0
गोल्डेन न्यूज संवाददाता
भारतीय राष्ट्रपति प्रणव मुखर्जीको भ्रमणका लागि सुरक्षा अबस्था बुझ्न गृहमन्त्री सहितको टोली पोखरा आएर फर्किएको छ । भारतीय राष्ट्रपतिले भ्रमण गर्ने स्थलहरुको सुरक्षा अबस्था बुझ्न निस्किएको टोली काठमाडौंबाट जनकपुर हुँदै पोखरा आएर पुन काठमाडौं फर्किएको हो । शनिवार स्थानीय विकास मन्त्री हितराज पाण्डे, सुरक्षा निकायका उच्च अधिकारी, मुख्यसचिव, परराष्ट्र मन्त्रालयका उच्च अधिकारी सहित पोखरा आएका गृहमन्त्री विमलेन्द्र निधिले सुरक्षाको सबै उपाय अपनाउन निर्देशन दिएका छन् । कास्कीको सुरक्षा अबस्था बारे जानकारी लिएपछि उनले भारतीय राष्ट्रपतिको भ्रमणमा सुरक्षा ब्यवस्था कडा पार्न निर्देशन दिए । कार्यक्रममा क्षेत्रीय प्रशासक खगराज बराल, प्रमुख जिल्ला अधिकारी हरी प्रसाद मैनाली, पोखरा स्थित सुरक्षा निकायका क्षेत्रीय र जिल्ला प्रमुखहरुको उपस्थिति थियो । तीन दिने राजकिय भ्रमणको लागि कात्तिक १७ गते नेपाल आउने मुखर्जी १९ गते सवा तीन घण्टाको लागि पोखरा आउदैछन् । भ्रमण तालिका अनुसार उनी कात्तिक १९ गते विहान जनकपुर जाने र जानकी मन्दिरको दर्शन तथा त्यहा आयोजित कार्यक्रममा सहभागी भएर मध्यान्ह १२ बजे पोखराको लागि प्रस्थान गर्ने कार्यक्रम छ । झण्डै ४५ मिनेटको उडान पछि पौने १ बजे पोखरा विमानस्थलमा अवतरण हुने मुखर्जी केहिवेर आरामको लागि विरौटा स्थित होटल पोखरा ग्राण्डमा जानेछन् । त्यसपछि पोखरा १० रामबजार स्थित भारतीय पेन्सन क्याम्पमा आयोजित कार्यक्रममा सहभागी हुनेछन् । स्रोतका अनुसार भारतीय राष्ट्रपतिको उपस्थितिमा आयोजित कार्यक्रममा झण्डै १० हजार भूतपूर्व सैनिकहरु उपस्थिति हुनेछन् । कार्यक्रममा स्थानिय भेषभुषामा आधारित नृत्य प्रस्तुत हुनेछन् । मुखर्जीले उपस्थित भूपु सैनिकहरुलाई सम्बोधन गर्नेछन् । त्यसपछि उनी अपरान्ह ४ बजे काठमाडौंको लागि प्रस्थान गर्ने कार्यक्रम छ । मुखर्जी सोहि दिन साझ ५ बजे दिल्ली प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको भ्रमण तालिकामा उल्लेख छ । मुखर्जीको पोखरा आगमनलाई भब्य बनाउन क्षेत्रीय प्रशासक बरालको संयोजकत्वमा गठित मुल ब्यवस्थापन समिति र विभिन्न पाँच वटा उपसमितिले तयारी तीब्र पारेका छन् । मुखर्जीको आवत–जावत हुने सडक सरसफाई तथा मर्मतको काम धमाधम भैरहेको छ । विभिन्न स्थानमा स्वागतार्थ गेट निर्माण समेत गरिने बताइएको छ ।

Post a Comment

 
Top