0
गोल्डेन न्यूज संवाददाता
पृथ्बी राजमार्ग वस संचालक समितिले पोखरा देखि जोमसोम सम्म सिधा जीप सेवा संचालन गर्ने भएको छ। समितिले केहि समयदेखि पोखरा जोमसोम सडकमा १५ वटा डिलक्स वस सेवा संचालनमा ल्याएसंगै आगामी एक महिना भित्रमा पोखरादेखि जोमसोम सिधा जीप सेवा संचालन गर्न एक सय वटा जीप संचालनमा ल्याउने भएको समितिका महासचिव योगेन्द्र केसीले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए ।  यात्रुको चाहाना र माग अनुसार समय परिस्थितले गर्दा आफूहरुले ठूलो लगानीमा जीप सेवा संचालनमा ल्याउने भएको समितिका महासचिव केसीले बताए । उनले भने–‘यो सरकारले हामीलाई खुल्ला गरेकोले, अन्य समितिहरुले पनि आफू खुशी जीपहरु थपेकोले हामीहरुले पनि जनताहरुलाइ सुविधा दिने उद्देश्यले जीप सेवामा ठुलो लगानी गर्दैछौं।’  करिब ३६ लाख मूल्य बराबरका एक सय वटा जीप थप्दा करिब ३६ करोड लगानी थपिने भएको उनले जानकारी दिए । उनले भने–‘मुस्ताङ यातायातमा हुने सिण्डिकेट हट्यो, अब त्यहाँ यात्रुले चाहे जस्तो र भनेको समयमा सेवा पाउने भएको छ, तर हामीद्वारा संचालित हुने जीप एक गुणस्तरका, अर्को हामीले यात्रुहरुको दायित्व वोध गर्न सक्छौं।’ पोखरादेखि मुस्ताङसम्मको भाडा दर प्रति व्यक्ति एक हजार ५ सय रुपैया हुने उनले बताए । वस भाडा भने हाल उक्त रुटमा एक हजार रहेको छ । यस बर्षको पर्यटनको सिजन अक्टुवर, नोवेम्वरमा हिमालपारीको जिल्ला मुस्ताङ घुम्न जाने पर्यटकहरुको संख्यामा बृद्धि भएसंगै पोखरा–जोमसोम सडकमा सिधा जीप सेवा विभिन्न समिति तथा प्रालिद्वारा धमाधम जीप संचालनमा ल्याईदैछ । मुक्तिनाथ दर्शन यातायात प्रालिले हालै जोमसोमदेखि पोखरासम्म सिधा जीप सेवा सुरु गरेसंगै थप दुई वटा समितिले समेत जोमसोमदेखि पोखरासम्म सिधा जीप सेवा संचालनमा ल्याएका हुन् । हालै २७ वटा जीपबाट सेवा सुरु गरेको कम्पनीले थप १३ वटा जीप हप्ता १० दिन भित्र संचालनमा आउने तयारी भएको प्रालिका एक सदस्य दिपक लालचनले बताए ।
 
त्यसैगरी अन्य समितिका करिब एक सय ६० भन्दा बढी जीपहरु संचालनमा आउँदैछन । प्रालिले जीप सेवामा करिब १२ करोड लगानी गर्दैछ भने अन्य समितिहरुले करिब ४० करोड भन्दा बढी रुपैयाँ जीप संचालमा लगानी गर्दैछन् । पोखरादेखि जोमसोमसम्म भाडा शुल्क एक हजार ६ सय ९० तोकिएको छ भने अन्य समितिद्वारा संचालित जीपमा भने एक हजार ५ सय रुपैयाँ रहेको छ । म्याग्दी जीप तथा वस संचालक समितिले हाल पोखरा जोमसोमको सिधा जीप सेवामा हाल २० वटा जीप संचालनमा ल्याएको छ । समितिका मोहन केसीले आफूहरुले थप ३० वटा जीप थप्ने तयारी गरेको बताए । मुस्ताङ जीप तथा वस व्यावसाय समितिका उपाध्यक्ष सूर्य सुनुवारका अनुसार जोमसोमदेखि पोखरासम्म सिधा ८० वटा जीप ंचालनमा छन्। आफूहरुले  ३५ वटा डिलक्स वस सेवा समेत संचालन गरेको उनले बताए । उनका अनुसार वेनी मुस्ताङले ८ क्यु, पोखराले १० र मुस्ताङ जीप तथा तथा वस व्याबसाय समितिले मासिक १२ क्यु संचालन गर्ने गरि आफूहरुको सहमति भएको छ । समितिहरुसंग भएको सहमति अनुसार अब यात्रुहरुले विभिन्न कारणले गर्दा सास्ती भोग्नु नपर्ने समेत उनले बताए ।



Post a Comment

 
Top