरक्षामा सहयोग पुग्यो भन्यो । अस्ति पोखरामा जाँदा त्यहाँका होटल व्यवसायीले सरदर मासिक ३ लाख रुपैयाँ बचत गरेको बताउनुभयो । लोडसेडिङ नभएपछि कसैको त १५ लाख रुपैयाँसम्म बचेको जानकारी पायौं । अब १० वर्षमा १० हजार हैन्, किनकी १० हजारको लक्ष्य लिएको १० वर्ष बितिसक्यो, अब यसको क्षतिपूर्ति सहित १० वर्षमा थप २० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य हुनुपर्छ । यसैका लागि विद्युत् उत्पादन गर्न विद्युत उत्पादन कम्पनी, प्रसारणलाइन विकास गर्न ग्रीड कम्पनी, सम्भाव्यता अध्ययन गर्न इन्जिनियरिङ कम्पनी र व्यापार गर्न विद्युत व्यापार कम्पनी स्थापना गरिसकेका छौं । यसले नेतृत्व गर्दै अघि बढ्छ । यस्तै निजी क्षेत्रले उठाएका कुरालाई हामी लागिरहेका छौं । यहाँले माग पुरा भएन भन्नुभएको छ, अब दुई दिनपछि पुरा गर्दैछु । तयारी सबै भइसक्यो । अहिलेसम्म जलासय र अर्धजलासयको विद्युत खरिदबिक्री दर थिएन् यो तयार भइसकेको छ । डलर पीपीए गर्दा हंगामा हुन्छ, डलर पीपीए गर्यो भनेर पत्रकार साथीहरुले लेखेको लेख्यै गर्नुहुन्छ । तपाईले ऊर्जामा लगानी गर्दा कम ब्याज हुनुपर्छ भनेर पत्राचार गरेको छु । यस विषयमा बैठक बोलाउन अर्थलाई मैले भनेको छु ।  ऊर्जालाई ५ प्रतिशत व्याजमा कर्जा दिनुप¥यो त्यसपछि फाइदा हुन्छ । 
अर्को रह्यो टेक एन्ड पे, के मानसिकताले यस्तो गरियो ? यसमा मैले दुईटा मानसिकता भेटे विद्युत बढी भयो भने कहाँ बेच्ने ? त्यो कुरा हाम्रा विज्ञले जानेका छैनन् । उनीहरुले नजानेपछि ऊर्जा मन्त्रालयले यो कुरा बुझदैन, विद्युत प्राधिकरणले बुझदैन भने जनतालाई बुझाउन सकिन्छ ? पुगिसक्यो नि ३ हजार मेगावाट अब कहाँबाट पीपीए गर्नुहुन्छ ? यो मात्र हैन मैले अर्को कुरा पनि सुने, विद्युत लाइसेन्स सकिए रे विद्युत विकास विभागको कामै छैन भनेर एकजनाले भने मलाई । चिन्ता त्यहाँ छ, त्यसकारण २, ४ वटा लाइसेन्स लुकाएर राख्ने रे, चिन्ता त यहाँ छ । हाम्रो नीति कर्मचारीतन्त्रको सोचाईलाई बदल्नु त प¥यो । विद्युत उत्पादन गर्नुहुन्न भनेर हैन ३ हजार मेगावाटको सिलिङ राखेको ? यसलाई अब खोलेर ८ हजार पु¥याइदिने हो । यसलाई निर्णय गर्दा समय लाग्ने भयो । आएकै दिन गर्न सम्भव भएन् ।  कर्मचारीतन्त्र सँग काम गर्न कहाँ सजिलो छ र ?तपाईहरुले उद्योग चलाएको जस्तो सजिलो कहाँ छ र ? सिठी बजाएपछि मजदुर आइहाल्छ, कहिलेकाहीँ हड्ताल गरेर सताउने हो तपाईलाई । अरु बाँकी त सजिलो छ नि । कर्मचारीतन्त्र उद्योग चलाएको जस्तो हैन् यहाँ गाह्रो कुरा छ । फेरि नेपालका मन्त्री भनेका कति हुन्छन् भनेर महिना गनेर बसेका हुन्छन् कर्मचारी । अन्तिम दिनसम्म तिनीहरुलाई सही गराउन तयार छु म फेरि । कर्मचारीमा राष्टप्रति उत्तरदायी भएर गरौं भन्ने नै छैन । टेक एन्ड पे हटाउनलाई हाम्रो माग कति हो, त्यसलाई पुष्टि गरेर माग पनि सार्वजनिक गर्ने गरी सबै तयारी पूरा भएको छ । सप्लाई साइड म्यानेजमेन्ट सँगै अघि बढेको छ ।
स्वीच थिच्दा झयाप्प बत्ति बलेको देखिन्छ, तर त्यो देख्न पाएको छैन् । लोकप्रियताका लागि गर्ने भए अन्य कुरा पनि गर्थेँ होला । प्रभाकरले श्रेय लिनलाई यो गरेको भन्ने कुरा आएको छ, मलाई श्रेय चाहिएको छैन् । इख गर्ने साथीले बत्ति बाल्दिए पुग्छ भनेको छु मैले । तामाकोसी सञ्चालनमा आएपछि बढी भएको बिजुली कहाँ फाल्ने भन्ने कुरा आएको छ, त्यो चिन्ता गर्नुपर्दैन त्यत्तिबेला भए तपाईहरु नभए कोही न कोही उद्योग खोल्न आउँछ, त्यसलाई दिन्छौं विद्युत । 
अब त हामीले पूर्वाधार बनाउनु छ, यसका लागि हामीले ग्रीड कम्पनी बनाएका छौं । यसमा प्रमुख कार्यकारी अधिकृत पनि नियुक्त भइसक्यो । ४ सय र ७६५ केभी प्रसारणलाइन बनाउँदै छौं । म सिन्धुलीबाट आउँदै गर्दा एउटा टावर बनाउने ठाउँमा राती ९ बजे पुगेको थिएँ, १ वर्ष अघि सकेर इज्जत राखिदेउन भनेर भन्दा उसले सक्छु भन्यो ।
मन्त्री राती जंगल पस्यो भनेर भारतीय ठेकेदार डरायो कि क्यो हो ? खिम्ती ढल्केबरको प्रसारणलाइन बनाउन १८ वर्ष लाग्ने भयो यस्तो छ नी हाम्रो देशको अवस्था । घिसिङजी रातिराति फिडरमा नघुमेको भए सिंगो प्राधिकरण पछि लाग्ने थिएन् ।  म दौडेर ढल्केबरमा सबस्टेशन बनाउन दवाव दिन नगएको भए हुने थिएन् । हामी आफैँ पनि खटिरहेका छौं । यसले सबैलाई खट्न वाध्य पारेको छ ।
प्रविधि पनि नयाँ आइसकेको छ । कन्डक्टर भन्ने चिज हिजो र आज फरक प¥यो की त्यो तपाईलाई थाहा होला । पुरानो कण्डक्टरमा बिजुली पेलेको पेल्यै छ । स्मार्ट ग्रीड कसरी लागु गर्ने भन्ने सोचिरहेका छौं । तपाईहरु अर्थमा धर्ना बस्न जानुपर्दैन त्यो हाम्रो ढिकुटी हो हामी खोलेर ल्याउँछौ । तपाईँहरु उद्योग नै चलाउनुहोला । सोलार प्रविधि पनि अघि बढाउँदैै  छौं । सोलार राख्ने धेरै ठाउँ छन् त्यहाँ पनि राख्ने हो । वायु पनि ३ हजार मेगावाटको सम्भावना रहेछ । यसलाई पनि अघि बढाउनपर्छ । यस्तै चिनी उद्योगबाट पनि ऊर्जा लिन काम अघि बढेको छ । 
नेपालमा उद्योग कसरी आउँछ भन्ने कुराको गम्भीर गृहकार्य गर्नुस्, हामी विद्युत हामी जसरी पनि दिउँला, किन्ने वस्तु भएकाले १ रुपैयाँ नाफा खाएर पनि दिउँला । तर हामी किनेर हैन आफै बनाएर बेच्ने अवस्थामा जाँदैछौं । ३ हजार मेगावाटको पीपीए भइसकेको छ त्यसलाई अघि बढाए हामी आफैँ उत्पादन गरेर दिने अवस्थामा पुग्नेछौं । वर्षामा पर्याप्त बिजुली हुन्छ । जलासय र अर्धजलासयको काम अघि बढाएका छांै, यसले वर्षैभरी सन्तुलन कायम गर्न सक्छ ।
औद्योगिकिकरण मात्र भनेर हँुदो रहेनछ । तपाईले त्यहाँ नाफा देख्नुभएन भने विद्युत दिएर मात्र हुँदैन् । नाफा देख्न सक्नुप¥यो । सस्तो श्रम यहीँ छ, वरिपरी ठुलो बजार छ । ठुला उद्योग ल्याउन सोँच्नुस र विद्युतको  माग आजै गर्नुस् । हामीले प्रसारणलाइन बनाउनुपर्नेछ । औद्योगिक करिडोर र फिडरको माग भइरहेको छ ।
यो योजना अघि बढाउँदैछौ । विराटनगर भैरहवामा यो माग भइसकेको छ । 
अब विगतमा के समस्या थिए भन्ने कुरा आएको छ, यो धेरै पटक सार्वजनिक भइसक्यो । जनताले उनीहरुले गरेको  कामप्रति औला उठाए, जनताले वदमास रहेछ भनिरहेका छन् यो भन्दा बढी उनीहरुलाई दण्ड अरु के दिने ? तोक लगाएको कागज देखाएँ भने यहीँ मर्का पर्ला अहिले त्यसो गर्न हामीलाई गाह्रो पर्छ ।
महिना महिनामा तोक लगाएको महिना महिनामा त्यो बुझाएको कुरा हामीसँग छन् । महिना महिनामा बिजुली किन बाँडिन्छ भन्ने कुरा पुष्टि गर्छ नि ! त्यतातिर धेरै जानु जरुरी छैन् । तर कुरा यति हो की लोडसेडिङको तालिकाभित्र केही थियो । त्यो तालिका दिँदा आनन्दले अरु कुरा हुन्थ्यो । त्यहाँ काम गर्नेलाई दोष दिन्न, मैले कुलमानजीलाई अहिले यही कुरा आदेश गरेँ भने उहाँलाई धेरै गाह्रो हुन्छ, उहाँले नाइँ भन्नु हुन्न किनकी हाम्रो संस्कार नै त्यस्तो छ, नाइँ भन्ने वित्तिकै म हटाउन सुरु गरिहाल्छु ।
अनि के गर्ने संकट पर्छ । समस्या थियो त्यसलाई उजागर गरियो, हामीले यति बुझे पुग्छ कतिपय कुरा धेरै बुझनु हुन्न के । ठिक्क बुझदा राम्रो हुन्छ । 
कर्णाली चिसापानी आयोजनाको विषयमा मैले अस्ती हिसाव गरेँ, एउटा नेपालीको घरबाट १ लाख उठाउँदा ६ खर्ब उठ्दो रहेछ । सक्नेले धेरै हाल्न सक्छन् । ६ खर्ब रुपैयाँ भएपछि स्वपुँजी पुग्यो । आज मन्त्रालयमा धेरै चिठी आएका छन् । ०.०५ प्रतिशत व्याजमा आयोजनामा लगानी गर्छौं भन्ने । लगानी गर्न खोजिरहेका छन् । हामी पनि सक्ने देखिएको छ । अर्कोकुरा जलासययुक्त आयोजनाबाट तल्लोतटीय लाभ लिने कुरा छ यसका लागि मैले छलफल थालेको छु । मैले बंगलादेशमा पनि भनेँ, तपाईको  पानी बढ्छ हामीलाई पैसा दिनुपर्छ भन्दा उहाँ हास्नुभयो, त्यस्तै अन्त हास्दैनन्, त्यही भन्दा रिसाउँछन् । यो हाम्रो अधिकार हो, यो पाइन्छ ।
त्यो पाइँदैन भनेर हामीले बुढीगण्डकी आयोजनाको काम रोक्नुहुन्न् । कर्णाली चिसापानी बनाउने हैसियत हामी राख्छौँ भने आउनुस् हामी मिलेर बनाऔं । निजी क्षेत्रबाट नेतृत्व नेपाल उद्योग वाणिज्य महासंघले गरोस र सरकारका तर्फबाट हामी गर्छौं । हामीले गर्न धेरै बाँकी छ । पश्चिमसेती त्यसै अड्केको छ, मैले मान्छे बोलाएको छु उ आइरहेको छैन् । अल्झाएर सबै आयोजना राखिएको छ । अब आयोजना अल्झाउन नदिने योजना छ । प्राधिकरणले अहिले अरुण, तमोर, दूधकोसी, उत्तरगंगा कम्पनीमा जाँदैछ । यसैमा विवाद हो । छुटटै कम्पनी खोल्न नदिएर हटाएपछि उनीहरुले मुद्दा दायर गरेका हुन् । उत्पादन कम्पनी गठन भएको छ, ठुला आयोजना त्यसले अघि बढाउँछ । 
दुःखको कुरा हामीले तपाईलाई ४ घण्टा बिजुली दिन सकेका छैनौ, त्यो ४ घण्टा पनि बिजुली दिने हाम्रो तयारी छ ।  मौका परे बिहान अलि घटाउनुस् भनेको छु, त्यो तपाईलाई दिन भनेको हो ।
२ महिना होला तपाइले सहयोग गर्नुपर्ने हामीले तपाइँबाट लिने सहयोग प्रष्टसँग भनिदिउँला । बिहानको समयमा अप्ठेरो परे तपाईलाई अनुरोध गर्नेछौं । सकेसम्म नपर्ला, परेमा सहयोग गर्नुहोला । सिस्टमले नदिँदा समस्या परेको छ ।  हामीले घोषणा नगर्दासम्म बत्ति आए पनि जनताले नमान्दा रहेछन् । बत्ति आइरहेको ठाउँमा पनि लोडसेडिङ अन्त्यको घोषणा गर्नुप¥यो भन्ने माग आएको छ । अस्ती गोरखामा जाँदा यस्तै माग आयो लोडसेडिङमुक्त भयो भनेँ सबैले तालि पड्काए । पोखरामा अन्त्य भयो भन्नुप¥यो भने मैले भनिदिएँ सबैले तालि पड्काए । अन्त्य त भइसक्यो । तर जनताले मान्दैनन् । राजनीतिक लोडसेडिङ अहिले पनि भइरहेको छ  । यत्रो त्याग र बलिदान गरेर आएका छौं । यहाँ व्यवस्थापनको समस्या छ । मुख्य कुरा सत्तामा छ, प्रधानमन्त्री को हुने हो भन्ने हो । यसले नै धेरै समस्या आइरहेको छ ।
(उर्जामन्त्री शर्माले मंगलबार काठमाडौंमा उद्योगी व्यवसायीलाई गरेको सम्बोधनको सम्पादित अंश )

Post a Comment

 
Top