0
गोल्डेन न्यूज संवाददाता
पुस्तकालय स्थापनामा महत्वपूर्ण योगदान दिएको भन्दै डा. भरत खत्रीलाई सम्मान गरिएको छ । नवौं पुस्तकालय दिवसको अवसरमा बुधवार पोखरामा आयोजित एक कार्यक्रमका बीच डा. खत्रीलाई सम्मान गरिएको हो । जिल्ला पुस्तकालय ब्यवस्थापन समिति कास्कीले आयोजना गरेको कार्यक्रममा उनलाई सम्मानपत्र र दोसल्ला सहित सम्मान गरियो । बरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ खत्रीले पोखराको मालेपाटनमा सहिद स्मृत पुस्तकालय स्थापनाका लागि दुई लाख रुपैयाँ प्रदान गरेका थिए । डा. विश्व श्रेष्ठको संयोजकत्वमा गठित छनौट समितिको सिफारिशको आधारमा खत्रीलाई सम्मान गरिएको हो । त्यस्तै पुस्तकालय कपिलवस्तुको तौलिहवामा रहेको नेपालकै पुरानो पशुपति प्रथा पुस्तकालयलाई पनि सम्मान गरिएको छ । विसं १९९३ मा स्थापित पुस्तकालयले खेलेको महत्वपूर्ण भूमिकाको कदर गर्दै सम्मान पत्र र दोसल्ला सहित सम्मान प्रदान गरिएको हो । पुस्तकालय ब्यवस्थापन समितिका अध्यक्ष राजेश कुमार पाण्डेले सम्मानपत्र ग्रहण गरे ।
कार्यक्रममा पुस्तकालय दिवसकै अवसरमा आयोजित कास्की जिल्ला माध्यमिक विद्यालय स्तरीय कविता प्रतियोगिताका विजेतालाई पनि पुरस्कार प्रदान गरियो । प्रतियोगितामा पहिलो हुने मदरल्याण्ड उच्च मविकी प्रकृति सुवेदीले पाँच हजार, दोस्रो हुने सैनिक आवासीय माविका अविरल भट्टराईले तीन हजार र तेस्रो हुने गण्डकी आवासीय माविका उत्तम मिश्र तथा वाराही माविकी सम्झना राईले जनही दुई हजार रुपैयाँ नगद सहित सम्मानपत्र प्राप्त गरे ।सम्मानित तथा पुरस्कृत ब्यक्तिलाई प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मैनाली, स्थानीय विकास अधिकारी दामोदर भण्डारी, जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्मा लगायतले सम्मानपत्र एबं पुरस्कार प्रदान गरेका थिए । कविता प्रतियोगितामा ३५ जना प्रतियोगी सहभागी थिए ।



Post a Comment

 
Top