0
गोल्डेन न्यूज संवाददाता
आत्मविश्वास मार्फत पत्रकार महिलाको व्यवसायिक दक्षता बृद्धि गर्ने पहलस्वरुप पोखरामा लैंगिकता सम्बन्धी तालिम शुरु भएको छ । संचारिका समूह नेपालले तालिमको आयोजना गरेको हो । राष्ट्रनिर्माणको महत्वपूर्ण क्षेत्र पत्रकारितामा स्थानिय महिलाको गुणात्मक सहभागिता अभिबृद्धि गर्नु तालिमको मुख्य उद्देश्य हो । तालिमको उद्घाटनमा बोल्ने वक्ताहरुले लैंगिकता सम्बन्धी तालिमले महिलाको आत्मविश्वास बढाउने र सक्रिय रुपमा कार्यक्षेत्रमा लाग्न अभिप्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् । तालिमको उद्घाटन नेपालका लागि अष्ट्रेलियन राजदूत ग्लीन ह्वाइटले गरेकी थिइन । उक्त अवसरमा बोल्दै उनले भने–‘लैंगिकता सम्बन्धी तालिम लिएपछि महिलाले आँफूले आँफूलाई पहिचान गर्नेछन् र व्यवसायिकतामा खरो उत्रिन सक्ने वातावरण बनाउन सक्षम हुनेछन् ।’ उनले पत्रकारिता जस्तो जिम्मेवार पेशामा महिलाको संख्यात्मक तथा गुणात्मक सहभागिता अति आवश्यक रहेको स्पष्ट पार्दै पत्रकारितामा महिलाका विषय महिलाले मात्र हेर्नु पर्छ भन्ने मान्यता रुपान्तरण गर्नुपर्नेमा जोड दिए । आधुनिक समयमा महिलाप्रतिको सामाजिक मानसिकता पनि सकारात्मक हुँदै गएकोले जिम्मेवारी पाएमा धेरै महिलाहरु सक्षम पत्रकारका रुपमा स्थापित हुन सक्ने उनको विश्वास थियो । महिला सम्बन्धी विषयमात्र नभएर राजनीति, कुटनीति लगायतका मुद्दामा पनि महिलालाइ जिम्मेवार बनाउनुपर्नेमा जोड दिंदै उनले महिलामैत्री संचारसंयन्त्रका लागि महिलाका विषयमा लेख्ने वा बोल्ने पुरुष पत्रकारको संख्या बढाउन सुझाव दिए । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले पत्रकारिताको नियम, आचारसंहिता पालनासहित अन्य जोखिमपूर्ण जिम्मेवारी बहन गर्ने सवालमा महिलाको क्षमता उपयोग गर्नुपर्नेमा जोड दिए । महिला पुरुष समानरुपमा कार्यक्षेत्रमा खटिए मात्र व्यवसायिक दक्षता बृद्धि हुने हुँदा लैंगिक मैत्री व्यवसायिक संरचना बन्नुपर्ने उनको भनाइ थियो । संचारिका समूह नेपालकी केन्द्रीय अध्यक्ष निर्मला शर्माले समुदायले पत्रकारलाई उपल्लो दर्जामा राखेर हेर्ने गरेको भन्दैं आफ्नो क्षमता प्रस्तुत गरेर पत्रकार महिलाहरु समाजको उदाहारणीय पात्र बन्नुपर्ने खाँचो औंल्याइन । सक्षम हुनका लागि सबै भन्दा पहिला महिला स्वंय अग्रसर हुनु पर्नेमा उनले जोड दिइन । कार्यक्रममा तालिमका सहजकर्ता तथा संचारिका समूह नेपालका केन्द्रीय सदस्य जया लुइँटेलले आत्मविश्वासका लागि परिश्रम र व्यवसायिकता अत्यावश्यक भएकोले महिलाको रुपमा कमजोर मानसिकता नराख्न आग्रह गरिन् । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रुद्र भट्ट, संचारिका समूह पश्चिमांचल अध्यक्ष जमुना वर्षा शर्मा, उपाध्यक्ष बिमला भण्डारी लगायतले संचार लगायत विभिन्न क्षेत्रमा महिलाले भोग्नुपरेको समस्या बारे जनकारी गराउँदै समस्या समाधानमा महिला स्वयं अग्रसर हुनुपर्नेमा जोड दिएका थिए । तीन दिनसम्म चल्ने तालिममा पश्चिमाञ्चल विकास क्षेत्रका विभिन्न संचारमाध्यममा कार्यरत ११ जना महिला पत्रकार सहभागी छन् ।







Post a Comment

 
Top