0
डेमोक्रेटिक हिलारी क्लिन्टन माथि शानदार जित हात पार्दै डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति निर्वाचित भएका छन् । निर्वाचन अघि सबै मत सर्वेक्षणहरुलाई गलत सावित गर्दै रिपब्लिकन उम्मेदवार ट्रप अमेरिकाको ४५ औं राष्ट्रपति बने । ७० वर्षका उनी अमेरिकी इतिहासका सबैभन्दा पाका राष्ट्रपति पनि हुन् । ५३८ इलेक्टोरल अलेजमा राष्ट्रपति बन्न २७० मत चाहिन्छ । ट्रम्पले २७६ मत पाएका छन् । र, मत गणना अन्तिम तरणमा रहेको एरिजोना र मिसिगनमा उनकै अग्रता छ । एरिजोनाको ११ र मिसिगनको १६ मत थपियो भने ३०३ मत हुनेछ । यो परिणाम धेरेका लागि अप्रत्यासित हो । मतदान पूर्व भएका सबै मत सर्वेक्षणमा ट्रम्प कमजोर देखिएका थिए र हिलरी नै हृवाइट हाउसमा जाने देखाएको थियो । तर, निर्णायक मानिएका मुख्य राज्यहरु ओहायो, फ्लोरिडा, पेन्सलभेनिया लगायतमा ट्रम्पले बाजी मारे, जसले उनलाई हृवाइट हाउस प्रवेश गरायो । विस्कन्सिनमा ट्रम्पले हात पारेको जित पनि डेमोक्रेटहरुका लागि अर्को झड्का थियो । राष्ट्रपति चुनावको अभियान सुरु गर्दादेखि आज जितका साथ अमेरिकी इतिहासमा नयाँ अध्यय गर्दासम्म डोनाल्ड ट्रम्पले हरेक पटक आशा र सम्भावनालाई गलत सावित गरेका छन् । धेरै कम मानिसहरु मात्र मान्थे कि उनी यो दौड (चुनावी)मा सामेल हुन पाउने छन्, उनले पाए । कमै मानिसलाई लागेको थियो कि उनी प्राइमरीमा विजयी हुन्छन्, भए उनले जिते ।कमै मानिसलाई लाग्यो कि उनी रिपब्लिकन पार्टीको नोमोनिसनसम्म पुग्न सक्छन्, उनी पुगे । र कमै मानिसले विश्वास गरेका थिए कि उनले अन्तिम प्रतिस्पर्धा जिन्छन् तर, ट्रम्प विजयी भए र विश्व आश्चर्यमा परेको छ । ट्रम्पको जितलाई लिएर अहिले अमेरिकी इतिहासको सबैभन्दा ठूलो उथलपुथलका रुपमा हेरिएको छ ।
 
यसैबीच अमेरिकाका नव–निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको स्वार्थलाई पहिलो प्राथमिकतामा राखे पनि सबै राष्ट्रसँग उचित र निष्पक्ष व्यवहार गर्ने बताएका छन्। भर्खरै गरेको आफ्नो विजयी भाषणका क्रममा ट्रम्पले उक्त कुरा बताएका हुन्। भाषणका क्रममा उनले कुनै चर्को कुरा बोलेनन् र उनी प्रतिद्वन्द्वी हिलारी क्लिन्टनप्रति पनि नरम रूपमा प्रस्तुत भए। ‘मलाई भर्खरै सेक्रेटरी क्लिन्टनले फोन गरिन् र हाम्रो जीतका लागि बधाई दिइन्। मैले पनि कठोर ढंगले प्रतिष्पर्धा गरिएको अहिलेको चुनावमा उनी र उनको परिवारलाई बधाई दिएँ,’ ट्रम्पले भने–‘उनले पराक्रमपूर्ण ढंगले चुनाव लडिन्। उनी लामो समयदेखि कठोर परिश्रम गर्दै आएकी छन्। उनले देशलाई गरेको सेवाप्रति हामी कृतज्ञ छौं। मैले यो कुरा गम्भीरतापूर्वक भन्दैछु। भाषणका क्रममा उनले प्रत्येक अमेरिकी नागरिकले आफ्ना सपना र सम्भावना पुरा गर्ने अवसर प्रदान गर्ने अवस्था आफूले सृजना गर्ने बताए। ‘हामीले भुलिसकेका यो देशका पुरुष र महिलालाई हामीले फेरि भुल्ने छैनौं। हाम्रा शहर र विकासका पूर्वाधार मर्मत गर्ने छौं,’ उनले भने ‘हामी संसारभरका सबै त्यस्ता देशसँग मिलेर अघि बढ्ने छौं जुन देश हामीसँग मिल्न चाहन्छन्।’
 
यसैबीच अमेरिकी राष्ट्रपति ओबामाले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड जे ट्रम्पलाई फोन गरेर बधाई दिएका छन्। ह्वाइट हाउसले बुधबार विज्ञप्ति निकाल्दै अमेरिकी राष्ट्रपतिमा विजयी भएकोमा ट्रम्पलाई बधाई दिएका हुन्। ओबामाले बुधबार नै ह्वाइटहाउसमा निर्वाचन परिणाम र अबको कदमबारे छलफल गर्ने ह्वाइटहाउसले जनाएको छ। यसैगरी रसियाका राष्ट्रपति भ्लाद्यिर पुटिनले अमेरिकाका नवनिर्वा्चित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन्। ट्रम्प राष्ट्रपति भएसँगै अमेरिका र रसियाबीच राम्रो सम्बन्ध कायम हुने पुटिनले आशा व्यक्त गरेका छन्।
 
यसैगरी अमेरिकाको राष्ट्रपति निर्वाचनमा बिजय हासिल गर्ने रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पलाई नेपालका प्रधानमन्त्री प्रचण्डले बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री प्रचण्डले बुधबार अपरान्ह ट्वीटरमार्फत ट्रम्पलाई जितको बधाई दिएका हुन् । उनले ट्वीटरमा उल्लेख गरेका छन् ‘अमेरिकाको ४५औं राष्ट्रपतिको रुपमा चुनिएका डोनाल्ड ट्रम्पलाई हृदयदेखि बधाई । सफल कार्यकालका लागि पनि शुभकामना ।’ यसैगरी परराष्ट्र मन्त्रालयले पनि अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई दिएको छ ।
को हुन् डोनाल्ड ट्रम्प ?
 मंगलबार सम्पन्न अमेरिकी राष्ट्रपति निर्वाचनमा धेरैको अनुमानलाई गलत सावित गर्दै अमेरिकी जनताले रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पलाई रोजेको देखिएको छ । डेढ वर्षअघिसम्म धेरै अमेरिकीले डोनाल्ड ट्रम्प रिपब्लिकन पार्टीको उम्मेदवार बन्छन् भनेर सोचेका पनि थिएनन् । तर, उनी अहिले उम्मेदवार मात्र होइन अमेरिकी राष्ट्रपतिमा निर्वाचित नै भइसके । पढ्नुहोस् ट्रम्पसँग सम्बन्धित पाँच रोचक कुराः
डोनाल्ड ट्रम्पको जन्म सन् १९४६ जुन १४ का दिन भएको थियो । ट्रम्पले अहिलेसम्म चुरोट खाएका छैनन् । न त उनले रक्सी पिएका छन् न लागू औषध सेवन गरेका छन् । उनका ठूला दाजू फ्रेड जड्याँहा थिए तर, डोनाल्डलाई भने नपिउन सल्लाह दिन्थे । फ्रेडले कुलतका कारण ज्यान गुमाए । ट्रम्पको सुनौलो कपालको निकै चर्चा हुने गरेको छ । भनिन्छ उनले आफ्नो कपाललाई ब्लो ड्राइ गरेर पछाडिसम्म कोर्ने गर्छन् । २००७ मा वल्र्ड रेस्लिङ इन्टरटेन्मेन्ट डब्ल्यू डब्ल्यू ईका अध्यक्ष भिन्स मिकम्यानसँग उनले एउटा अनौठो बाजी राखेका थिए । दुबै जनाले एक(एक जना रेसलर छानेका थिए र हार्नेले कपाल खौरनुपर्ने सर्त थियो । यसमा जित ट्रम्पकै भयो र उनले मिकम्यानको कपाल खौरन सहयोग पनि गरे ।
ट्रम्पले रक्सी नपिए पनि सन् २००६ मा आफ्नै भोड्का बजारमा ल्याएका थिए । उनले यो भोड्कालाई उत्कृष्ट र राम्रोसँग प्याक गरिएको भन्ने गरेका थिए । तर, २०११ मा राम्रो व्यापार गर्न नसकेपछि ट्रम्प भोड्काको उत्पादन बन्द गरिएको थियो । आफ्नो नाममा बोर्ड गेम भएका ट्रम्प पहिलो राष्ट्रपतीय उमेदवार हुन् । मोनोपोली (व्यापारी) जस्तै बोर्डमा खेलिने ‘ट्रम्प द गेम’ १९८९ मा सुरु गरेका थिए । तर, राम्रो बजार लिन नसकेपछि बन्द भयो । २०१६ मा फोव्र्स  म्यागजिनले जनाएअनुसार उनी अमेरिकाकै सर्वा्धिक धनीको सूचीमा १५६ औं स्थानमा छन् भने संसारमै ३२४ औं स्थानमा छन् । उनको नेटवर्थ करिब ३.७ अर्ब डलर रहेको फोर्ब्स ले सन् २०१६ मा अनुमान गरेको छ ।







Post a Comment

 
Top