0
गोल्डेन न्यूज संवाददाता
पोखरा उद्योग वाणिज्य संघको आगामी ३१औं महाधिवेशन नजिकिंदै गर्दा उम्मेदवारहरुले घरदैलो अभियान तथा व्यवसायी भेटघाटलाई तीव्र पारेका छन् । यसले पोखराको चुनावी रौनक बढेर गएको छ । संघका उम्मेदवारहरुले घाम–पानी, बिहान–बेलुका केही नभनि भेटघाट गर्दै आफ्नो पक्षमा मत दिन उद्योगी तथा व्यवसायीलाई आग्रह गरेका छन् । संघको नेतृत्व लिन अध्यक्ष पदमा उम्मेदवारी दिएका नारायण कोइराला, ईश्वर कर्माचार्य, हीरा भट्टराई र धनीराम बराल आफ्नो मत माग्न निकै सक्रिय भएर लागेका छन् । अध्यक्ष पदमा उम्मेदवारी दिएका देव क्षेत्री र विश्वशंकर पालिखेले आ–आफ्ना प्यानल बनाएर अघि बढेको भएपनि अध्यक्ष पदका अन्य उम्मेदवार कोइराला, कर्माचार्य, भट्टराई र बराल एकल रुपमै मत माग्न सक्रिय भएका हुन् । उनीहरु पोखराका विभिन्न स्थानका व्यवसायी तथा उद्योगीहरुसंग भेटघाट गरिरहेका छन् । संघको पुरुष उम्मेदवारहरु संगै विभिन्न पदमा उम्मेदवारी दिएका महिला उम्मेदवारहरु पनि सक्रिय भएर मत मागिरहेका छन्। संघको महाविधेशनमा १० जना महिला उद्योगी तथा व्यवसायीहरुले विभिन्न पदमा उम्मेदवारी दिएका छन् । संघको अध्यक्ष पदमा हिरा भट्टराई, उद्योगतर्फको उम्मेदवार सीता गुरुङ, वाणिज्य तर्फको उम्मेदवार विन्दु कोइराला सुवेदी, महासचिवमा लक्ष्मी पाण्डेका साथै सदस्यमा सीता बराल, गीता तिवारी, पवित्रादेवी गुरुङ, गोमा ढकाल, चिनु गुरुङ, कुमारी मुना बाँस्तोलाले उम्मेदवारी दिएका छन् । महिला उम्मेदवारहरुमध्ये उद्योगतर्फ उपाध्यक्ष पदका उम्मेदवार सीता गुरुङ, महसचिव पदकी लक्ष्मी पाण्डे र सदस्य पदका उम्मेदवारहरु कुमारी मुना बाँस्तोला, गोमा ढकाल र चिनु गुरुङ अध्यक्ष पदका उम्मेदवार देव क्षेत्री प्यानलमा लागेका छन् भने सदस्य पदका उम्मेदवारहरु गिता तिवारी, पवित्रादेवी गुरुङ र सीता बराल विश्वशंकर पालिखेको प्यानलमा लागेका छन् । महिला अध्यक्ष भएर पनि हीरा भट्टराईले महिलाकै प्यानल बनाउन सकिनन् । भट्टराईका साथै वाणिज्यतर्फ उपाध्यक्ष पदका उम्मेदवार विन्दु कोइराला सुवेदी पनि कुनै प्यानलमा नअटी एक्लै मत माग्न सक्रिय छन् ।
 
यसैबीच अध्यक्ष पदमा उम्मेदवारी दिएकी हिरा भट्राईले महिलाहरु पनि निजी क्षेत्रमा नेतृत्व तहमा पुग्न सक्ने भन्दै आँफू संघमा प्रवेश गर्दा महिलाको संख्या ६० मात्र रहेको तर अहिले यो संख्या झण्डै साढे ४ सय नाघेको बताइन । रेडियो जननीले आयोजना गरेको एक कार्यक्रममा उनले महिला सदस्यता बढाउन निकै चुनौतीपूर्ण रहेको भन्दै आफूले संघमा लामो समय अनुभव संगाल्ने अवसर पाएकाले अब नेतृत्व सम्हाल्ने बेला भएको बताइन्। देशैभरि महिलाहरुको माहौल आइरहेको बेला पोखरामा पनि महिलाहरुलाई अगाडि ल्याई पोखरामा अर्को इतिहाँसको शुरुवात गर्नुपर्नेमा उनले जोड दिइन् । संघमा वाणिज्यतर्फका उपाध्यक्ष पदका उम्मेदवार विन्दु कोइराला सुवेदीले  संघमा आफ्नो छैठौँ कार्यकालको उम्मेदवारी रहेको जानकारी भन्दै विधान संशोधन पछि सबैका लागि ढोका खुलेको बताइन् । विधान संशोधन पछि आएको परिवर्तनलाई सामना गर्दै सफलता हाँसिल गर्ने समय आएको उनको भनाई थियो । उनले आफूले पोखरा उद्योग वाणिज्य संघमा प्रवेश गर्दाको क्षण भन्दा अहिले महिलालाई हेर्ने दृष्टिकोणमा समेत परिवर्तन भएको भन्दै आफू जुनसुकै पार्टी, आस्थामा रहेपनि महिलाहरुका एजेण्डाहरु साझा हुनुपर्ने पक्षमा आफू रहेको बताइन । यसैगरी महासचिव पदका उम्मेदवार लक्ष्मी क्षेत्री पाण्डेले  आफ्नो उम्मेदवारी उद्योगी व्यवासायीहरुको हक हितका लागि भएको बताइन । उनले आफूले घरदैलो गर्ने क्रममा उद्योगी व्यवसायीहरुका धेरै गुनासो सुनेको र आफू विजयी भएपछि ती सबै गुनासोको  सम्वोधन गर्न अग्रसर रहने बताइन् । संघको कार्यसमिति सदस्य पदका उम्मेदवार सीता बरालले महिलाहरुले हरेका ठाउँमा नेतृत्व गरिरहँदा धेरै चुनौतीहरुको सामना गर्नुपरेको बताइन । सदस्य पदकी अर्का उम्मेदवार गीता तिवारीले महिलाहरु नेतृत्व तहमा पुग्न नसकेको हो कि भन्ने आभाष भइरहँदा आशन्न निर्वाचनमा अध्यक्ष पददेखि सदस्यसम्म १० जना महिलाको उम्मेदवारी पर्नु गौरवको कुरा भएको बताइन् । सदस्य पदका अर्का उम्मेदवार पवित्रादेवी गुरुङले पोखरा उद्योग वाणिज्य संघ महिला मैत्री बन्नेमा आशावादी रहेको बताउँदै महिला उम्मेदवार गराउन आग्रह गरिन् ।





Post a Comment

 
Top