0
गोल्डेन न्यूज संवाददाता
सरकारले मंगलबार संसदमा दर्ता गरेको संविधान संशोधनमा रहेका प्रावधानहरुको विरोध गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विहीबारदेखि संसद बैठक अवरुद्ध गरेको छ । उसका युवा र विद्यार्थी संगठनले राजधानी सहित देशभर विरोध प्रदर्शन सुरु गरेका छन् । अनेरास्ववियू कास्की र पृथ्वीनारायण क्याम्पस एकाईले विहीबार बिहान क्याम्पस गेट, बगरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पुत्ला जलाएको छ । क्याम्पस प्राङ्गणबाट कालो ब्यानर बोकेर नाराजुलुस सहिते क्याम्पस अगाडि सडकमा पुगेका विद्यार्थीहरुले पुत्ला दहन गरेका हुन् ।पुत्ला दहनपछि आयोजित कोणसभामा बोल्दै सचिवालय सदस्य एवं गण्डकी अञ्चल ईञ्चार्ज सरिता पुरीले अनेरास्ववियूले राष्ट्रहित विपरित हुने जुनै कदमको विरोध गर्ने बताईन् । ‘यो काम एमाले सरकारबाट भएको भएपनि हामी यसरी गरी विरोधमा उत्रने थियौं’, उनले भनिन्–‘मधेशी जनताको समेत मान होईन । ठाउँ–ठाउँमा आगो बलेको छ । देश सिध्याउने षड्यन्त्र कुनै हालमा सफल हुन दिनेछैनौं ।’ सरकारले संघीयता र संविधान विपरितको संशोधन अगाडि बढाएको भन्दै संविधान विपरितका काम गर्ने प्रधानमन्त्रीलाई कुर्सीमा बस्ने अधिकार नरहेकोले यो कार्यक्रम गर्नुपरेको अनेरास्ववियू भूगोल जिल्ला कमिटी अध्यक्ष शेखर गौतमले बताए। त्रिवि जिल्ला कमिटि अध्यक्ष विवेक देवकोटाले संशोधन प्रस्ताव फिर्ता नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिँदै झनै चर्काउने उल्लेख गरे । पिएन क्याम्पस एकाई संयोजक राजन शर्मा पराजुलीले तराई र पहाडका जिल्लालाई अलग गराएर दुईखाले राष्ट्रियता वकालत गर्न खोजेको र यो गम्भीर विषय भएकाले सबै नेपाली जनता अहिले जाग्नुपर्ने बताए । अनेरास्ववियूले बुधबार पनि विरोध प्रदर्शन गरिसकेको छ । यस्तै, युवा संघ कास्की र अनेरास्ववियूले दिउँसो पृथ्वीचोक परिक्रमा गर्दै पुनः सभागृहचोक पुगी विरोध सभा आयोजना गरेको छ । कोणसभामा बोल्दै युवा संघका केन्द्रीय सदस्य पूर्ण लामाले संविधान संशोधन भारतको ईशारामा संसदमा दर्ता गरिएको र यो प्रस्ताव खतरनाक रहेको बताए । उनले यस विरुद्ध जनमत बढ्दै गएकोले सरकारले फिर्ता लिने विश्वास व्यक्त गरे । अनेरास्ववियूका केन्द्रिय सदस्य आर्शिवाद सुवेदीले कम्युनिष्ट नेता भन्ने प्रचण्डले जनताको भावना विपरित मुलुक नै सिध्याउने खेलमा लागेको भन्दै अब जनता होशियार हुनुपर्ने बेला आएको चर्चा गरे । यसैबीच, नेकपा एमालेले जिल्ला सदरमुकाममा शुक्रबारदेखि विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ । शुक्रबार दिउँसो साढे १ बजे पोखरामा पनि विरोध प्रदर्शन गरिने नेकपा एमाले कास्कीले जनाएको छ । यस्तै, अनेरास्ववियू जनप्रिय क्याम्पस एकाई समितिले पनि शुक्रबार विहान क्याम्पस गेटमा प्रधानमन्त्रीको पुत्ला दहन गर्ने जानकारी दिएको छ ।

Post a Comment

 
Top