0
गोल्डेन न्यूज संवाददाता
सरकारले संसद सचिवालयमा दर्ता गरेको संविधान संशोधनको विधेयक विरुद्ध आन्दोलनमा उत्रेको अनेरास्ववियूले पोखरामा संविधान संशोधनको विषयमा जनमत संग्रह गरेको छ । यसको विपक्षमा ९५ प्रतिशतले मत प्रकट गरेका छन् । अनेरास्ववियू, पृथ्वीनारायण क्याम्पस एकाईले क्याम्पस गेटमा सोमबार आयोजना गरेको जनमत संग्रहमा तीन हजार आठ सय ९५ जनाले आफ्नो मत जाहेर गरे । विपक्षमा तीन हजार सात सय १८ जनाले मत दिए । पक्षमा भने एक सय ७२ मत मात्रै खसेको एकाई संयोजक राजन शर्मा पराजुलीले जानकारी दिए। पाँच म बदर भएको थियो । अनेरास्वियु केन्द्रीय सचिवालय सदस्य एवं गण्डकी अञ्चल ईञ्चार्ज सरिता पुरीले संविधान संशोधनको सवालमा पनि मुलुकको मत यस्तै रहेको प्रतिक्रिया दिईन् ।  उनले तराई टुक्राउने गरी, हिन्दी भाषा घुसाउने र अंगीकृतका सवालमा गरिएको संशोधन कदम राष्ट्रघाति र विखण्डनकारी भएको भन्दै अराजकता निम्त्याउने खेलमा सरकार लागेको आरोप लगाईन् । अनेरास्ववियूका केन्द्रीय सदस्य एवं कास्की ईञ्चार्ज भरतमान गुरुङले सरकारको कदमले राष्ट्रको सार्वभौमिकता, स्वतन्त्रतामाथि धावा बोलेको भन्दै कुनै हालतमा पास हुन नदिने बताए ।  उनले मधेश आन्दोलनको नाममा हजारौं भारतीयले नागरिकता पाएको र विस्तारै संशोधनको नाममा खुकुलो पार्दै मधेश बुझाउने योजना भएको आरोप लगाए । अनेरास्ववियू, भूगोल जिल्ला कमिटी अध्यक्ष शेखर गौतमले कसैले दिवा सपना देख्दैमा प्रस्ताव पास नहुने बताउँदै स्थानीय जनताको अभिमत बुझेर तुरुन्त फिर्ता लिन आग्रह गरे ।  त्रिवि जिल्ला संयोजक विवेक देवकोटा, सहसंयोजक शंकर सैंजुले सरकारको कदम विरुद्ध सबै जाग्नुपर्ने बताए । कार्यक्रमको अध्यक्षता समेत गरेका पृथ्वीनारायण एकाई संयोजक राजन शर्मा पराजुलीले अब निर्वाचित नयाँ संसदले मात्रै सीमा हेरफेर गर्ने सक्ने भएकोले काँग्रेस माओवादीको गठबन्धनले मुलुक सिध्याउने खेल खेलेको आरोप लगाए। कार्यक्रममा सन्तोष न्यौपानेले स्वागत तथा सचिब विजय पौडेलले सञ्चालन गरेका थिए ।

Post a Comment

 
Top