0
जन्ती दुलाहा लिएर रुपन्देहीबाट पोखरा आइसकेका थिए । दुलही ब्युटीपार्लरमा सिंगारिँदै थिइन् । केटी पक्ष पार्टी प्यालेसमा विवाहको तयारी गरिरहेका थिए । निम्तालु आउने क्रम जारी थियो । सबैजना खुशी देखिन्थे । दुलहीलाई सिंगारेर पार्टी प्यालेसमा ल्याएपछि जन्तीलाई आउन भनियो । तर, एकैछिनमा बुद्धचोकस्थित कान्तिपुर पार्टी प्यालेस प्रांगणको एउटा विवाहको मण्डपको माहोलमा परिवर्तन भयो ।  जन्ती र केटीपक्षका अधिकांशको अनुहार निन्याउरो बन्यो । के गर्ने, कसो गर्ने अन्यौलता छायो । हुलबाट कसैले भन्थ्यो, हामीलाई कानुन थाहा छैन । बिहे हुनैपर्छ । कसैले भन्थे रोक्न पाउँदैन । १६ वर्ष पनि नपुगेकी किशोरीको जन्मदर्तामा उमेर बढाएर विवाह गर्न लागिएको जानकारी पाएपछि महिला तथा बालबालिका कार्यालय कास्की र अधिकारकर्मीले पार्टी प्यालेस गएर विवाह रोक्न अनुरोध गरेपछि बिहेको खुशीयाली एका–एक परिवर्तन भएको हो । पर्वत पाखापानी–९ लाम्तुनकी ती किशोरीको रुपन्देही देवदह ११ का २३ वर्षीय किशोरसँग विवाह हुन लागेको थियो । किशोरीको गत जेठ ९ मा गाविस कार्यालयमा गरिएको जन्मदर्ता प्रमाणपत्रमा २०५५ साल माघ १९ गते जन्ममिति उल्लेख गरिएको छ । तर उनले पढ्ने विद्यालयमामा रहेको अभिलेख र ८ कक्षाको लब्धांक पत्रमा भने २०५७ माघ १९ गते जन्ममिति रहेको छ । ड्यामसाइडमा डेरामा बस्ने किशोरी पोखराकै एक निजी विद्यालयमा ९ कक्षामा अध्ययनरत छिन् । ‘विवाहकै लागि उमेर बढाइएको देखिन्छ । बढाएको उमेर पनि १८ वर्ष भन्दा कमै छ,’ कार्यालयकी बाल संरक्षण अधिकृत बिन्दुकला भण्डारीले भनिन्, ‘यो बाल विवाह भयो । गोप्य सूचना आएपछि हामीले रोक्न भनेका हौं । दुवै पक्ष सकरात्मक भएर विवाह हुन पाएन ।’ स्रोतका अनुसार बेहुला हङकङको आइडी रहेको र त्यही कारणले सानै उमेरमा छोरीको विवाह गर्न अभिभावक तयार भएका थिए । केन्द्रीय बालकल्याण समितिका बाल अधिकार स्रोतव्यक्ति बद्रीप्रसाद वाग्ले, पोखरा उप–महानगरपालिकाकी बालबालिका शाखाकी कार्यक्रम अधिकृत दुर्गा न्यौपाने, शक्ति समूहकी अनिशा लामा र प्रहरी प्रतिनिधि सम्मिलित समूहले विवाहस्थलमा पुगेर रोक्न अनुरोध गरेको थियो । पछि जन्ती र केटीपक्षबीच छलफल भएर विवाह नगर्ने निर्णयमा पुगेका थिए ।
 
जन्ती पक्षले प्यालेसमा पकाएको खाना पनि नखाई फर्किएका थिए । ‘एकछाक खाना ठूलो कुरा होइन,’ जन्ती पक्षका एक पाकाले भने, ‘बालविवाह गर्नु हँुदैन भन्ने सन्देश प्रवाह ठूलो कुरा हो ।’ केटी पक्षले जे भए पनि खाना खाइदिन अनुरोध गरेको थियो । उनीको प्रकृति हेर्दा जानीजानी गरेको देखिएको बालअधिकार स्रोत व्यक्ति वाग्लेले बताए । ‘बालबिवाह गर्दा समस्या हुन्छ भन्ने थाहा पाएरै जन्मदर्ता सच्चाइएको हो,’ उनले भने । कार्यालयमा जानकारी आएपछि मंगलबारदेखि नै कर्मचारीले विवाहको निगरानी गरेका थिए । आपसी छलफल गरी सहमतिमा विवाह नरोकिए किशोरीको उद्धार गर्ने र अभिभावकलाई नियन्त्रणमा लिने तयारीसमेत थियो । यसका लागि प्रशासन, प्रहरी र पोखरा उपमहानगरपालिकालाई जानकारी दिइएको थियो । तर दुवै पक्षले छलफल गरी आपसी समझदारीमा बिहे नगर्ने सहमति जनाएपछि वातावरण सहज बनेको प्रमुख महिला विकास अधिकृत लक्ष्मीदेवी जिसीले बताइन् ।
मुलुकी ऐन बिहाबारीको महलमा १४ वर्ष माथि र १८ वर्षभन्दा मुनिका किशोरीको विवाह गरेगराएमा ६ महिनासम्म कैद, १० हजार रुपैयाँसम्म जरीवाना वा दुवै सजाय हुनसक्ने उल्लेख छ । साथै पुरोहित, लमी र अन्य सहयोगीलाई पनि १ महिनासम्म कैद वा १ हजार रुपैयाँसम्म जरीवानाको व्यवस्था उक्त महलमा छ ।–एजेन्सी

Post a Comment

 
Top