0
गोल्डेन न्यूज संवाददाता
नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दलको चौथो महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने काम नेताहरुबीचको भागवण्डाका आधारमा सकिएको छ । महाधिवेशनले केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरु सबै चयन गर्नुपर्नेमा कांग्रेसभित्र देखिएका प्रमुख ४ गुटबाट एक–एक जनालाई दलको केन्द्रीय पदाधिकारी चयन गरेर महाधिवेशनको प्रक्रिया टुङ्ग्याइएको हो । जसअनुसार कांग्रेस सभापति शेरबहादुर देउवा निकटका जीतजंग बस्नेतलाई अध्यक्ष बनाइएको छ भने पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल निकटका भूपेन्द्रजंग शाहीलाई दलको महासचिवको जिम्मेवारी दिइएको छ । यसैगरी कांग्रेस नेता कृष्णप्रसाद सिटौला पक्षका उत्तमकुमार चापागाईंलाई उपाध्यक्ष र नेता खुमबहादुर खड्का निकटका विद्वान गुरुङलाई कोषाध्यक्षको जिम्मेवारी दिइएको छ । गुरुङलाई देउवा पक्षको भनेर चिनिएको भएपनि उनी खड्काको भागमा कोषाध्यक्ष बनेको बताइन्छ । बाँकी पदाधिकारी र कार्यसमिति सदस्यहरु काठमाडौं आएपछि थप्ने बताइएको छ । पदाधिकारी चयनका लागि सहमति मंगलबारै भएको भएपनि नामावलीलाई वुधबार मात्रै अन्तिम रुप दिइएको हो । तीन वटै समूहलाई समायोजन गर्ने भन्दै छलफल लम्बिएपछि तिन दिनमा सकिने भनिएको महाधिवेशन पाँच दिनमा सकिएको हो । सिटौला समूहले प्रक्रियामार्फत मनोनयन खुला नै नगरी अघि बढेको भन्दै आपत्ति जनाएको थियो । सिटौला समूहले विधि र विधानलाई ख्याल गर्न भनेपछि संशोधित र परिमार्जित विधान अनुरुप तरुण दल केन्द्रीय कार्यसमितिका बाँकी पदाधिकारी र सदस्यहरु चयन केन्द्रीय निर्देशक समितिको बैठकले गर्ने सहमति भएसँगै नेतृत्व घोषणा भएको बताइएको छ । तरुण दलको अध्यक्षमा निर्वाचित बस्नेत ललितपुर, उपाध्यक्ष चापागाइँ भोजपुर, महासचिव शाही कासलकोटका र कोषाध्यक्ष गुरुङ पर्वतका हुन् । महाधिवेशनले ६१ सदस्यीय कार्यसमितिबाट बढाएर ९५ सदस्यीय बनाइएको छ । खुला २३, प्रदेशबाट २८ महिला ७, आदिवासी ४, मधेसी ४ दलित ३, अल्पसंख्यक पिछडावर्ग ३ सहिद परिवार १ थारु, १ मुस्लिम १ जना मनोनित हुने गरी विधान संशोधन गरिएको निवर्तमान अध्यक्ष उदय शमसेर राणाले जानकारी दिए । ३ दिनसम्म चल्ने भनिएको महाधिवेशनको पाचौं दिन बुधबार नेपाली कांग्रेसद्वारा गठित निर्देशक समितिले पत्रकार सम्मेलनको आयोजना गरि नेतृत्व चयन भएको जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा कांग्रेस केन्द्रीय सदस्य एवं निर्देशन समितिका संयोजक बालकृष्ण खाँडले खाँणले पार्टीलाई सशक्त र बलियो बनाउन पार्टीको तरुण सेनाको रुपमा रहेको तरुण दलमा सबै शीर्ष नेताबीच चुनाव नगराउने र सहमतिमै नेतृत्व छान्ने सल्लाहबमोजिम पदाधिकारी चयन गरिएको उनले बताए । शनिबार महाधिवेशन उद्घाटन गर्न आएका पार्टी सभापति देउवा, वरिष्ठ नेता पौडेल, कृष्णप्रसाद सिटौला लगायत शीर्ष नेता बुधबार नै काठमाडौ फर्किसकेका छन् । नेपाल तरुण दलका केन्द्रीय निर्देशन समितिका संयोजक बालकृष्ण खाँणले पोखरामा सम्पन्न दलको चौथो राष्ट्रिय महाधिवेशनले पार्टीको एकतालाई थप सुदृढ बनाएको बताएका छन्। संयोजकले मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा पार्टीको आन्तरिक एकता मजबुत बन्नुपर्ने आवश्यकतालाई दृष्टिगत गरी पार्टी नेतृत्व र प्रतिनिधिको भावनालाई मनन गरी सर्वसम्मत नेतृत्व चयन गरिएको जानकारी दिए। उनले महाधिवेशनमा अध्यक्षको प्रतिवेदन, आर्थिक प्रतिवेदन पारित भई विधान संशोधनलगायतका प्रस्ताव निर्देशन समितिमा पठाउने निर्णय भएको र महाधिवेशन सफलतापूर्वक सम्पन्न गराएकोमा तरुण दलका केन्द्रीय अध्यक्ष एवम् सदस्य, सहभागी प्रतिनिधि सबैलाई धन्यवाद व्यक्त गरे। उनले नेपाल तरुण दलको विधान (संशोधित र परिमार्जित) बमोजिम दलको केन्द्रीय समितिका बाँकी पदाधिकारी र सदस्यको चयन केन्द्रीय निर्देशन समितिको आगामी बैठकबाट गरिने जानकारी दिए। रक्षामन्त्री एवं तरुण दलका पूर्व अध्यक्षसमेत रहेका नेता खाँणले काठमाडौं फर्केलगत्तै पोखरामा निर्माणाधिन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कार्यलाई तीव्रताका साथ अघि बढाउन पहल गर्ने विश्वास व्यक्त गरे। चौथो महाधिवेशनबाट नवगठित नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जीतजङ्ग बस्नेतले समाजमा विद्यमान विकृति विसङ्गतिका विरुद्धमा सङ्घर्ष गर्दै आगामी दिनमा नवीनतम सोचका साथ दलको सङ्गठन देश र समाजको हितमा क्रियाशील बन्ने बताए। उनले देशमा मौलाउँदै गएको भ्रष्टाचारको अन्त्य गर्न आफूले पहल गर्ने बताए । अहिले जताततै भ्रष्टाचार मौलाउँदै गएको भन्दै उनले देशमा शान्ति, सुशासनबिना विकास हुन नसक्ने बताए । आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्न संविधान कार्यान्वयन र स्थानीय तहको निर्वाचन सफल पार्न तरुण दल लागिपर्ने उनले बताए । ‘पार्टीलाई बलियो बनाउन लाग्नेछु,’ उनले भने, ‘मलाई पार्टीका शीर्ष नेता र तरुण कार्यकर्ताले विश्वास गरेर नेतृत्व दिनुभएको छ । विश्वासलाई कतै दाग लाग्न दिन्न । लोकतन्त्र र पार्टीको रक्षाको निम्ति म सधैं प्रतिबद्ध रहनेछु ।’ नेपाल तरुण दलका निवर्तमान अध्यक्ष उदयशम्शेर राणाले पोखरा महाधिवेशनलाई सम्पन्न गराउन महत्वपूर्ण सहयोग गर्ने पार्टी सभापतिसहित दलका नेता, निर्देशन समितिका संयोजक एवम् सदस्य, कार्यसमितिका सदस्य, सञ्चारकर्मी सबैमा आभार व्यक्त गरे।



Post a Comment

 
Top