0
बारपाकलाई केन्द्र बनाएर भूकम्प गएपछिको १९ महिनामा गोरखामा सरकारी लगानीबिना नै विभिन्न संरचना बनेका छन् । चारवटा स्वास्थ्य चौकी भवन, एउटा क्यान्टिलिभर पुल, पाँचभन्दा बढी भूकम्प प्रतिरोधी विद्यालय भवन बनिसकेका छन् । नयाँ र मर्मत गरेका भवनबाट ६६ वटा विद्यालय सञ्चालनमा आएका छन् । श्रीनाथकोट, घ्याल्चोक, भुम्लिचोक र घैरुङ गाविसमा भूकम्प प्रतिरोधी स्वास्थ्य चौकी भवन बनिसकेका छन् । स्वास्थ्य चौकीको सुविधा सम्पन्न भवनसँगै औषधि खरिद र उपचारलाई आवश्यक पर्ने औजार खरिद गरी सङ्घसंस्थाले हस्तान्तरण गरेका छन् । चारवटै स्वास्थ्य चौकी भवन असल छिमेकी नेपाल पोखराले निर्माण गरिदिएको हो ।
स्वास्थ्य चौकी भवन निर्माण, औषधि र औजार खरिद गर्दा घैरुङमा रु ८६ लाख लगानी भएको असल छिमेकी पोखराका कार्यक्रम संयोजक विजय श्रेष्ठले बताए ।  साथै रु ७५ लाख लगानीमा अन्यत्रका भवन पुनःनिर्माण भइसकेका छन् । सोही संस्थाले आँपपीपल स्वास्थ्य चौकी भवन पुनःनिर्माणको काम अघि बढाएको छ । निर्माण भइसकेका स्वास्थ्य चौकी भवन नौकोठे हुन् । बर्थिङ सेन्टरसहित शौचालयजडित अपाङ्गमैत्री कोठा निर्माण भएका छन् । जनस्वास्थ्य कार्यालय गोरखाका प्रमुख केदारराज पराजुलीका अनुसार स्वास्थ्य चौकीका भवन बनाउन भन्दै विभिन्न संस्थाले अनुमति लिएको भए पनि सबैभन्दा पछि अनुमति पाएको असल छिमेकीले पहिले भवन निर्माण गरेको छ । स्वास्थ्य चौकी भवन निर्माण गर्न युनिसेफ, वल्ड भिजन इन्टरनेसनल, आइएमसी लगायत सङ्घसंस्थाले अनुमति लिएको भए पनि ती संस्थाले अहिलेसम्म भवन निर्माण सम्पन्न नगरेको जनस्वास्थ्य कार्यालयमा रहेर सङ्घसंस्थाका गतिविधि हेर्दै आएका कर्मचारी नानीबाबु दानीले जानकारी दिनुभयो । भूकम्पले गोरखाका ५४ स्वास्थ्य चौकीमा क्षति पुगेको थियो ।
साथै, भूकम्पपछि गोरखाका पाँचभन्दा बढी विद्यालयमा भूकम्प प्रतिरोधी भवन बनेका छन् । हामसालिङ साउथ कोरिया, सोलिडारिटी ह्युमन राइट एन्ड कल्चर, भिजन ट्वान्टी ट्वान्टी संस्थाले सोड नेपालको सहकार्यमा ताप्लेमा १२ कोठे महालक्ष्मी माध्यमिक विद्यालय भवन निर्माण गरिदिएको छ ।
विद्यालयका प्रधानाध्यापक रहमतुल्हा मियाँका अनुसार रु दुई करोडको लगानीमा संस्थाले विद्यालयमा भूकम्प प्रतिरोधी भवन बनाइदिएको हो । विद्यालय भवन, मञ्च, शौचालय, पुस्तकालय निर्माणमा सङ्घसंस्थाले सहयोग गरेको छ । गत भदौमा भवन पुनःनिर्माणको काम सकिएपछि सोही भवनबाट पठनपाठन गरिएको छ । विद्यालयमा सिसी क्यामेरा पनि जडान गरिएको छ ।  बेलायतका राजकुमार ह्यारीसहितको टोलीले श्रमदान गरी पुनःनिर्माण गरेको लापु गाविस(३ लापुबेँसीस्थित प्रभातकिरण माविको भवनबाट पठनपाठन सुरु भएको छ । टिम रुबिकन युके नामक संस्थाले १२ कोठे भवन निर्माण गरिदिएको हो । सोही भवनमा बसेर १९८ जना विद्यार्थी पढ्दै आएका छन् । विद्यालय पुनःनिर्माणमा श्रमदान गर्न गत चैत १० गते ह्यारी लापुबेँसी पुगेका थिए । ह्यारीले छ दिनसम्म डोकोमा ढुङ्गा बोकेर विद्यालय पुनःनिर्माणमा सहयोग गरे ।
खाल्सा एड युकेले नाम्जुङ–१ रातमाटेमा कालिका अमरज्योति प्राथमिक विद्यालयमा पाँचकोठे भवन निर्माण गरिदिएको छ । रु १८ लाख लगानीमा भवन निर्माण भएपछि विद्यार्थीले कक्षाकोठामा बसेर पढ्न पाएका छन् । खाल्सा एड युकेका भारतस्थित म्यानेजिङ डाइरेक्टर अमरप्रित सिंहले भने– “शिक्षामा सहयोग गर्न पाउँदा हामी खुसी छौँ ।”
तिब्बतसँग सिमाना जोडिएको उत्तरी गोरखाको छेकम्पार लारमा चेया नेपालले बुद्ध प्राविको भवन निर्माण गरिदिएको छ । चेयाले रु एक करोड ३५ लाख लगानीमा उत्तरी गोरखामा विभिन्न पाँच विद्यालय भवनको पुनःनिर्माणको काम गरिरहेको छ । युनिसेफको सहयोगमा स्वेदशी नेपाल नामक संस्थाले देउराली–८ स्थित कर्मासिङ प्राविमा रु २० लाख लगानी गरी चारकोठे भवन निर्माण गरिदिएको प्रधानाध्यापक शान्तमणि कैनीले जानकारी दिए । एनआरएन अस्टे«लिया तथा नेप्लिज एसोसिएसन अफ नर्दन टेरिटोरिज अस्ट्रेलियाको रु १२ लाख सहयोगमा गाईखुरको रजगरे माविमा दुईकोठे भूकम्प प्रतिरोधी भवन निर्माण गरिएको छ । “भूकम्पले क्षति पु¥याएको जिल्लाभरका ४०० विद्यालयमध्ये ६६ विद्यालयमा भवन बनेका छन्,” जिल्ला शिक्षा अधिकारी दीपेन्द्र सुवेदीले भने–“केही भवन नयाँ बनाइएको हो भने केही पुरानै भवन मर्मत गरी सञ्चालन गरियो ।” जाइकाले २८ विद्यालयमा भवन बनाउँदैछ । मनास्लु पदमार्गको केरौँजास्थित यारुबगरमा पहरा खोपेर क्यान्टिलिभर पुल निर्माण गरिएको छ । एक सय ९६ मिटर लामो क्यान्टिलिभर पुल डिएफआइडीले बनाएपछि उत्तरी गोरखाका विभिन्न सात गाविसका स्थानीयवासी, स्वदेशी÷विदेशी पर्यटक र खच्चडमार्फत सामग्री ढुवानीमा सहज भएको छ ।
भूकम्पपछि १० बढी अन्तर्राष्टिूय गैरसरकारी संस्था, १०० बढी गैरसरकारी संस्थाले विभिन्न कार्यक्रममा बजेट ल्याए पनि पुनःनिर्माणको कामले गति लिन सकेको छैन । सरकारी अनुदान पहिलो किस्ताको रु ५० हजार बुझेपछि करिब ४०० जना भूकम्पपीडित लाभग्राहीले घर बनाउने काम सुरु गरेका छन् । जिल्लाका दुई नगरपालिका र ६० गाविस गरी ५८ हजार ५०३ जना भूकम्पपीडितले अनुदान पाउनुपर्ने भए पनि अहिलेसम्म ४९ हजार ५५ जनाले पहिलो किस्ताको रकम बुझेका छन् । पन्ध्र हजार ७४३ जनाले आफूहरू पीडित भए पनि अनुदान नदिइएको भन्दै निवेदन दिए पनि ती निवेदनमाथि सुनुवाइ भएको छैन । रासस





Post a Comment

 
Top