0
सञ्जिव बगाले
प्रमुख बिपक्षी नेकपा एमाले र सरकाबीच संवादहीनताको अवस्था उत्पन्न भएको छ । पुस ४ गते सभामुख ओनसरी घर्तीले प्रमुख तीन दलको बैठक बोलाएकी थिइन्। त्यसपछि सत्ता पक्ष र प्रतिपक्षका बिचमा कुनै पनि औपचारीक अनौपचारीक छलफल हुन सकेको छैन। पुस ४ गते सिंहदरबारमा सभामुख घर्तीले प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेकी थिइन्। छलफलमा तीन पार्टीका अन्य नेताहरू पनि सहभागि थिए। त्यो दिनको बैठकमा अन्य विषयमा सहमति नभए पनि दलहरूबीच संवाद गर्दै जाने भन्ने विषयमा सहमति भएको थियो। तर, उक्त दिन पछि दलहरुबीच कुनै पनि संवाद भएको छैन। ‘प्रधानमन्त्रीले हामीसँग कुनै छलफल गर्नुभएको छैन’, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले भने, ‘सहमतिको वातावरण बनाउनु त कता हो कता हामीलाई आशिरवचन लगाउँदै हिड्नुभएको छ।’ सत्ता पक्ष र प्रतिपक्षका बीचमा औपचारिक अनौपचारिक कुनै छलफल नभएको नेम्वाङले दाबी गरे। ‘सत्तापक्षबाट नै छलफलका लागि कुनै प्रयास भएको छैन अनि हामीले के गर्ने?’ उनले भने, ‘असंवैधानिक तरिकाले आएको संशोधन विधेयक फिर्ता नभएसम्म संसद सुचारू हन सक्दैन।’ प्रधानमन्त्री काठमाडौं बाहिरका कार्यक्रममा व्यस्त रहनुभएकोले दलहरुसँग छलफल गर्न नभ्याएको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले बताए। ‘छलफलका लागि वातावरण पनि बनेको छैन,’ खनालले भने, ‘एमालेका गतिविधिले संघीयतालाई हानी पु¥याउने खालका छन् अनि कसरी सहमति हुन्छ।’ एमालेको राष्ट्रियताको परिभाषाले प्रतिगामीलाई फाइदा पुगेको उनले बताए।‘अहिलेको अवस्थामा सहमति हुन कठिन छ,’ उनले भने, ‘एमालेले बिधि र प्रक्रियालाई मान्नुपर्छ। बिधिलाई मानेपछि सबै कुरा मिल्छ।’ सरकारले संविधान संशोधन विधेयक संसदमा दर्ता गरेपछि त्यसको फिर्ता हुनुपर्ने भन्दै एमाले नेतृत्वको बिपक्षी मोर्चाले संसदको बैठक अबरुद्ध गर्दे आएको छ। मंसिर १४ गते राति विधेयक दर्ता गरे यता बिपक्षी मोर्चाले ६ वटा बैठक अबरुद्ध गरिसकेको छ भने २ वटा बैठक सूचना टासेर स्थगित भएका छन्। संविधान संशोधन असंवैधानिक भएको र यो राष्ट्रियता बिरोधी रहेको तर्क बिपक्षी दलहरुले गर्दे आएका छन्। विपक्षी मोर्चाले संविधान संशोधनको विधेक फिर्ता नलिएसम्म संसद सुचारू हुन नदिने अडान राख्दै आएका छन्। संसदको बैठक पुस १० गतेलाई बोलाइएको छ। पुस १० गतेसम्म पनि सहमति हुने सम्भावना नरहेको नेम्वाङले बताए। सरकारले संसदको कार्यसूचीमा राखेको संविधान संशोधनको बिपक्षमा एक तिहाइ भन्दा बढी सांसदहरु छन्। संशोधन विधेयक पारित गर्न दुई तिहाईको समर्थन चाहिन्छ। संसदमा अहिले ५ सय ९४ सांसद रहेका छन्। संशोधन विधेयक संसदमा पेस भयो भने यसलाई पारित गर्न ३ सय ९६ जना सांसदले समर्थन गर्नुपर्छ। तर संविधान संशोधन विधेयकको बिरोधमा २ सय १ जना सांसद भइसके। संसदको जारी अवरोधले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बीत प्रमुख आयुक्त लोकमानसिंह विरुद्धको महाभियोग प्रस्ताव माथिको छलफल लम्बिएको छ । त्यस्तै निर्वाचन सम्बन्धी दुई विधेयक समेत संसदमा पेश हुन पाएका छैनन्।
 
‘संविधान संशोधन प्रस्ताव पास हुँदैन’
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले संसद्मा दर्ता गरेको संविधान संशोधन प्रस्ताव पास नहुने बताएका छन् । नेकपा एमाले बागलुङको आठौँ जिल्ला अधिवेशनको आज उद्घाटन गर्दै अध्यक्ष ओलीले संशोधन प्रस्ताव मुलुकको अहितमा रहेको बताए । पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले संशोधन प्रस्तावका बारेमा संसद्मा छलफलसमेत नहुने जिकिर गरे । देश र जनतालाई आघात पु¥याउने गरी संशोधन प्रस्ताव आएकाले त्यो एमालेलाई मान्य नहुने उनको भनाइ छ । अध्यक्ष ओलीले भने–“संविधान संशोधन अहिलेको आवश्यकता होइन ।” उनले ५ नम्बर प्रदेश टुक्र्याउने गरी ल्याइएको प्रस्तावले नेपालीलाई विभाजन गर्ने पनि बताए । मुलुकलाई यथाशक्य छिटो निर्वाचनमा लानुपर्ने भन्दै उनले संविधान संशोधनसँग निर्वाचनको कुनै सम्बन्ध नभएको तर्क गरे । उनले भने–“निर्वाचन मुलुकको अहिलेको आवश्यकता हो, निर्वाचन गर्न संविधानले छेकेको छैन।”, रुपान्तरित व्यवस्थापिका–संसद्को काम निर्वाचनसम्बन्धी कानुन बनाउने हो, संविधान संशोधन गर्ने कुरा नभएको उनको भनाइ थियो । अध्यक्ष ओलीले सामाजिक न्याय र समानताको बाटोबाट मुलुकलाई आर्थिक समृद्धितिर लैजानुपर्ने बताउँदै सबै नेपाली राष्ट्र निर्माणमा एकजुट हुनुपर्नेमा जोड दिए ।





Post a Comment

 
Top