0
गोल्डेन न्यूज संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशलाई टुक्र्याउन होइन अब बचाउन लाग्नुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीको पश्चिमाञ्चल विकास क्षेत्र स्तरीय एकीकरण घोषणासभालाई सम्बोधन गर्दै थापाले देश टुक्र्याउन एउटा सानो समूह लागेको बताउँदै देश बचाउन सबै लाग्नुपर्नेमा जोड दिएका हुन् । उनले सानो समूहको मागलाई बेलैमा संबोधन गर्नुपर्ने बताए। दल र नेताको अर्कमण्यताले देशमा २०५२ सालमा सानो समूहले गरेको युद्व ठूलो जनयुद्वमा पुगेको उदाहरण दिँदै उनले देशलाई टुक्र्याउनुपर्छ भन्ने सानो समूहलाई मिलाएर अगाडि बढ्नुपर्ने बताए।
उनले देश टुक्र्याउन खोज्नेहरू सक्रिय भएकाले यसबाट जोगाउनकै लागि दुई पार्टी एक भएको बताए। उनले देशमा बाह्य शक्तिले खेल खेल्न सक्ने भन्दै राष्ट्रिय एकताका लागि सबै एक जुट हुनुपर्ने बेला आएको स्पष्ट पारे । उनले नेपालमा पैसाको आडमा धर्म परिर्वतको लहड चलाएको आरोप लगाए। धर्मपरिर्वत गर्नेमा सबैभन्दा बढी जनजाति र दलित रहेको उनको भनाई थियो । उनले सरकारी उद्योगहरू कौडीको भागमा बिक्री गरेको आरोप लगाउँदै उद्योग बन्द हुँदा युवाहरु रोजगारीका लागि विदेश जान बाध्य भएको बताए। दुई पार्टीको एकीकरण यतिकै नभएको भन्दै देश बचाउने र देश विकास गर्ने भन्दै उनले देश हेरक दृष्टिले संकटमा रहेको भन्दै सचेत हुन सुझाए।  थापाले देश आर्थिक संकटमा फसेको समेत उल्लेख गरे । आर्थिक संकट टार्न र समृद्ध नेपालको निर्माण गर्ने ताकत राप्रपासंग मात्र रहेको उनले प्रष्ट पारे । राप्रपाले राष्ट्रिय मेलमिलापको सिद्धान्तलाई अंगीकार गरेको बताए । उनले भने,‘पार्टी राष्ट्रिय मेलमिलापको पक्षमा छ ।’ एकीकरणबाट नेपाली जनताले खोजेजस्तै बिकल्पको आड भरोसाको पार्टी बन्ने बताए । उनले राप्रपा साँच्चिकै नेपाली जनताको आड भरोसाको पार्टी बन्ने विश्वास व्यक्त गरे । कार्यक्रममा पार्टीका राष्ट्रिय अध्यक्ष पशुपति शम्शेर जंगबहादुर राणाले देश अहिले रणभूल्लमा परेको भन्दै नयाँ नेपाल नारामा मात्र सीमित भएको बताए । उनले देश बनाउन नयाँ सोच अनुसार अगाडि बढ्नु आवश्यक रहेको बताए । देश विकासका लागि अहिले शक्तिशाली राष्ट्रवादी पार्टी आवश्यक रहेको भन्दै त्यो पार्टी राप्रपा भएको उनले जिकिर गरे। देशको पहिचान ल्याउने हो भने हिन्दूधर्मलाई संविधानमा नै लेखिनु पर्नेमा जोड दिंदै नेता राणाले हिन्दूधर्म हुँदा अन्य धर्मलाई कुनै बाधा नपरेको स्पष्ट पारे । उनले हिन्दू राष्ट्र कायम गर्न सरकारसँग माग समेत गरे। कार्यक्रममा विभिन्न तहका नेताहरुले संबोधन गर्दै सरकार बनाउन दक्षिण र उत्तरको आशिर्वाद खोज्नुभन्दा जनताको आशिर्वाद लिन नेताहरुलाई सुझाव दिए । पार्टीका वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले संविधान कार्यान्वयनमा अभैm अन्योल र अस्थिरता देखिएकामा चिन्ता व्यक्त गर्दै अहिले देखिएको सङ्कटबाट देशलाई समाधान दिन राप्रपा सक्षम हुने जिकिर गरे । विदेशीसंग लम्पसार नपरी शासन गर्न सकिदैन भन्ने मानसिकताले ठूला राजनीतिक दलका नेताहरुमा बिद्यमान रहेको उनले सुनाए । ‘उनीहरुले नेपाली जनतासंग आशिर्वाद माग्दैनन्’ उनले भने–‘बरु विदेशीसंग लम्पसार परेर उत्तर र दक्षिण तथा पूर्व र पश्चिमका मुलुकहरुसंग आशिर्वाद माग्छन् । पार्टी महामन्त्री एवम् आपूर्तिमन्त्री दीपक बोहोराले देशमा बिग्रिएको अर्थतन्त्र सुधार्न र सुशासन कायम गर्न राप्रपाले अभियान थाल्ने जानकारी दिए । महामन्त्री एवं भूमिसुधार तथा व्यवस्थामन्त्री विक्रम पाण्डेले राष्ट्रवादी शक्तिको शिर झुक्न नदिने गरी आपूmले काम गर्ने बताए ।  पार्टीका केन्द्रीय उपाध्यक्ष दिपक बोहराले प्रजातन्त्रका नाममा लुटतन्त्र चलेको आरोप लगाउँदै देशलाई बिकल्प दिनुपर्नेमा जोड दिए । अर्का केन्द्रीय उपाध्यक्ष राजिव पराजुलीले ०६२÷०६३ को परिवर्तनपछि नेपाली जनताले चाहेको समृद्धि, बिकास र शुशासनको चाहनामाथि तुषारापात भएको बताउँदै जनताको चाहना पूरा गर्ने जिम्मेवारी राप्रपामाथि आएको बताए । अर्का केन्द्रीय उपाध्यक्ष बुद्धिमान तामाङले राष्ट्रिय प्रजातन्त्र पार्टी सबैको साझा पार्टी भएको बताउँदै हिन्दु धर्मको संरक्षणमा लाग्न आग्रह गरे । अर्का केन्द्रीय उपाध्यक्ष निरञ्जन थापाले परम्परादेखि चलिआएको हिन्दु धर्म र रीतिरिवाजलाई हटाउने षडयन्त्र गरिएकाले राष्ट्रमा संकट आएको उल्लेख गरे । घोषणसभालाई पार्टीका महामन्त्रीहरु बिक्रम पाण्डे र ध्रुबबहादुर प्रधान, सांसद कुन्तीकुमारी शाही, केन्द्रीय सदस्यहरु दुर्गा श्रेष्ठ, भीमप्रसाद गौचन, तोरणबहादुर गुरुङ, पूर्व केन्द्रीय सदस्य बिष्णुकुमारी गुरुङ, घोषणासभाका संयोजक कुलबहादुर गुरुङ ‘कुलु’ र राप्रपा युवा संघका केन्द्रीय सचिव हिक्मत कार्कीले बोलेका थिए । राप्रपा पश्चिमाञ्चल क्षेत्रका संयोजक हेमजङ गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा घोषणा मूल आयोजक समितिका सह–संयोजक जयलाल पुनले स्वागत मन्तव्य र कास्कीका पार्टी नेता जेबी कुँवरले कार्यक्रम सञ्चालन गरेका थि । कार्यत्रमअघि पोखराको पृथ्वीचोक बाट निस्केको पदयात्रा नगर परिक्रमापछि चिप्लेढुङ्गामा पुगेर सभामा परिणत भएको थियो ।





Post a Comment

 
Top