0
गोल्डेन न्यूज संवाददाता
पश्चिमाञ्चल होटल संघ पोखराले पोखरा उपमहानगर पालिका कार्यालयका नगआगन्तुक प्रमुख कार्यकारी अधिकृत नबराज ढुंगानालाई स्वागत गर्दै उनीसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम मंगलबार सम्पन्न गरेको छ । स्वागत तथा छलफल कार्यक्रममा बोल्दै संघका अध्यक्ष भरतराज पराजुलीले पोखराको विकासका लागि गर्नुपर्ने कामहरु बारे कार्यकारी अधिकृत ढुंगानालाई अवगत गराएका थिए । पोखराको समग्र विकासका लागि संघ उपमहानगरपालिका कार्यालय सँग सधैं सहकार्य गरेर अगाडि बढ्न तयार रहेको स्मरण गराउँदै पराजुलीले पर्यटन विकास लगायत नगरका अन्य विकासका काममा संघ हातेमालो गरेर अगाडि बढ्न तयार रहेको उनले बताए । फेवातालको संरक्षण र विकास, पोखराको फोहोर मैलाको उचित व्यवस्थापन, पोखराको सडक मर्मत तथा संभार र व्यवस्थापन, एकीकृत सम्पत्ति कर सम्बन्धी अब्यवहारिक पक्षको सुधार लगायतका कामहरु तत्काल अगाडि बढाउन जरुरी भएको संघकातर्फबाट पराजुलीले कार्यक्रममा आफ्नो भनाइ राखेका थिए । पोखरालाई हरियाली शहरको रुपमा विकास गर्न जरुरी भएको भनाई पनि सो अवसरमा पराजुलीले राखे । सो अबसरमा बोल्दै पोखरा उप–महानगरपालिका कार्यालयका कार्यकारी अधिकृत ढुंगानाले उपमहानगरपालिका कार्यालय होटलकर्मीहरुसँग सहकार्य गरेर नै अगाडि बढ्न तयार रहेको प्रतिबद्धता जनाए। आफू कास्कीकै बासिन्दा भएको  स्मरण गराउँदै उनले पोखराको पर्यटन लगायत अन्य समग्र विकास आफूले सपना देख्न र सोही अनुसार अगाडि बढ्न चाहेको बताउँदै समग्र नगरबासीको सहयोग आफूलाई आवश्यक पर्ने बताए। पोखरामा पछिल्ला महिनाहरुमा सडकको दूरावस्थाले निकै पिरोलेको गुनासो सुनेपछि उनले यसका लागि तत्काल भत्केको सडक मर्मत गर्नका लागि एउटा मर्मत शाखा नै व्यवस्था गर्ने सुनाए । ठेकेदार व्यवस्था गरेर सडक भत्केको ठाउँमा तत्काल मर्मत गर्ने व्यवस्था गर्ने कार्यलाई आफूले अगाडि बढाउने उनले प्रतिबद्धता जनाए । कार्यक्रममा संघका अध्यक्ष पराजुली तथा पूर्व अध्यक्ष तथा सल्लाहकारहरुले कार्यकारी अधिकृत ढुंगानालाई स्वागत गरेका थिए । संघका सल्लाहकारहरु विश्वशंकर पालिखे, मेहरमान श्रेष्ठ, लक्ष्मी बहादुर भट्टराई, गोविन्दराज पहारी र विप्लव पौडेल, पश्चिमाञ्चल होटल संघ पोखराका संस्थापक अध्यक्षद्वय एवं सल्लाहकार हरिध्वज तुलाचन र रमेश बहादुर भट्टराइ लगायतले पोखरा विकासका लागि गर्नुपर्ने कामहरु सुझावको रुपमा राखेका थिए । कार्यक्रमको संचालन संघका महासचिव भेकेन्द्रकुमार श्रेष्ठले गरेका थिए ।
यसैबीच संघले विगत वर्षहरुदेखि नै गर्दै आएको भाइटिका महोत्सव यसवर्ष पनि भव्य रुपमा मनाउने निर्णय गरेको छ । तिहारको दिन विदेशी पर्यटकलाई टिका लगाउने कार्यक्रमका लागि संघका कोषाध्यक्ष राजेन्द्र ढकाललाई सयोजक चयन गरिएको संघले जनाएको छ ।



Post a Comment

 
Top