0
गोल्डेन न्यूज संवाददाता
विराटनगरमा हुने सातौं राष्ट्रिय खेलकुदमा पश्चिमाञ्चलबाट भाग लिने अधिकांश खेलाडी प्रशिक्षण विना प्रतिस्पर्धामा उत्रिने भएका छन्। राष्ट्रिय खेलकुद परिषद  (राखेप) ले सिमित खेलका खेलाडीलाई मात्र बन्द प्रशिक्षणका लागि रकम उपलब्ध गराएपछि सहभागी सबै खेलाडीले प्रशिक्षणको मौका पाएनन्। सीमित खेलाडीका लागि मात्र बन्द प्रशिक्षणको रकम दिएर राष्ट्रिय खेलकुद परिषद
(राखेप) ले भेदभाव गरेको खेलाडी र प्रशिक्षकले गुनासो गरेका छन्।
पश्चिमाञ्चलले भाग लिने ३० मध्ये सात खेलका खेलाडीले मात्र बन्द प्रशिक्षणका लागि राखेपबाट रकम पाएका छन् । बाँकी २३ खेलका खेलाडी रकम अभावमा बन्द प्रशिक्षण विना सातौं राष्ट्रिय प्रतियोगिता खेल्दैछन् ।
‘राखेपले खर्च नदिएपछि आवस्यकता हुँदाहुँदै बन्द प्रशिक्षणमा राख्न सकेनौं,’ पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगीले भने, ‘प्रतिस्पर्धा गर्ने सबै खेलका खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर दख्खल बनाउनु पर्ने आवश्यकता हो ।’ उनका अनुसार समूह खेलमा भाग लिने खेलाडीलाई मात्र बन्द प्रशिक्षणको रकम दिइएको छ ।
उनका अनुसार भलिवल, फुटबल, कबड्डी, खोखो र क्रिकेटमा महिला तथा पुरुष, बास्केटबल र ह्याण्डबल पुरुष टिमलाई मात्र एक साता प्रशिक्षण गर्नका लागि रकम दिइएको छ । प्रशिक्षणमा भएका एक खेलाडीले दैनिक एक हजार रुपैयाँ पाउँछन । २२ जना प्रशिक्षकसहित १ सय ८८ खेलकर्मीले बन्द प्रशिक्षणका लागि रकम पाएको योगीले बताए । राखेपले वन्द प्रशिक्षणका लागि १३ लाख रुपैयाँ पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिलाई दिएको थियो ।
पश्चिमाञ्चलबाट राष्ट्रिय खेलकुदमा कुल ३ सय ८८ खेलाडी सहभागि हुँदैछन् । ‘खेलाडीका लागि मात्र भए पनि बन्द प्रशिक्षणको रकम दिनु पर्ने थियो । प्रशिक्षण सबैका लागि आवस्यक हुन्छ । तर टिम खेललाईमात्र दिने भनेपछि व्यक्तिगत खेलका खेलाडी मारमा परेका छन्,’ उनले भने ।
राष्ट्रिय खेलकुदमा पाँच विकास क्षेत्रसहित तीन विभागीय टोलीबीच प्रतिस्पर्धा हुनेछ । मंसिर २० देखि पश्चिमाञ्चलका २१ स्थानमा क्षेत्रीय प्रतियोगिता गरेर पूर्वाञ्चल भ्रमणका लागि खेलाडी छनोट गरिएको थियो । पश्चिमाञ्चलबाट खेलाडी, प्रशिक्षक, पदाधिकारी सहित ५ सय ४२ ले राष्ट्रिय खेलकुदमा भाग लिनेछन् ।
राखेपको बन्द प्रशिक्षण नपाएपछि कतिपय खेलका खेलाडीले आफै पैसा उठाएर प्रशिक्षण गरेका छन् । राखेपले नदिएपछि व्यक्तिगत रुपमा ३ हजार रुपैयाँका दरले उठाएर तयारी गरेको कराते खेलाडी चन्द्र बुढामगरले बताए । ‘एउटै प्रतियोगितामा कसैलाई राज्यले तयारी खर्च दिने, कसैले व्यक्तिगत पैसा खर्च गर्नुपर्ने भयो,’ उनले भने–‘राखेपले खेलाडीलाई काखा र पाखा गरेको छ ।’ प्रशिक्षणका लागि रकम माग गर्दा राखेपले व्यक्तिगत खेललाई दिन नसक्ने जवाफ दिएको उनले बताए । ‘व्यक्तिगत रुपमा खेल्ने भएकोले पदकको पनि महत्व नहुने होला,’ उनले भने, ‘व्यक्तिगत रुपमा हामीले खेले पनि पदक क्षेत्रकै हो ।’ कराते प्रशिक्षक सुरेन्द्र गुरुङले व्यक्ति विधाका खेलाडीलाई झन विशेष तयारीको व्यवस्था गर्नुपर्ने तर्क गरे। ‘अन्तर्राष्ट्रिय स्तरमा व्यक्तिगत विधाका खेलाडीले बढि पदक जितेका छन,’ उनले भने, ‘त्यसैले यसलाई झन प्राथमिकतामा राख्नु पर्छ । तर राष्ट्रले खेलकुदमा विभेद गरेको छ ।’
पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले राखेपबाट बजेट नपाएका कारण सबैलाई बन्द प्रशिक्षणमा राख्न नसकेको स्वीकारे । ‘हामीले सबैलाई बन्द प्रशिक्षणमा राख्न पाए हुन्थ्यो भन्ने सोचेका थियौं । प्रशिक्षण सबैलाई आवस्यक थियो । तर बजेट नपाएपछि त्यसो गर्न सकेनौं,’ उनले भने । सातौं राष्ट्रियका लागि पश्चिमाञ्चलका खेलाडीलाई मंगलबार पोखरा रंगशालामा विदाई गरिएको हो ।









Post a Comment

 
Top