0
गोल्डेन न्यूज संवाददाता
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले संविधान संशोधनको प्रस्ताव असंवैधानिक र अदालतको समेत मानहानी हुने गरि ल्याइएको कारण संसदमा छलफल गर्न योग्य नरहेको बताएका छन् । प्रेस चौतारी कास्की शाखाले आइतबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महासचिव पोखरेलले भने–‘अहिले सत्तारुढ पार्टीहरुले ल्याएको संविधान संशोधनको प्रस्ताव संविधानले गरेको व्यवस्था भन्दा विपरित रहेकोले छलफल गर्न योग्य छैन ।’ प्रस्तावमा प्रदेश नं. ५ का केही पहाडी जिल्ला प्रदेश नं. ४ मा मिसाउने कुरा गरिएको र यस्तो प्रस्तावमा विगतमा नेकपा एमाले का अध्यक्ष केपी ओलीले समेत हस्ताक्षर गरेको भनि चर्चा हुने गरेको भन्दै पोखरेलले भने–‘विगतमा संघीयताको बारेमा छलफल हुने क्रममा एमालेले त्यस्तो प्रस्ताव गरेको भएपनि त्यो छलफलमा आएको विषय भएकाले संविधान जारी गरेपछि पुरानो कुरा उठाउनु भनेको पूर्वाग्रही ढङ्गले विरोध गर्नुमात्र हो।’ यसैप्रसङ्गमा नेता पोखरेलले प्रदेश नं. २ मा तराइ मधेशलाई मात्रै पारिनु गलत भएको स्पष्ट पारे । नेकपा एमालेले परिपक्व सोचाइ बनाउन नसक्दा र बढी उदार बन्न खोज्दा प्रदेश नं. २ मा तराइ मधेश जिल्लामात्र परेको भएपनि प्रदेश नं. ५ लाई त्यसरी विभाजन गर्न नहुने उनले बताए । अब एमालेले प्रदेश नं. ५ र ४ को विषयमा परिपक्व सोचाइ कहिले बनाउने र उदार कहिले बन्ने ? भन्ने प्रश्नको उत्तरमा भने उनले स्पष्ट जवाफ दिएनन् । एमालेले लगातार संसद अवरुद्ध गर्दा निर्वाचन सम्बन्धी विधेयकमा र अख्तियार प्रमुख लोकमान सिंह कार्कीको विषयमा समेत छलफल हुन नसकेकोले एमाले निर्वाचनको विपक्षमा र लोकमानको संरक्षणमा रहेको त होइन ? भन्ने गोल्डेन न्यूज दैनिकको प्रश्नमा उनले सभामुखले कार्यसूची बनाएर लोकमान या निर्वाचन सम्बन्धी विषयमा संसद चलाउन चाहे आफूहरु सकारात्मक बन्ने स्पष्ट पारे । उनले भने–‘कार्यव्यवस्था समितिमा छलफल गरि कार्यसूची बनाएर अघि बढेमा अरु विषयको छलफलमा हामी बाधक बन्दैनौं ।’ महासचिव पोखरेलले संविधानको सर्वस्वीकार्यता भन्नु पाखण्डी तर्क भएको भन्दै संविधान गतिशिल र परिवर्तनशील दस्तावेज भएकाले संशोधन हुन सक्ने तर वैधानिक बाटोबाट आउनुपर्नेमा जोड दिए ।  कार्यक्रममा एमाले सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले संविधान संशोधनको प्रस्ताव संवैधानिक, जनविरोधी र राष्ट्रिय हित प्रतिकूल रहेको बताए । उनले नेपाली कांग्रेसले हरेक आन्दोलनको नेतृत्व गर्दै आएको र विपि, गणेशमान, किसुनजी र गिरिजा बाबुको योगदानलाई सम्झिएर काम गर्द आग्रह गर्दै प्रधानमन्त्री प्रचण्डले  द्वन्द बढाउने खालको प्रस्ताव कसको चाहनामा ल्याएका हुन् भनि प्रश्न गरे । प्रेस चौतारी कास्कीका अध्यक्ष माधव बरालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रामजी लम्साल र सचिव अर्जुन गिरीले बोलेका थिए ।

Post a Comment

 
Top