0
नेपाली अपभ्रंश भाषा हो। यो भाषा अपभ्रंशको पनि अपभ्रंश हो। शौरसेनी, मागधी, महाराष्ट्री प्राकृत भाषालाई संस्कृत भाषाबाट अपभ्रशित भाषा ठान्दा खस अपभ्रंशबाट निःसृत नेपालीलाई अपभ्रंशबाट पनि अपभ्रंश भएको भाषा मान्नुपर्छ। अमरकोशकार अमर सिंहका भनाइमा अपभ्रंश शब्दको अर्थ अशुद्ध शब्द हुन्छ, अशुद्ध अर्थात् संस्कार नभएको शब्द। कोशकारका समयमा संस्कार भएको शब्द त संस्कृत मात्र थियो। त्यसैले कोश अन्तर्गत शब्दवर्गको तेस्रो पङ्तिमा व्याकरण शास्त्रले संस्कार गरेर शुद्ध बनाइएको पदलाई शब्द भनिएको छ। असंस्कारित भाषा भएकाले कवि र विद्वान्हरुबाट संस्कृत झैँ अपभ्रंश भाषाहरु रुचिकर भएनन्। रुचिकर नहुँदा संस्कृतमा झैँ वाङ्मयको विकास भएन। अपभ्रंश भाषाहरु तिरस्कारयोग्य ठानिए। आजभन्दा दूई सय वर्षपूर्व नेपाली भाषामा कलम चलाउने आदिकवि भानुभक्त आचार्य समेत यस तिरस्कारबाट अछुतो रहेनन्। 
भाषाका शब्दहरु संस्कारित हुन त्यसको व्याकरण र वर्ण विन्यास व्यवस्था सुदृढ हुनु पर्छ। सायद यस्तै उद्देश्यले वीरेन्द्र केशरी अर्यालबाट वि.सं.१९५९ तिर नेपाली भाषामा व्याकरण लेखनको थालनी भयो।  तर हेमराज पाण्डे, विश्वमणि दीक्षित, सोमानाथ शर्मा र नेपाली भाषा प्रकाशिनी समितिले क्रमशः चन्द्रिका, गोरखा व्याकरण बोध, मध्य चन्द्रिका र नेपाली कसरी शुद्ध लेख्ने? १९९२ जस्ता कृति लेखेर नेपाली मानक व्याकरण तथा वर्ण विन्यासको थालनी गरे। यस्तै वर्ण विन्यासको प्रमुखलाई आधार मानेर वि.सं.१९९८ तिर नेपाली बगली कोश लेखियो। नेपाली  भाषामा वर्ण विन्यास र बगली कोश लेखेकै समयतिर वि.सं. १९९८ को शारदा पत्रिकाले सम्पादकीयमा प्रचलित वर्ण विन्यासको बारेमा विमति जनाएको थियो। शिव रेग्मी सम्पादित शारदाका सम्पादकीय
(२०५८) भन्ने कृतिको पृष्ट नं १६३ मा अरू भाषाबाट आएका शब्द नेपाली उच्चारण अनुसार लेख्नु पर्छ किनभने त्यो शब्द सम्बन्धित भाषाको स्वाभाविक नियममा रहन्न भनिएको छ।
नेपाली भाषाका शब्दलाई वर्ण विन्यासबाट संस्कारित बनाउन खोज्दा नै यसले मौलिक नेपाली उच्चारणलाई उपेक्षा गरेको आबाज शारदा पत्रिकाले उठायो। मौलिक नेपाली उच्चारणमा वर्ण विन्यास हुनु पर्ने त्यस वेलाको यो गौण धार विभिन्न भाषिक आन्दोलन पार गर्दै वि.सं.२०३४ को नेपाली भाषा अधिगोष्ठी र नेपाली बृहत् शब्दकोश—२०४० मा पुग्दा वर्ण विन्यासको प्रमुख धार बन्न पुगेको देखिन्छ। यसलाई नेपाली वर्ण विन्यासमा तद्भवीकरणको अभियानका नामले चिन्न सकिन्छ। यस अभियानले अब पठन पाठनमा प्रवेश गरि सकेको छ भने विविध प्रकाशनमा आंशिक र पूर्ण प्रभाव पार्दै गएको देखिन्छ।
संस्कृत भाषामा पाणिनिको व्याकरण र शिक्षाशास्त्रले व्याकरण मात्र होइन, वर्ण विन्यासको पनि संस्कार गरेको थियो। तर उल्लिखित नेपाली व्याकरण र नेपाली कसरी शुद्ध लेख्ने ? हरुले नेपाली वर्ण विन्यासका क्षेत्रमा पाणिनिले झैँ शब्दलाई संस्कार गर्न सकेनन्। संस्कार गर्दा नेपाली उच्चारणलाई साथ दिन नसकेको कुरा शारदा पत्रिकाको सम्पादकीयले बहसमा ल्याएको देखियो। अर्कोतर्फ व्याकरणमा समेत देखिने गरी अष्टाध्यायी वा शिक्षाशास्त्र लेखिएको त्यसको प्रभावमा परी नेपालीको वर्ण विन्यासलाई पनि व्याकरण नै ठानियो। उल्लेखै गरेर यसलाई नेपाली कसरी शुद्ध लेख्ने ? ले पनि व्याकरण नै ठान्यो। नेपाली भाषाको व्याकरणिक शुद्धता वर्ण विन्यासभित्र खोजियो। शुद्धताका लागि सबाईदेखि वर्ण विन्यासका पुस्तकसम्म लेखिए, वर्ण विन्यासलाई अनावश्यक महत्व दिइयो। तसर्थ भाषा व्याकरणका विविध पक्ष, वाक्य गठन, शब्द वा पदावली क्रम, पदक्रम, विषयगत प्रस्तुति, अनुच्छेदहरुसँग प्रस्तुतिको समन्वय, अन्त्य, वाक्यमा सार्थक शब्द प्रयोग जस्ता कुराहरु ओझेलमा परे। न व्याकरण र न मौलिक नेपाली उच्चारणबाट नेपाली वर्ण विन्यास संस्कारित भयो। भाषा सबैको साझा हुन्छ। साझा भएकाले भाषाको वर्ण विन्यासका बारेमा सबैलाई लेख्ने र बोल्ने अधिकार हुन्छ। हाम्रा पुष्कर शमशेरको आफ्नो भाषा त थिएन अङ्ग्रेजी तर उनले अक्फोर्ड अङ्गे्रजी शब्दकोशमा २५ जति शब्दको अशुद्धि फेला पार्न सके भने नेपाली वक्ता र लेखकले नेपाली वर्ण विन्यासका बारेमा लेख्न र बोल्न नसक्ने कुरै भएन। किनभने यसमा पाणिनिको जस्तो अकाट्य व्याकरण छैन। यसका शब्दहरु संस्कारित भइ सकेका छैनन्, अझै पनि अमरकोशले भने झैँ असंस्कारित अवस्थामा छ। त्यस कारण धेरै मानिस यस बारेमा बोल्न र लेख्न सक्छन्। बोल्नु, लेख्नु र आफ्नो तर्क प्रस्तुत गर्नु स्वाभाविक छ। स्वाभाविकता र साझाका नाममा पत्रकार, शिक्षाविद्, सामान्य पाठक, साहित्यकार अङ्ग्रेजी शिक्षक र लेखकहरु नेपाली भाषाको वर्ण विन्याससँग जिस्किन थालेको देखियो। सबै नेपाली भाषाविद्, व्याकरणविद्, शब्दकोशविद् र वर्ण विन्यासविद् भएर देखिए। नेपाली शब्दका वर्ण विन्यास संस्कारित भइ नसकेकाले जुनसुकै क्षेत्रबाट भाषाविद् देखिनु अनौठो भएन। सबै भाषाविद् देखिन थाल्यौँ भने नेपाली व्याकरण, नेपाली शब्दकोश, नेपाली वर्ण विन्यास र तिनकै शिक्षण प्रशिक्षण तथा अनुसन्धानमा जीवन बिताउने भाषाविद्हरु त ओझेलमा पर्छन्। वर्ण विन्यास मानकीकरणको इतिहास खोतल्नेहरु त यो भाषाविद्हरुको जङ्गलमा त्यसै हराउँछन्।
 
नेपालमा नयाँ शिक्षा पद्धति लागु भएपछि विद्यलय र विश्व विद्लय शिक्षामा विषय समितिहरु बने। समितिमा रहेर शिक्षकहरुले शिक्षण अनुभवका आधारमा पाठ्यक्रम समेत बनाउने अधिकार पाए। अधिकार पाएकाले नेपाली विषयका शिक्षकले समिति मर्फत् अनिवार्य नेपालीको पाठ्यक्रममा वर्ण विन्यासका नियमका परिवर्तन गरिए। विश्व विद्यालयतर्फ वि.सं.२०३४ मा नेपाली विषयका शिक्षकहरुको अधिगोष्ठीलाई यस अर्थमा लिइन्छ। शिक्षकहरुको अनुभवका आधारमा नेपाली भाषाका तत्सम शब्दलाई छोडेर अन्य स्रोतबाट आएका नेपाली शब्दका नेपाली वर्ण विन्यासलाई तद्भवीकरण गरियो। शिक्षा मन्त्रलायले पनि शिक्षक र उनीहरुका शिक्षण प्रशिक्षणका अनुभवका आधारमा वर्ण विन्यासलाई क्रमशः तद्भवीकरण गर्दै लगेको हुनुपर्छ। अहिलेको तद्भवीकृत नेपाली वर्ण विन्यासले यस्तो कानुनी इतिहास बोकोको छ। कि पाठ्यक्रम बनाउने समितिमा रहेको अधिकार हटाउनु पर्रुयो कि विश्व विद्यालय र विद्यालय शिक्षाका समितिहरुलाई खारेज गर्नु पर्रुयो। कानुनी रूपमा पाठ्यक्रम निर्माण र परिमार्जन गर्ने अधिकार भएका समिति भइन्जेल शिक्षण प्रशिक्षणमा लागु हुने अनिवार्य नेपाली पाठ्यक्रममा तद्भवीकृत नेपाली वर्ण विन्यास लागु हुने भए। वर्तमान तद्भवीकृत वर्ण विन्यासलाई प्रोत्साहन गर्नेहरुमा नेपाल प्रज्ञा प्रतिष्ठान, विश्व विद्यालयको अनिवार्य नेपाली विषय समिति र शिक्षा मन्त्रालायको पाठ्यक्रम विकास केन्द्र देखिएका छन्। पाठ्यक्रम विकास केन्द्रले वि.सं..२०५६।०५७ तिरै पाठ्य पुस्तकमा शहीदलाई सहिद र कानूनलाई कानुन लेखेर आगन्तुक शब्दमा ह्रस्व र स मुद्रण गरेको छ। यो पूर्व्शिक्षामन्त्रीले गरेको निर्णय थिएन।  यो शैली पुस्तिका प्रकाशन गर्दै वर्ण विन्यासलाई तद्भवीकृत गर्ने प्रयास थियो। अहिले आफैँ समेत विश्व विद्यालय र पाविकेले गरेका मुद्रणमा संलग्न हुने र पाठ्यक्रम पनि लागु गर्ने अनि शिक्षामन्त्रीबाट अपेक्षा भन्दै उनलाई गैरजिम्मेबार बनाउन खोजिएको छ। जो होस्, नेपाली वर्ण विन्यासमा तद्भवीकरणले शब्द संस्कार गर्ने काम प्रारम्भ भएको ४० वर्ष बितेको छ। तद्भवीकरणको निर्णय गर्ने विद्वत् भेला, विषय समिति र भाषा गोष्ठी विपरीत नेपाली पत्रकार, पाठक, लेखक र शिक्षाविद् समेत भाषाविद् बनेर नेपाली वर्ण विन्याससँग जिस्कि रहेको मौका छोपी पूर्व्शिक्षामन्त्री दीनानाथ शर्मा र विश्व विद्यालयका गुरुहरु पनि गैरजिम्मेबार बन्नु प्राज्ञिक जगत्मा हाँडी गाउँको जात्रा भएन र?
(लेखक ः पृथ्वीनारायण क्यापम्पस पोखराका प्राध्पापक हुन् ।)



Post a Comment

 
Top