0
गोल्डेन न्यूज संवाददाता
नेपालको लागि जापानका राजदूत मासाशी ओगावाले जापानी सहयोग निरन्तर रहने प्रतिवद्धता जनाएका छन् । पोखरा उद्योग वाणिज्य संघले उनको सम्मानमा बुधबार आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै राजदूत ओगावाले नेपालमा बढीभन्दा बढी जापानी पर्यटक भित्र्याउनका लागि पहल घोषणा समेत गरे । केही वर्षअघि भन्दा अहिले नेपाल आउने जापानी पर्यटक घटेका हुन् भन्ने प्रश्न गर्दै उनले ठट्यौलो पारामा भने–‘पहिला ओहाइगोजाइमास 
(जापानी भाषाको नमस्ते) भन्नेहरु बढी हुन्थे भने अहिले निहाओ 
(चिनियाँ भाषाको नमस्ते) भन्नेहरु बढेको देखियो ।’
नेपाल–जापान दौत्य सम्बन्ध स्थापित भएको ६० औँ वर्षमा प्रवेश गरेको स्मरण गर्दै उनले नेपालको हवाई सुरक्षा तथा राजधानीको नागढुंगा क्षेत्रमा सुरुङ मार्ग बनाउन जापानले सहयोग गर्न लागेको जानकारी दिए । पोखराका विभिन्न विकास निर्माणमा परियोजनामा जापानले सहयोग गरेको उल्लेख गर्दै उनले पोखराको खानेपानी बितरण र शुद्धिकरणका लागि जापान सरकारको तर्फबाट दिइने सहयोगले यहाँका जनताले शुद्ध खानेपानी पाउने बताए । ३ वर्षअघि नेपालमा राजदूतको रुपमा आका ओगावाले पोखराको सौन्दर्यको खुलेर प्रशंसा गरे । पोखरा उपमहामनगर पालिका र जापानको कोमागाने नगरबीचको भगिनी सम्बन्धको चर्चा गर्दै उनले यो सम्बन्ध जनस्तरमा पु¥याउने पहल गरिने बताए । 
नेपालका करिब १० हजार विद्यार्थी जापानमा अध्ययनरत रहनु भनेको दुई देश बीचको साँस्कृतिक आदान–प्रदानको लागि महत्वपूर्ण रहेको उनको भनाई थियो । कार्यक्रममा जापानी राजदूतलाई स्वागत गर्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले नेपालको विकासमा जापान सरकारबाट प्राप्त सहयोगको मुक्तकण्ठले प्रशंसा गरे । गतवर्ष गएको भूकम्पले नेपालको पर्यटन र व्यवसायमा ठूलो क्षति पु¥याएको स्मरण गर्दै उनले बढीभन्दा बढी जापानी पर्यटक नेपाल भित्र्याउने वातावरण बनाउन राजदूतसँग आग्रह पनि गरे । 
पोखरा उद्योग वाणिज्य संघले पोखराको समग्र विकासमा खेलेको भूमिकाबारे जानकारी दिँदै संघ जापान सरकारसँग सहकार्य गर्न तयार रहेको समेत अध्यक्ष पालिखेले स्पष्ट पारे । संघका मानार्थ सदस्य, पूर्व अध्यक्ष तथा सल्लाहकार अशोक पालिखेले जापान सरकारको सहयोगमा निर्माण हुन लागेको पोखराको खानेपानी शुद्धिकरण तथा बिस्तार परियोजनाको अन्तर्गत मर्दीमा रहेको पानीको मुहान ४ किलोमिटर माथि सार्न सके मुहानमा हुने मानवीय अतिक्रमण कम गर्न सकिने बताए । 
सन् २००२ ताका जापान सरकारको सहयोगमा फेवाताल संरक्षणको लागि परियोजना संचालन भएको स्मरण गर्दै उनले फेवाताल संरक्षणमा जापानी सहयोगको अपेक्षा गरे । नेपाल र जापानको सम्बन्ध जनस्तरसम्म फैलिएको र केही जापानी नागरिकहरुले नेपालको पर्यटन उद्योगमा लगानी समते गरेको प्रसंग झिक्दै उनले यो सम्बन्ध अझ मजबुत बनाउनु पर्नेमा जोड दिए।



Post a Comment

 
Top