0
गोल्डेन न्यूज संवाददाता
नेपाल प्रहरीले देशब्यापी रुपमा अपराध अनुसन्धान तथा नियन्त्रण सम्बन्धी प्रशिक्षण सञ्चालन गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको तत्वावधानमा आईतवारदेखि देशका ३४ जिल्लामा एकसाथ अपराध अनुसन्धान तथा नियन्त्रण सम्बन्धी प्रशिक्षण सुरु गरिएको हो । घुम्ती प्रशिक्षण योजना अनुसार प्रहरी हवल्दार तथा जवानलाई लक्षित गरी सञ्चालन गरिएको तालिममा प्रत्येक जिल्लामा ३५ जना सहभागी छन् । गण्डकी अञ्चलको कास्की सहित, स्याङ्जा, तनहँु र मनाङमा आईतवारदेखि प्रशिक्षण सुरु भएको अञ्चल प्रहरी कार्यालय गण्डकीले जनाएको छ । बाँकी जिल्लामा दोस्रो तहमा प्रशिक्षण सञ्चालन हुने बताइएको छ । अपराध अनुसन्धानमा संलग्न प्रहरी जनशक्ति बृद्धि गर्नुको साथै तत्लो तहमा रहेका प्रहरीको क्षमता अभिबृद्धिका लागि तालिम फलदायी हुने विश्वास लिइएको छ । कास्कीमा आयोजित प्रशिक्षण उद्घाटनको अबसरमा गण्डकी अञ्चल प्रहरी प्रमुख प्रहरी वरष्ठ उपरीक्षक महेन्द्र बहादुर पोखरेलले यसअघि केन्द्रीय तहमा मात्रै सञ्चालन हुदै आएको तालिम स्थानिय स्तरमा सञ्चालन सुरु गरिएको बताए । प्रहरी जवान र हवल्दार संगठनको मेरुदण्ड भएको उल्लेख गर्दै उनले तत्लो तहलाई सक्षम बनाउने योजना सहित स्थानिय स्तरमा तालिम सञ्चालन गर्नुपरेको स्पष्ट पारे । यसअघिको ३१ दिने तालिमलाई संक्षेपीकरण गरी ६ दिनमा झारिएको पोखरेलले बताए । कास्कीका प्रमुख जिल्ला न्यायधिबक्ता गंगा प्रसाद पौडेलले प्रहरीको अपराध अनुसन्धान कमजोर भए अपराध प्रमाणीकरण गर्ने निकायमा असर पर्ने बताए । अपराध अनुसन्धानको काम प्रभावकारी बनाउन र अनुसन्धानको सूचना चुहावट हुन नदिन अनुसन्धान अधिकृतहरु सजक हुनुपर्नेमा उनले जोड दिए । कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक घनश्याम अर्यालले प्रहरीको अपराध अनुसन्धानमा थुप्रै त्रुटीहरु रहेकाले अदालत सम्म पुगेका कतिपय मुद्धाहरु असफल हुने गरेको बताए । नजशक्तिको अभावले अनुसन्धानमा समस्या भएका बेला जिल्ला स्तरमा आयोजित प्रशिक्षणले सहयोग पुग्ने उनको विश्वास छ । पहिलो चरणमा देशका ३४ जिल्लामा सञ्चालित प्रशिक्षणमा एक हजार एक सय ९० प्रहरी हवल्दार र जवान सहभागी छन् । नेपाल प्रहरीले एक बर्ष अघि ल्याएको अपराध अनुसन्धान सम्बन्धी तीनबर्षे रणनीतिक ओजना अनुसार अपराध अनुसन्धानको जनशक्ति १० प्रतिशत पुर्याउने उल्लेख छ । तर रणनीतिक योजनाको एक बर्षे अबधिमा एक प्रतिशत मात्रै जनशक्ति बढेको छ । हाल नेपाल प्रहरीको अपराध अनुसन्धानमा कुल जनशक्तिको ६ प्रतिशत मात्रै छन् । प्रहरी तथ्याङ्क अनुसार ७२ हजार कुल जनशक्तिमध्ये हाल ४ हजार प्रहरी मात्रै अनुसन्धानमा संलग्न छन् ।

Post a Comment

 
Top