0
गोल्डेन न्यूज संवाददाता
यसवर्षको डागर स्मृति पुरस्कार सामाजिक अभियन्ता हरिश्चन्द्र शर्मालाई प्रदान गर्ने भएको छ। २०१६ मा वीरगञ्जमा जन्मिएका शर्मा विगत ३९ वर्षदेखि पोखरामा बसोबास गर्दै आएका छन्। डागर स्र्मति प्रतिष्ठान नेपालले समाजसेवामा उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै पुरस्कार प्रदान गर्न लागेको हो। डागर स्मृति प्रतिष्ठान नेपालले केही वर्षदेखि निरन्तर  पुरस्कार वितरण गर्दै आएको छ । प्रतिष्ठानका सदस्य दीपेन्द्र श्रेष्ठको संयोजकत्वमा गठित प्रतिभा छनौट समितिले शर्मालाई पुरस्कृत गर्ने निर्णय गरेको हो । छनौट समितिको उक्त निर्णयलाई प्रतिष्ठानको कार्यसमिति बैठकले कार्यान्वयन गरेको थियो । २०५८ सालमा असहय कल्याणकारी संस्था स्थापना गरेर व्यवहारिसे व्यक्तिहरुलाई आर्थिक, भौतिक र नैतिक सहयोग सहयोग गर्दै आएका शर्माले २०६२ सालमा विश्व शान्तिको कामना गर्दै पोखरा वृद्धाश्रमबाट शान्ति दीप अभियान सुरु गरेका थिए ।
 
उनको शान्ति दीप अभियान अझै पनि घरमा जारी रहेको छ । यस्तै शर्माले २०६५ सालमा शान्ति दीप नेत्रदान अभियान सुरु गरेर हाल उक्त अभियानले नवौं चरण पार गरिसकेको छ । शर्माले चलाएको मानव कल्याणकारी कार्य शान्तिदीप आकस्मिक रक्तदान अभियानले उनलाई सबैभन्दा बढी अभियन्ताकै रुपमा चिनाउन सफल भएको छ । उक्त अभियान अन्तर्गत २६७ जना सदस्यले स्वयमसेवी रुपमा काम गर्दै आएको छ । २०६५ सालमा आफ्नी आमा त्रिवेणी देवीको स्मृतिमा त्रिवेणी देवी स्मृति अन्तिम कोष स्थापना गरेर पोखरा वृद्धाश्रममा निधन भएका वृद्धवृद्धाको अन्तिम संस्कार गर्नका लागि उक्त कोषले सहयोग गर्दै आएको छ । विजयादशमी दुर्गापूजा समितिको कोषाध्यक्ष तथा सचिव हुँदै विभिन्न भूमिका निर्वाह गरेका शर्मालाई नेपाल रेडक्रस सोसाइटी, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, तिलगंगा आँखा अस्पताललगायतका संस्थाले विभिन्न पुरस्कारबाट विभूषित गरिसकेका छन्। स्मरण रहोस् शर्माले राजन प्राशर डागरको अन्तिम संस्कारमा दागबत्ति दिएका थिए ।
 
प्रतिष्ठानले राजन प्राशर डागरको वार्षिक पुण्यतिथि ऋषि पञ्चमीका दिन एक जना समाज तथा साहित्यसेवीलाई पुरस्कृत गर्दै आएको छ । यस अगाडि उक्त पुरस्कारबाट आरएम डंगोल, विश्वमोहन गौचन, चन्द्रा गुरुङ, रामबहादुर पौडेल, गोविन्दराज पहारी र भीम रानाभाट सम्मानित भइसकेका छन् । यस्तै प्रतिष्ठानले यस अगाडि पत्रकार महासंघ कास्कीको भवन निर्माणार्थ २५ हजार आर्थिक सहयोग प्रदान गरेको थियो भने विपन्न विद्यार्थीहरुका लागि छात्रवृत्ति वितरण गर्दै आएको छ ।



Post a Comment

 
Top