0
गोल्डेन न्यूज संवाददाता
क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मोत्सव आज २५ डिसेम्बरका दिन देशभरका गिर्जाघरमा क्रिसमस पर्वका रुपमा विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । दुई हजार १६ वर्षअघि जेरुसेलमको बेथलेहममा येशुको जन्म भएको थियो । कुमारी मारियमको कोखबाट येशुको जन्म भएको हो । मारियमको विवाह युसुफसँग गर्न लाग्दा स्वर्गदूतले भविष्यवाणी गरी येशुले जन्म लिन लागेको जानकारी गराएका थिए । आम मानिसलाई अन्याय, अत्याचार र विभेदबाट मुक्ति दिलाउनका लागि येशु आफैँ क्रसमा चढेको उनका अनुयायीको भनाइ छ । येशुलाई जिजस क्राइष्ट पनि भनिन्छ । उहाँले मानव समुदायका लागि पु¥याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ । नेपालमा ४०० वर्षअघिदेखि क्रिसमस मनाउन थालिएको राष्टिूय ख्रीष्टियन महासङ्घका अध्यक्ष सिवी गहतराजले जानकारी दिए । “हाल नेपालमा आठ हजार ५०० गिर्जाघर र ३० लाखभन्दा बढी क्रिश्चियन धर्मावलम्बी छन्, विसं २०६४ अघि चर्चमा मात्र सीमित हुने गरेको क्रिसमस हाल सार्वजनिक स्थलमा पनि मनाइन्छ”–उनले भने। क्रिसमसका उपलक्ष्यमा काठमाडौँको ठमेल, ललितपुर, भक्तपुर, पोखरालगायतका स्थलमा विशेष महोत्सव हुने गरेको छ । ‘क्रिसमस ट्री’ लगायतका सजावटले बजार र ठूला व्यापारिक स्थलमा आकर्षण थपिने गर्छ । यो पर्व मनाउन सरकारले विसं २०६४ पछि डिसेम्बर २५ का दिन यस वर्ष पनि सार्वजनिक बिदा दिएको छ । यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले इसाई धर्मावलम्बीहरुको महान् पर्व क्रिसमसका उपलक्ष्यमा नेपालीबीच बान्धुत्व, प्रेम र एकताको भावना बढाई शान्त, समुन्नत नेपाल बनाउन सबैमा प्रेरणा प्राप्त होस् भन्ने कामना गरेकी छन् ।  उनले शनिबार दिएको शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बी नेपालीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, आपसी सद्भाव, एकता, भ्रातृत्व एवम् उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गरेका छन् ।  “क्रिसमस मनाउन जसरी हामी एकताबद्ध भएर लाग्छौँ त्यसरी नै यस पर्वले समुन्नत नेपाल निर्माणका लागि प्रेरणा प्राप्त होस्,” उनले भनेकी छन् । सन्देशमा राष्ट्रपति भण्डारीले भनेकी छन्–“धार्मिक तथा सांस्कृतिक विविधताले सम्पन्न हाम्रो मुलुकमा मनाइने चाडपर्वहरु बाट सामाजिक एवम् पारिवारिक जमघट गराउने, मनोरञ्जन र खुसी  साटासाट गर्ने अवसर जुटाई सामाजिक एकता, सद्भाव एवम् धार्मिक सहिष्णुता कायम राख्न महत्वपूर्ण योगदान हँुदैआएको छ । यस्ता चाडपर्वको अवसरमा कायम हुने एकता तथा सद्भावलाई दिगो र दरिलो बनाउनेतर्फ लाग्नु हामी सबैको कर्तव्य हो ।”नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पनि स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् । सबै चाडपर्व मिलेर मनाउँदा राष्ट्रिय एकतालाई बलियो हुने विश्वास व्यक्त गर्दै सभापति देउवाले सबै जातजाति, भाषाभाषी, संस्कृति र भिन्न भिन्न धर्मावलम्बीहरुबीचको आपसी सद्भावबाट नै मुलुकको प्रगति हुने विश्वास उनले प्रकट गरेका छन् । शुभकामना सन्देशमा उनले  क्रिसमसले सबैमा भ्रातृत्वको भावना पैदा गर्ने प्रेरणा दिन सकोस् भन्ने कामना गरेका छन् ।

Post a Comment

 
Top