0
गोल्डेन न्यूज संवाददाता
संविधान संशोधनबिनै ठूला तीन दलले स्थानीय निर्वाचन घोषणा गर्ने संकेत पाएपछि मधेसी मोर्चा क्रुद्ध भएको छ । सत्तारूढ कांग्रेस र माओवादी केन्द्र तथा प्रमुख प्रतिपक्षी एमाले संशोधन प्रस्तावका विषयमा विभाजित देखिए पनि निर्वाचन गराउन एक मत भएको भन्दै मोर्चा शीर्ष नेताले राजधानीमा बिहीबार बैठक गर्दै आक्रोश व्यक्त गरेका हुन् । उनीहरूले संसद्मा दर्ता भएको संशोधन प्रस्ताव कार्यसूचीमा राखिए पनि संसद्मा अघि नबढेकाले अहिलेकै अवस्थामा चुनाव घोषणा गरिए प्रतिकार गर्ने समझदारी गरेका छन् । बैठक कुनै टुंगोमा नपुगे पनि चुनाव रोक्नेमा एक मत बनेको मोर्चा स्रोतले बतायो । बैठक शुक्रबार पनि बस्ने नेपाल सदभावना पार्टी अध्यक्ष अनीलकुमार झाले बताए । तीन ठूला दलबीच एकता भयो, यो घटनालाई हामीले धेरै गम्भीर ढंगले लिएका छौं । एक वर्षअघिको आजकै अवस्थामा देशलाई पु¥याउन सत्ता–प्रतिपक्षीले खोजिरहेका छन् भन्ने विश्लेषण भएको छ,’ अध्यक्ष झाले भने, ‘संशोधन प्रस्ताव हाम्रो सहमतिमा पारित नहुन्जेल मधेसी जनताले त्यसको स्वामित्व लिन सक्दैनन् । हामी आन्दोलनमा जानुको विकल्प छैन भन्ने मोर्चा बैठकको समझदारी हो ।’ मोर्चा नेताहरूले इंगित गरेको ‘एक वर्षअघिको आजको अवस्था’ भनेको मधेसमा आन्दोलन र सीमा नाकाबन्दी हो । उनीहरूले संशोधन प्रस्ताव अहिलेकै अवस्थामा स्वीकार गर्न नसकिने, सीमांकनलगायत प्रस्तावको भाषा परिमार्जन गरी दर्ता गर्नुपर्ने अडान बैठकमा दोहो¥याए । बैठक थाल्दै तमलोपा अध्यक्ष महन्थ ठाकुर र संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवले मंगलबार राति प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता घटकसँग भएको कुराकानीबारे सुनाएका थिए । कांग्रेस सभापति शेरबहादुर देउवाले स्थानीय चुनाव जसरी भए पनि तुरुन्तै गरिहाल्ने पक्षमा जोड दिएको भन्दै सत्ता घटकबाट संविधान संशोधन प्रक्रिया उपेक्षा भएको उनीहरूको भनाइ थियो । ‘हामीलाई फेरि पनि उहाँहरूको सत्ता प्राप्तिकै औजारमात्रै बनाउन खोजिएको अनुभूति भएको छ,’ ठाकुरलाई उद्धृत गर्दै बैठक स्रोतले भन्यो, ‘यस्तो अवस्थामा कसरी सहमति जनाउन सकिन्छ ? संघर्ष निर्विकल्प बन्न गएको छ ।’ फोरम अध्यक्ष यादवले प्रतिपक्षी एमालेको तुलनामा सत्ताधारी दल बोलीमा नरम देखिए पनि कार्यशैलीमा फरक नभएको भन्दै आफूले पहिलेदेखि नै वार्ता प्रक्रियामा विश्वास नगर्नुको कारण यही रहेको बताए । ‘उहाँहरूलाई मधेसी, जनजातिको समस्याबारे केही थाहा छैन, खालि सत्ता मात्रै हेर्नुभएको छ,’ यादवले भने, ‘त्यसैले जनताको बीचमा जाऔं । संविधान अझै हाम्रो भइसकेको छैन । यस्तोमा हामी किन बेकार वार्ता–वार्ता भन्दै फसिरहने ?’ आफ्नो भनाइ सकेर यादव जनकपुरका लागि उडेका थिए । सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले नयाँ वा पुरानो कुनै पनि संरचनामा निर्वाचन स्वीकार गर्न नसकिने भन्दै संविधान संशोधनको प्रस्ताव अलपत्र पार्ने षड्यन्त्र भइरहेको आरोप लगाए । उनले मोर्चाभित्र फरकफरक आवाज आइरहेको भन्दै आन्दोलनबारे द्विविधा राख्न नहुने बताए ।‘सरकार विचलित देखियो, कहिले पुनःसंरचना आयोगको रिपोर्ट लागू गर्छु भन्छ, कहिले पुरानै संरचनामा जाऔं भन्छ,’ सदभावना महासचिव मनीषकुमार सुमनले बैठकमा शीर्ष नेताको भनाइ सुनाए, ‘हामीलाई मुद्दा सम्बोधन हुने गरी संशोधन चाहिएको हो, तर सरकार फिर्ता लिन लागिरहेको छ । आयोग जनताबीच गएको छैन, त्यसमा समान जनसंख्या सम्बन्धी विश्वव्यापी सिद्धान्त पनि मानेको छैन ।’ सुमनले शुक्रबारको बैठक बाट ठोस धारणा आउने बताए । रामसपा अध्यक्ष शरतसिंह भण्डारी र फोरम गणतान्त्रिक अध्यक्ष राजकिशोर यादवबाहेक सबै शीर्ष नेता मोर्चा बैठकमा सहभागी थिए ।









Post a Comment

 
Top