0
गोल्डेन न्यूज संवाददाता
भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीका लागि पोखरामा पूर्व अभ्यास गरिएको छ । मुखर्जी पोखरा विमानस्थलमा अबतरण भएपछि आरामको लागि जाने होटल र होटलबाट कार्यक्रम स्थल सम्म कसरी लैजाने र विमानस्थलसम्म पुनः कसरी ल्याउने भन्ने वारे सुरक्षा निकायले पूर्व अभ्यास गरेको हो । मुखर्जीको सवारीलाई ब्यवस्थित गर्नका लागि अघिल्लो दिन पूर्व अभ्यास गरिएको हो । पूर्व अभ्यासको क्रममा सवारी रुटमा अन्य सबै सवारी बन्द गरिएको थियो । विहिवार विहान गरिएको पूर्वअभ्यासमा सबै सुरक्षा निकायका पोखरा स्थित प्रमुख, क्षेत्रीय प्रशासक, प्रमुख जिल्ला अधिकारी लगायतको सहभागीता थियो । तीन दिने भ्रमणको अन्तिम दिन भारतीय राष्ट्रपति मुखर्जी जनकपुर हुँदै पोखरा आउने कार्यक्रम छ । भ्रमण तालिका अनुसार उनी आज (शुक्रबार) दिउसो पौने १ बजे पोखरा विमानस्थलमा ओर्लिनेछन् । त्यसपछि विहानी खाना र केहिवेर आरामका लागि विरौटा स्थित होटल पोखरा ग्राण्डमा जानेछन् । त्यसपछि पोखरा–१० रामबजार स्थित भारतीय पेन्सन क्याम्पमा आयोजित कार्यक्रममा सहभागी हुने र भूतपूर्व भरतीय गोर्खा सैनिकलाई सम्बोधन गर्ने कार्यक्रम छ । त्यहाँको कार्यक्रम सकिएपछि अपरान्ह ४ बजे उनी काठमाडौं फर्किने कार्यक्रम छ । मुखर्जी पोखरामा रहने सवा तीन घण्टाको समयलाई सुरक्षित बनाउन पोखरामा १ हजार ५ सय भन्दा बढी सुरक्षाकर्मी खटिने भएका छन् । उनको सुरक्षाका लागि चार वटा सुरक्षा निकायका १४ सय ५९ सुरक्षाकर्मी परिचालित हुनेछन् । स्रोतका अनुसार उनको सुरक्षामा ३८७ नेपाली सेना, ५६४ नेपाल प्रहरी, ४५७ सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका ५१ सुरक्षाकर्मी परिचालित हुनेछन् । मुखर्जीको सुरक्षाका लागि विशेष सुरक्षा योजनानै तयार गरिएको छ । सुरक्षालाई चुस्त बनाउन पोखरा नगर क्षेत्रमा सादा पोषाकमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालित छन् । सबै सुरक्षा निकायका काठमाडौंबाट आएका विशेष सुरक्षा टोली सादा पोशाकमा नगर क्षेत्रमा खटिसकेका छन् । यसैबीच मुखर्जीको स्वागतका लागि आवश्यक सबै तयारी पूरा भएको छ । पश्चिमाञ्चल क्षेत्रीय प्रशासक खगराज बरालको संयोजकत्वमा गठित मुल ब्यवस्थापन समिति र अन्य उपसमितिले तयारी पूरा गरेका छन् । राष्ट्रपतिको स्वागतका लागि आवश्यक स्वागतद्वार निर्माण गरिएको छ भने उनको सवारी हुने सडकलाई मर्मत गरिएको छ । विभिन्न जातजातिका झाँकी र बाजागाजा सहित उनको स्वागत गर्ने तयारी छ । कार्यक्रम हुने स्थल पेन्सन क्याम्प भित्रको तयारी पनि पूरा भएको छ । यसैबीच ट्राफिक प्रहरी कार्यालय कास्कीले पोखरा आगमनको क्रममा भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीका बेला बैकल्पिक रुटको प्रयोग गर्न आग्रह गरेको छ । प्रहरीले राष्ट्रपतिको सवारी हुने होटल पोखरा ग्राण्डदेखि विरौटाचोक, एयरपोर्ट, नागढुङ्गा, पृथ्बीचोक, चाइनापुल, बुद्धचोक हुँदै रामबजार स्थित भारतीय पेन्सन क्याम्प सम्मको रुटको विकल्प रोज्न आग्रह गरेको हो । सो रुटमा शुक्रवार मध्यान्हदेखि अपरान्हसम्म सवारी अबरुद्ध हुने भएकाले बैकल्पिक रुटको प्रयोग गर्न ट्राफिक प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ । मुखर्जीको सवारी हुनुभन्दा आधा घण्टा अघिबाट सो रुटमा अन्य सवारी सञ्चालनमा रोक लगाइने र उनको सवारी सकिने वित्तिकै खुल्ला हुने प्रहरीले जनाएको छ । ‘सो रुटमा राष्ट्रपतिको सवारी हुनुभन्दा आधा घण्टा अघिदेखि अन्य सवारी सञ्चालनमा रोक लगाइन्छ’, प्रहरी निरीक्षक विश्वराज अधिकारी भने–‘राष्ट्रपतिको सवारी हुने रुटको बैकल्पिक रुट प्रयोग गर्न आग्रह गर्छौ ।’ ट्राफिक प्रहरी कार्यालय कास्कीले विज्ञप्ती जारी गर्दै सवारीको समयमा सो रुट अन्तर्गत चल्ने सवारीलाई अन्य बैंकल्पिक रुट प्रयोग गर्न आग्रह गरेको छ । पृथ्बी राजमार्ग अन्तर्गत अमरसिंहचोक बाट पृथ्बीचोक तर्फ आउने सवारी, पोखरा बाग्लुङ राजमार्ग अन्तर्गत पृथ्बीचोकसम्म चल्ने सवारी तथा सिद्धार्थ राजमार्ग अन्तर्गत विरौटाचोक देखि एयरपोर्टबाट पृथ्बीचोक हुँदै चल्ने सवारीलाई राष्ट्रपति आवत–जावतको समयमा अर्कै रुट भएर सञ्चालन गर्न भनिएको छ । त्यस्तै पोखरा नगरक्षेत्रमा सञ्चालन हुने सवारीलाई पनि सो रुटको वैकल्पिक रुट प्रयोग गर्न आग्रह गरिएको छ । राष्ट्रपति सवारीको आधा घण्टा अघि अन्य सवारीलाई रोक लगाइने भएपनि सो रुटमा सवारी ब्यवस्थापन गर्न अन्य बैकल्पिक रुटको प्रयोगका लागि आग्रह गरिएको प्रहरी निरीक्षक अधिकारीले बताए ।




Post a Comment

 
Top