0
गोल्डेन न्यूज संवाददाता
 फ्याफुल्ला महिला बचत तथा ऋण सहकारी संस्था पोखराले सहारा एकेडेमी पोखरा–१७ दोबिल्लालाई आर्थिक सहयोग गरेको छ । सहकारीको पाँचौं वार्षिकोत्सवको अवसरमा सहकारीले एकेडेमीलाई २५ हजार रुपैयाँ नगद तथा जिन्सी सामान सहयोग गरेको हो । एकेडेमीमा आश्रित अनाथ तथा असहाय बालबालिकाको लालनपालन तथा शिक्षाका लागि सहकारीले सहयोग गरेको हो । प्रमुख अतिथि कास्की बचत तथा ऋण सहकारी संस्था पोखराका अध्यक्ष तथा पोखरा रोयल सहकारी संस्थाका प्रवन्ध निर्देशक भीम गुरुङ र सहकारीका अध्यक्ष विष्णु तामाङले संयुक्त रुपमा सहयोग रकम एकेडेमीका अध्यक्ष वीरभद्र आचार्यलाई हस्तान्तरण गरे । सामाजिक उत्तरदायित्व बहन गर्दै एकेडेमीलाई सहयोग गरिएको अध्यक्ष तामाङले बताइन् । उक्त अवसरमा बोल्दै प्रमुख अतिथि भीम गुरुङले वार्षिकोत्सवको अवसरमा फ्याफूल्ला सहकारीले असहाय तथा अनाथ बालबालिकाहरु आश्रित सहारा एकेडेमीलाई सहयोग गर्नु सह्रानीय भएको बताए । कास्कीका अन्य सहकारीले पनि एकेडेमीलाई आगामी दिनमा सहयोग गर्ने उनको भनाइ छ । ‘सामाजिक क्षेत्रमा कास्कीका सहकारीहरुको योगदान महत्वपूर्ण छ,’ उनले भने, ‘फ्याफुल्ला सहकारीबाट अन्य सहकारीले पनि प्रेरणा लिन आवश्यक छ ।’ समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले वार्षिकोत्सवमा सहकारीले एकेडेमीलाई सहयोग गरेको सहकारीका सल्लाहकार दीपक तामाङले बताए । एकेडेमीका संस्थापक अध्यक्ष वसन्त थकालीले सबैको साथ र सहयोगबाट एकेडेमी सञ्चालन भइरहेको जानकारी दिए। एकेडेमीमा १६ जिल्लाका २८ जना बालकहरुले आश्रय लिइरहेको क्लबका अध्यक्ष वीरभद्र आचार्यले बताए । फ्याफुल्ला सहकारीले जस्तै पोखराका अन्य सहकारीले पनि एकेडेमीलाई सहयोग गर्ने उनको विश्वास छ ।
कास्कीमा ६ सय भन्दा बढी सहकारी संघसंस्था छन् । सहकारीका अध्यक्ष विष्णु तामाङको अध्यक्षतामा कार्यक्रम भएको हो । फ्याफुल्ला सहकारीमा १ सय ६४ जना सेयर सदस्य छन् । ३८ लाख रुपैयाँ सेयर पुँजी रहेको सहकारीले १ करोड ५० लाख रुपैयाँ कारोबार गर्न सफल भएको सचिव पबित्रा तामाङले जानकारी दिइन् । ६० लाख रुपैयाँ निक्षेप संकलन गर्न सफल सहकारीले करिब एक करोेड रुपैयाँ कर्जा लगानी गरेको छ । आगामी दिनमा पनि सहकारीले सामाजिक क्षेत्रमा काम गर्दै अगाडि बढ्ने तामाङले बताइन् ।

Post a Comment

 
Top