0

गोल्डेन न्यूज संवाददाता
नेपाली कांग्रेसका नेता एवं शहरी विकास मन्त्री अर्जुननरसिंह केसीले प्रमुख विपक्षी नेकपा एमालेले निरन्तर संसद अवरुद्ध गर्नुलाई लोकतन्त्र र संसदीय व्यवस्थाको प्रतिकूल रहेको बताएका छन्। पोखरामा नेपाल प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता केसीले प्रमुख प्रतिपक्षी एमालेलाई संविधान संशोधन प्रस्ताव पास हुन नदिने तथा प्रस्तावको पक्षमा दुई तिहाइ पु¥याउन नदिने अधिकार सुरक्षित रहेकाले संसद अवरुद्ध गर्नु उचित नभएको बताए । संसदमा संविधान संशोधन लगायत अन्य विषयमा छलफल हुन नदिनुलाई एमालेको अराजक शैलीको संज्ञा दिंदै मन्त्री केसीले प्रादेशिक संरचनाले पूर्णता नपाएको अवस्थामा चालू संसदले नै संविधान संशोधनको प्रस्ताव ल्याउन पाउने संवैधानिक व्यवस्था रहेको स्पष्ट पारे । नेकपा एमालेले भने वर्तमान अवस्थामा संविधान संशोधनको प्रस्ताव ल्याउनुलाई असंवैधानिक भन्दै संसद अवरुद्ध गर्दै आएको छ । नेपाली कांग्रेस लगायत नेकपा एमाले र माओवादी केन्द्रले वर्तमान संविधान निर्माण गरेकोले तीन दल अर्थात सृष्टिकर्ताले नै मधेशी मोर्चालाई समेटेर सहमतिमा ल्याउनुपर्ने र संविधानको कार्यान्वयन गर्नुपर्ने दायित्व रहेको नेता केसीले स्पष्ट पारे ।  उनले भने–‘अबको १३÷१४ महिनाभित्र ३ तहको निर्वाचन गर्नुपर्ने अनिवार्य जिम्मेवारी हामीसंग छ, त्यसैले मधेशी मोर्चा लगायतका असन्तुष्ट पक्षको आवाजलाई समेटेर अघि बढ्न संविधान संशोधनको प्रस्ताव ल्याइएको हो ।’ यसै सन्दर्भमा नेता केसीले संवाद र सहमतिको माध्यमबाट सबैखाले समस्या समाधान गर्न नेपाली कांग्रेस र वर्तमान सरकार प्रयासरत रहेको स्पष्ट पारे ।  पूर्व राजा ज्ञानेन्द्रको अभिव्यक्तिलाई लिएर प्रमुख दल र प्रमुख नेताहरुले समेत असन्तुष्टि प्रकट गरिरहेकोप्रति ध्यानाकर्षण गराउँदा उनले भने–‘जनताको आन्दोलनबाट गणतन्त्र आएकाले सबै नागरिकले जस्तै पूर्व राजाले पनि आफ्नो मनमा लागेको कुरा भन्न पाउछन्, यसलाई लिएर अनावश्यक टिप्पणी जरुरी छैन ।’
सरकारले पुस २७ गते एकता दिवसको दिनमा सार्वजनिक विदा दिन्छ या दिंदैन भन्ने प्रश्नमा मन्त्री केसीले सरकारको निर्णयका बारेमा आफूले अहिले केही भन्न नसकेपनि राष्ट्र निर्माता पृथ्वीनारायण शाह लगायत कसैको पनि इतिहास मेट्न नहुने र सोही बमोजिमको दर्जा दिनु उपयुक्त हुने भएकाले त्यस दिन बिदा दिनुपर्छ भन्ने आफ्नो धारणा रहेको बताए । आगामी मन्त्री परिषदको बैठकमा आफूले यस विषयमा कुरा उठाउने मन्त्री केसीले स्पष्ट पारे ।  पश्चिम नेपालको कैलालीमा राष्ट्रिय जनावर गाइको सामूहिक हत्या गरिएको घटनाको विरोध गर्दै उनले घटनाका बारेमा छानविन गरि हत्यारालाई कार्वाही गर्ने बताए । नगरपालिकाका जिम्मेवार अधिकारीहरु नै घटनामा संलग्न रहेको चर्चा चलेको विषयलाई उनले उक्त घटनामा संलग्न जो सुकैलाई पनि कार्वाही गर्न सरकार प्रतिवद्ध रहेको स्पष्ट पारे । प्रेस युनियन कास्कीका अध्यक्ष शिरोमणि बरालको अध्यक्षतामा भएको कार्यक्रममा सचिव प्रकाशचन्द्र सापकोटा र सदस्य विमला भण्डारीले बोलेका थिए ।

Post a Comment

 
Top