0
रविचन्द्र भट्टराईको उपन्यास ‘तृष्णा’ले विदेशिने युवाले भोगेका पीडादायी यथार्थ तस्वीर प्रस्तुत गरेको छ। आफ्नै देशमा लगानी गरी मेहनत गरेर कमाउनुको सट्टा आजका युवा–युवती कसरी दशौं लाख रुपैयाँ दलाललाई खुवाई थ्री डी अर्थात कठिन, फोहोरी र खतरनाक कामको खोजीमा विदेशतिर हानिएर अप्ठेरोमा परेका छन् ? पुस्तकले उदाहरण साथ सविस्तार वर्णन गरेको छ। विदेशी भूमि स्वर्णभूमि भएको विश्वासमा ज्यानको बाजी थापेर हाम्रा युवाहरु आखिर कहाँ पुग्छन् ? तिनले भोग्नु परेका बाधा अबरोधलाई उपन्यासले जीवन्त वर्णन गरेको छ। विदेशी भूमिमा सजिलै विदेशी मुद्रा कमाउन सकिने अन्धविश्वास नेपालका गाउँगाउँमा जरा गाडेर बसेको छ। त्यसैले गाउँमै लगानी गरी काम गर्न चाहनेलाई थोरै ऋण पनि पत्याइँदैन तर वैदेशिक रोजगारीमा जान चाहनेलाई ऋण दिनेको कुनै कमी हुँदैन। उसले चाहे भन्दा बढी ऋण दिन साहु पनि तयार हुने गर्छन्। नेपाली युवाहरुको रोजाइमा रहेको युरोपमा मिठो सपना वोकेर अवैधानिक रुपमा विदेशिन वाध्य उपन्यासका पात्र अर्जुनकै शेरोफेरोमा उपन्यास घुमेको छ। उपन्यासको कथावस्तु नौलो छैन। पढ्दै जाँदा यो उपन्यास नभएर कतै आत्म वृतान्त पो हो कि भन्ने भान समेत हुन्छ। यद्यपि उपन्यासको कथावस्तुले कौतुहलता जगाउँदै जान्छ र शुरुदेखि अन्त्यसम्म पाठकलाई तानिरहन्छ। सरल, सहज भाषामा लेखिएको यो उपन्यासको कथा सलल बगेको छ। अर्जुन, सवी, प्रिति र समिर जस्ता पात्रहरु उपन्यासमा जीवन्त र यथार्थ मात्र लाग्दैनन्, प्रत्येक पाठकले यी पात्रहरुलाई आफ्ना आफन्तका रुपमा पाउनेछन्। यी पात्रहरुले विदेशी भूमिमा पाइला पाइलामा बेहोरेका अप्ठ्यारा र सामना गरेका डरलाग्दा कथाहरुले आंग नै जिरिंग हुनेछ। समग्रमा तृष्णाले जसरी पनि विदेश पुग्ने नेपाली युवाहरुको तृष्णालाई छताछुल्ल पारिदिएको छ। त्यसैले यो उपन्यास रोचक मात्र होइन घोचक र पठनीय छ। वियोगान्त कथामा रचिएको उपन्यासले विदेशिने सपना बोकेका युवालाई यथार्थमा गतिलो पाठ सिकाएको छ। पैसा त ठूलो हो तर जीवन नै रहेन भने त्यसको के काम भन्ने जवर्जस्त सवाल विदेशजान चर्को व्याजमा ऋण लिएका युवाहरु सामुन्ने गम्भीर रुपमा तेस्र्याएको छ। त्यसैले विदेश जान खुट्टो उचालिसकेका युवाहरुमा उपन्यासले भोलि विदेशमा विचल्ली हुनबाट बच्न मात्र होइन, दलाललाई खुवाएको पैसाले नेपालमै उद्यम गरेर विदेशमा भन्दा बढी कमाउन सकिने चेतना भर्नेछ। भौंतारिइरहेका लाखौंलाख नेपालीलाई सचेत गराउने उद्देश्यले सरल र बोधगम्य भाषामा लेखिएको अक्षर क्रेएसनद्वारा प्रकाशित तृष्णाले नेपाली आख्यान जगतमा सशक्त प्रवेश गरेको छ। आम मान्छेहरुलाई लक्षित गरी सूसुचित गराउने अभिप्रायले लेखिएको उपन्यास विदेश जाने मात्र होइन जान नचाहनेहरुका लागि पनि उत्तिकै पठनीय छ।





Post a Comment

 
Top