0
गोल्डेन न्यूज संवाददाता
पर्यटकीय नगरी पोखरामा लायन्सको कुम्भ मेला हुने भएको छ । नेपालमा रहेका लायन्सका चारओटा डिष्ट्रिक्टबाट ७ हजार लायन सदस्य र तिनका परिवारसहित गरी १० हजार जना मेलामा सहभागी हुनेछन् । आगामी मङ्सिर ४ गते आयोजना गरिएको लायन्सको मल्टिपल फेलोशिप कार्यक्रमलाई लायन्सको कुम्भ मेलाका रूपमा लिइएको डिष्ट्रिक्ट गभर्नर बालकृष्ण बुर्लाकोटीले बताए । कार्यक्रमले पोखरामा आन्तरिक पर्यटक बढाउन योगदान पुग्ने उनको दावी छ । चारओटै डिष्ट्रिक्टका लिडर तथा सदस्यलाई एउटै थलोमा जम्मा गराई आत्मियता तथा भाइचार अभिवृद्धि गराउने उद्देश्यले कार्यक्रम गर्न लागिएको हो । कार्यक्रम पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुनेछ । ‘पोखरा डेष्टिनेशन अफ प्लेजर’ नाराका साथ सुन्दर नगरीमा आयोजना गरिएको कार्यक्रममा धेरैको उपस्थिति हुने आयोजकको विश्वास छ । लायन्स डिष्ट्रिक्ट ३२५ बी १ ले पोखरामा आयोजना गरेको मल्टिपल फेलोशिपले पोखरालाई देशैभर चिनाउने निवर्तमान डिष्ट्रिक्ट गभर्नर तथा मल्टिपल फेलोशिप चेयरपर्सन ध्रुवबहादुर थापाले बताए ।
 
पोखरामा आयोजित कार्यक्रममा सहभागी हुन आउनेले होटल बुकिङ धमाधम शुरू गरेका छन् । पोखरामा रहेका पर्यटक स्तरका करीब १ सय होेटलमा पाहुनालाई राख्ने गरी होटलको नामावली लायन्सको प्रत्येक डिष्ट्रिक्टमा उपलब्ध गराइएकोे छ । सहभागीले आफू अनुकुलको होटल बुकिङ गर्न सक्ने व्यवस्था मिलाइएको होटल व्यवस्थापन उपसमिति संयोजक टीकाराम सापकोटाले जानकारी दिए । कार्यक्रमको तयारीलाई तीव्र बनाइएको थापाले बताए । यस प्रकारको कार्यक्रम अघिल्लो वर्ष चितवनको सौराहामा डिष्ट्रिक्ट ३२५ बी टुले आयोजना गरेको थियो । लायन्स मेलामा खेलकुद, नाचगान, खानपिन, भाइचारा अभिवृद्धि, तथा मूल समारोहमा केन्द्रित रहने कार्यक्रमका संयोजक विमला श्रेष्ठले बताइन् । कार्यक्रमअन्तर्गत मङ्सिर ४ गते बिहान ८ बजे लायन्स सेण्टेनियल परेड हुँदै छ ।
 
सिद्धार्थचोकबाट चिप्लेढुङ्गा, महेन्द्रपुल, नयाँबजार हुँदै प्रदर्शनी केन्द्रमा पुगेर परेड समापन हुँदै छ । मेलाको आकर्षणमा महिला कबड्डी, क्वीज कण्टेष्ट, भलिबल तथा फूटबल प्रतियोगिता, रस्साकस्सी प्रतियोगिता, युगल नृत्य प्रतियोगिता, म्युजिकल चियर, अन्तर लायन्स डिष्ट्रिक्ट दोहोरी प्रतियोगिता, विविध सांस्कृतिक कार्यक्रम, मौलिक खानाका परिकारलगायत छन् । लायन्स अन्तरांष्ट्रियमा प्रतिनिधित्व गरेका अन्तर्राष्ट्रिय डाइरेक्टर सञ्जय खेतानलगायत लायन्स हेडक्वाटरका ४ जना उच्चपदस्थ व्यक्ति पनि पोखरा आउने बताइएको छ । कार्यक्रम सम्पन्न गर्न डिष्ट्रिक्ट ३२५ बी १ नेपालका डिष्ट्रिक्ट फेलोशिप कमिटी चेयरपर्शन बिमला श्रेष्ठको संयोजकत्वमा ३५ सदस्यीय मूल व्यवस्थापन कमिटी गठन गरिएको छ । साथै, विभिन्न २४ उपसमिति गठन गरी कार्यक्रमको तयारीलाई तीव्र गरिएको निवर्तमान गभर्नन थापाले जानकारी दिए । मल्टिपल काउन्सिल चेयरपर्शनसहित चारओटै डिष्ट्रिक्टका डिष्ट्रिक्ट गभर्नर र पूर्व मल्टिपल काउन्सिल चेयरपर्शन रहेको १६ सदस्यीय सल्लाहकार कमिटी गठन गरिएको छ ।

Post a Comment

 
Top