0
नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारत र चीनसँगको नेपालको सम्बन्धलाई समान दूरीमा राखेर नेपालको आर्थिक समृद्धि र दिगो विकास गर्ने योजनालाई साकार रुप दिन दुई जना उपप्रधानमन्त्रीलाई चीन र भारतमा नेपाल सरकारको विशेष दूतका रुपमा खटाउँदै छन् । यससम्बन्धमा परराष्ट्र मन्त्रालयले चीन र भारतका राजदूतहरुसित गृहकार्य थालिसकेको छ । यो आफैँमा सुखद् सुरूवात हो । यस्तो सद्भावना भ्रमणले छिमेकीहरुसँगको सम्बन्धलाई नजिकबाट नियालेर हेर्न थप मद्दत पु¥याउने विश्वास कूटनीतिक क्षेत्रमा गरिएको छ । संवादले एकापसमा गुम्सिएर रहेका भ्रमहरु चिर्न मद्दत पु¥याउने गर्दछ । नेपालले केही महिनाअघि भोगेको भारतीय नाकाबन्दी दुई देशबीचको असमझदारीकै परिणाम थियो भन्ने कुरा पछि आएर दुवै देशका सरकारले महसुस गरेका थिए । त्यस्तो अप्रिय र दुःखद घटनाको पुनरावृत्ति यौटा छिमेकीले अर्को छिमेकीलाई कदापि गर्नुहुँदैन भन्ने नेपाल सरकार र नेपाली जनताको अभीष्ट र मान्यता पनि हो । अर्कोपट्टि ठूलो भूगोल र मित्रताको ठूलो दिल लिएर बसेको मित्रराष्ट्र चीन सदैव नेपालको शुभचिन्तक र सहयोगीका रुपमा चिरकालदेखि परिचित रहिआएको छ । देशहरुबीचको सम्बन्ध समय–समयमा पुनरावलोकन र आवश्यक परेमा नवीकरण गर्न पनि सम्बन्धित देशका सरकारहरु तयार रहनुपर्छ । यी दुवै देश हामीभन्दा आर्थिक र औद्योगिक विकासमा सम्पन्न भएका कारण उनीहरुसँग हामीले यस्तो भ्रमणलाई सहयोग माग्ने कुरामा मात्र सीमित नराखी विज्ञान, प्रविधि र जलस्रोतका क्षेत्रमा उनीहरुले गरेको प्रगतिबाट केही सिक्ने अवसरका रुपमा उपयोग गर्न सकियो भने त्यो बढी उपलब्धिमूलक सावित हुन सक्नेछ । हामी गरिब भएता पनि अब बिस्तारै मगन्ते संस्कृतिको अन्त्य गरेर भावी पुस्तालाई आत्मनिर्भर औद्योगिक राष्ट्र नेपाल उपहार दिनेतर्फ हाम्रा प्रयासहरु केन्द्रित हुनुपर्दछ । प्राप्त जानकारीअनुसार यी दुवै उपप्रधानमन्त्रीले सम्बन्धित देशमा उच्चस्तरको भेट पाउने छन् । यस कार्यका लागि नेपालको परराष्ट्र मन्त्रालयले भ्रमणको तयारी लगभग पूरा गरेको छ । नेपालमा सरकार परिवर्तन भएपछिको सन्दर्भमा चिनियाँ राष्ट्रपतिको प्रस्तावित नेपाल भ्रमणमा कुनै असर पर्न नदिन नेपाल सरकार सचेत र सतर्क रहेको पाइन्छ । सरकार परिवर्तन हुँदैमा विशिष्ट पाहुनाहरुको भ्रमणमा कुनै असर पर्ने छैन भन्ने तथ्यलाई व्यवहारमा पुष्टि गर्न पनि नेपाल सरकार आतुर रहेको पाइन्छ । भौगोलिक हिसाबले सानो भए पनि दुई ढुंगाबीचको तरूलका रुपमा स्वतन्त्र अस्तित्व, सार्वभौमसत्तासम्पन्न र स्वाधीन मुलुक नेपाल आफूलाई अरुभन्दा सानो ठानेर हीनताबोध गर्दैन । किनभने, विश्वका सबै राष्ट्रहरु एकअर्कासित समान हैसियत राख्दछन् भन्ने सार्वजनिक तथ्य सबैले बुझेका छन् । प्रस्तावित नेपाल सरकारका दुवै विशेष दूतहरुको भ्रमण सम्भवतः भदौको पहिलो सातासम्म हुनेछ । नेपाल सरकारको तर्फबाट हुन लागेको यो असल सुरूवातलाई नेपाली कूटनीतिज्ञ र राजनीतिज्ञहरुले सकारात्मक रुपमा टिप्पणी गर्दै आएका छन् यसतर्फपनि सरकारको ध्यान जान जरुरी छ ।


Post a Comment

 
Top