0
नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारमा करिब नौ महिनासम्म प्रधानमन्त्रीका रूपमा बसे । उनी बसेका बेलामा बालुवाटारको एक नम्बर भनिने आँखा भएको गेट कहिल्यै खुलेन । किनभने उनको त्यो गेटसँग विशेष शत्रुता रहेछ । करिब चार वर्ष पहिलेको घटना हो जुनबेला तत्कालीन एमाले अध्यक्ष झलनाथ खनाल देशका प्रधानमन्त्री थिए । प्रधानमन्त्री खनाल अध्यक्ष भए पनि उनका लागि विशेष भूमिका भएका व्यक्ति थिए तत्कालीन वरिष्ठ नेता केपी शर्मा ओली । कुनै एक कार्यक्रममा प्रधानमन्त्री झलनाथ खनाल गएका थिए जहाँ ओली पनि सँगै थिए । कार्यक्रम पछि खनालले ओलीलाई पनि प्रधानमन्त्री निवास बालुवाटार सँगै आउन भने । प्रधानमन्त्रीको गाडी अघिअघि कुद्यो, ओलीको गाडी पछि पछि । बालुवाटारसम्म प्रधानमन्त्रीको पजेरो र सुरक्षा निकायका मोटरसँग बेतोडका साथ ओलीको ल्यान्डरोभर पनि कुद्यो । बालुवाटार पुगेपछि झलनाथ खनालको मोटर र सुरक्षा टोली फटाफट १ नं गेटबाट भित्र छि¥यो तर ओलीको रातो गाडीलाई भित्र छिर्न दिइएन । गोलीजस्तो फटाफट भित्र छिर्नुपर्ने ओलीको अनुहार उनको मोटरजस्तै रातो भयो । उनी फर्केर ३ नं गेटबाट छिरेर २ नं गेट पार हुँदै त्यो १ नं गेटलाई दायाँ पार्दै बालुवाटारभित्र छिरे । तर, उनलाई १ नं गेटसँग चिढ भयो । एक नम्बर गेटबाट प्रधानमन्त्री, भूतपूर्व प्रधानमन्त्री, वर्तमान मन्त्री तथा कूटनीतिक निकायका प्रमुखलाई मात्र भित्र छिर्न दिइने सुरक्षा प्रावधान मिलाइएको हुनाले सेनाले सो गेटबाट ओलीलाई छिर्न दिएको थिएन । आफू छिर्न नपाएको गेटसँग ओलीको रिस धेरै पछिसम्म पनि मरेको रहेनछ् । आफू प्रधानमन्त्री हुनेबित्तिकै सबैभन्दा पहिले त्यो गेटलाई बन्द गर्ने निर्देशन दिए । ओली प्रधानमन्त्री हुन्जेल कोही पनि त्यो गेटबाट छिरेन । ओली आफँै पनि सो गेटबाट ओहोरदोहोर गरेनन् । ओलीपछि प्रधानमन्त्री भएका पुष्पकमल दाहालले भने सबैभन्दा पहिले त्यहीे गेट खोल्ने निर्णय गरे । त्यो कुरा त्यसै सेलाएको थियो । तर, ओली पदबाट बाहिरिएपछि बुधबार पहिलोपल्ट बालुवाटार छिर्दा एक नम्बर गेटको कुरा पुनः स्मरण भयो । ओली अब पूर्व प्रधानमन्त्रीको नाताले १ नं गेटबाट भित्र छिर्न सक्थे, तर उनी छिरेनन् । बालुवाटारका सुरक्षा निकायका अनुसार उनी ३ नं गेटबाटै छिरे, जसरी आफू प्रधानमन्त्री हुँदा छिरेका थिए । ओलीको १ नं गेटसँगको अहिलेको रिस कायमै रहे भविष्यमा अब सो गेटै बन्द नहोला भन्न सकिएला र ? ऐजेन्सी




Post a Comment

 
Top