0
राजनीतिक आवरणमा गरिने अपराधले उन्मुक्ति पाउने गरेकाले नै आततायीहरूलाई विद्यालयमा बम राखेर आतङ् मच्चाउने आँट आएको हो । विद्यालयको प्राङ्गणमा बम राखेर बालबालिकालाई क्षति पुर्रुयाउन र आतङ्कित पार्न खोज्नु जघन्य अपराध हो । राजधानीका केही विद्यालयमा मंगलवार बिहान बम भेटिएपछि राज्यको सुरक्षा संयन्त्रको मात्र हैन सरकारको नियतमा पनि प्रश्न उठेको छ । विद्यालयमा बम राखेर बालबालिकालगायत सर्वसाधारणलाई आतङ्कित पार्नेहरूलाई यथाशीघ्र पक्रेर कानुनी कार्बाही नगर्ने हो भने मुलुक पुनः अराजकताको भासमा पर्नेछ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारको नेतृत्व गरेका छन् । यस्तै आतंककारी क्रियाकलाप माओवादीले पनि एक दशकसम्म गरेको थियो । बमसँगै भेटिएका पर्चामा माओवादीहरूकै जस्तो शब्द र भाषा प्रयोग भएको देखिन्छ । यसैका आधारमा कुनै व्यक्ति वा समूहलाई दोष दिन भने न्यायोचित हुँदैन । यस्तो क्रियाकलाप सरकारलाई बदनाम गरेर जनताका नजरबाट गिराउन पनि प्रायोजित गरिएको हुनसक्छ । तर, राजनीतिक आवरणमा गरिने जघन्य अपराधलाई समेत बेवास्ता गर्ने वा उन्मुक्ति दिने प्रवृत्ति रहेकाले यस्ता अपराधीको हौसला बढ्छ भन्नेमा भने दुई मत हुँदैन । माओवादी सशस्त्र विद्रोह कालका घटनामा मानवताविरुद्ध जघन्य अपराध गर्नेहरूमाथि बेलैमा कानुनबमोजिम कार्बाही गरिएको भए शान्ति प्रक्रिया सुरु भएपछि कसैले पनि राजनीतिका नाममा मानवता विरोधी अपराध गर्ने आँट गर्ने थिएन । संविधान सभाको दोस्रो निर्वाचनकै बेलामा राजधानीको एउटा मतदान केन्द्रमा बम विस्फोट गराइयो । एक जना निर्दोष बालक त्यसको सिकार भए । बम विस्फोटको जिम्मा पनि माओवादीकै एउटा समूहले लियो । तर, कसैमाथि कानुनी कारबाही भएन । अहिले त्यतिबेला बम विस्फोट गराउने समूहको नेतृत्वमा रहेका व्यक्ति माओवादी केन्द्रमा नेता छन् । माओवादीकै अर्को घटकले बन्दका बेला जनसाधारणलाई आतंकित बनाउन चालकसहितको ट्याक्सीमा आगो लगाउने गरेको छ । यस्ता घटनामा संलग्न व्यक्तिमाथि सामान्य कानुनी कारबाही गरे पनि त्यसको आह्वान गर्नेलाई उत्तरदायी बनाउने प्रयास सरकारले कहिल्यै गरेको देखिँदैन । दण्डहीनतालाई प्रश्रय दिने यस्तै प्रवृत्तिले देशमा अराजकता बढ्छ ।  यस प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहालले कृष्ण चरित्रको एउटा घटना स्मरण र अनुकरण गर्नु उचित हुनेछ । सत्यजितसँग बहुमूल्य मणि थियो । एक दिन उनका भाइ प्रसेनजित मणि लिएर सिकारमा गए तर फर्केर आएनन् । सत्यजितले कृष्णलाई उनको छोरा मारेर मणि लुटेको आरोप लगाए । त्यसपछि कृष्ण सत्यजितको मणि खोज्न आफैँ वनमा गए । गुफामा जाम्बवानसँग भेट र युद्ध भयो । जाम्बवानले छोरी जाम्बवती र श्यमन्तक मणि कृष्णलाई सुम्पे । प्रसेनजितलाई जाम्बवानले मारेका रहेछन् । अनि कृष्णले मणि लगेर सत्यजितलाई दिएर कलङ्कबाट मुक्त भए । प्रधानमन्त्री दाहालमाथि दण्डहीनतालाई प्रश्रय दिने गरेको आरोप लागेको छ । भारत भ्रमणका क्रममा उनले जघन्य अपराधमा संलग्न भएको अभियोग लागेको फरार अभियुक्तसँग भेट र भलाकुसारी गरेको तस्बिरसहितको समाचार सार्वजनिक भएको छ । विधिको शासन र लोकतान्त्रिक अभ्यास बलियो भएको मुलुकमा भए यस्तो बात लागिसकेपछि तत्काल राजीनामा गर्नुपथ्यो । नेपालमा अहिलेसम्म कसैले पनि उनको राजीनामा मागेका छैनन् । तर, दण्डहीनताविरुद्ध उनले स्पष्ट अडान राखेनन् र अपराधीलाई उन्मुक्ति दिलाउने प्रयासमा सरकार नै लाग्यो भने जनता सधैँ मूकदर्शक रहने छैनन् । यसैले तत्काल यस आतंकको निन्दा गरेर अपराधी र तिनका नेतालाई समेत मानवताविरुद्धको अपराधप्रति जिम्मेवार बनाउन प्रधानमन्त्री दाहाल स्वयंले विशेष ध्यान दिनुपर्छ ।


Post a Comment

 
Top