0
सशस्त्र क्रान्ति गरि शान्ति प्रक्रियामा आएका प्रचण्ड ८ वर्षपछि पुनश्च सरकारको नेतृत्व गर्न श्रावण २० गते प्रधानमन्त्री बने । राज्यसत्ताको खेलमा उनले जति प्राप्त  गरे त्यसको धेरै गुणा गुमाउनु प¥यो । जन आकाँक्षा केही पूरा हुन सकेन । द्वन्द्व विस्थापनमा लाग्दा मधेश आन्दोलित भयो । नेपाली काँग्रेस, एमाले र माओवादी केन्द्रले शान्ति प्रक्रियाका प्रयासमा मधेशलाई आन्दोलित नै पारे । तीनै पार्टी संयुक्त रूपले मधेशको बढ्दो कदमलाई रोक्ने प्रयासमा  संविधान सभाको सम्पूर्ण समय खर्चिए । संविधान घोषणा भयो । मधेश आन्दोलित नै रह्यो । मधेशलाई उसको माँगबाट पछाडि धकेल्ने कार्यमा सबै दलहरूसामूहिक रूपमा लागि रहे । प्रचण्ड, बिचराको अवस्थामा ल्याई पु¥याउँदा निस्तेज भई सकेका थिए । नेपाली काँग्रेस र एमालेको पछि पछि डुल्नुबाहेक प्रचण्डको लागि अरू कुनै बाटो पनि थिएन । राज्यसत्ताको आमूल परिवर्तन गर्न आएका नेता आफै रूपान्तरित हुँदै गए । जनतामा असन्तोष फैलियो र नवीन प्रकारका द्वन्द्व सतहमा देखियो ।
नैतिकताको हिसावले ०६५ सालमा सत्ता छोड्दा, नैतिकहीन राजनीतिमा पद छोडेको पछुतो मानेको प्रचण्ड ८ साल पछि सत्तामा उक्लेको छ । यो ८ वर्षमा राज्यसत्ता तथा यसलाई चलाई रहेको दल नेपाली काँग्रेस र एमालेलाई प्रचण्डले नजिकबाट हेर्न पाए । अब एमाले पार्टी नै छैन भन्ने प्रचण्ड पछि एमालेलाई काँधमा बोकेरै वैतरणी पार गराए । यथास्थितिवादी र प्रगतिशील शक्तिहरूबीच रहेको राजनीतिक भीडन्तको अवस्थामा प्रचण्ड अन्ततः यथास्थितिको खेमामा नै देखा परे । सिंगै पार्टी पंक्तिमा असन्तुष्टता फैलि रहेको थियो । प्रचण्ड चाहेर पनि असन्तुष्ट खेमालाई चित्त बुझाउन सकि रहेको थिएन र पार्टी विभाजन भयो । यथास्थितिलाई स्वीकार गर्न नसक्नेहरू पार्टीबाहिर गए । पार्टी विभाजनको पीडा भोग्नुबाहेक प्रचण्डसंग अरू कुनै उपाय थिएन । आन्दोलन गर्न जति सजिलो राज्य संचालन रहेनछ भन्ने कुरा प्रचण्ड राम्ररी बुझे र आफूलाई यथास्थितिमा नै उभ्याए । यथास्थितिवादी शक्तिकै कब्जामा रहेको नेपालको राजनीतिलाई अग्रगमनको दिशामा उन्मुख हुन नदिने खेलका एउटा अनाडी खेलाडी ८ वर्षमा कति परिपक्व भए, आगामी दिनले निर्धारण गर्नेछ ।
ओली सरकारको पालामा बिग्रेको राजनीतिक अवस्थालाई सुधारेर मधेशलाई सम्बोधन गर्ने प्रतिबद्धताका साथ सत्ता आरोहण गर्ने प्रचण्ड देशमा रहेका समस्यालाई सहज अवतरण गराउन सक्यो भने प्रचण्डको राजनीतिक कुशलता ठहरिनेछ । गर्न चाह्यो भने ९ महिनाको कार्यकाल प्रर्याप्त नै हो । तर विभिन्न खींचातानीका बीच परेर शक्ति सन्तुलन मिलाउन नै कठीन रहेको अवस्थामा के गर्ने, के नगर्नेको स्थिति आउन सक्दछ । प्रतिपक्षमा बसेकाहरूको असहयोगले पाईला पाईलामा अवरोध नआउला भन्न सकिन्न । तर पनि अर्थहीन अवसरमा समय खेर फाल्नुभन्दा मधेशलाई विश्वासमा लिएर उसको मुद्दा सम्बोधन गर्नु प्रचण्डको अगाडि अहम सवाल तेर्सिएको छ । मधेशलाई सम्बोधन गर्ने बाध्यता पनि छ । देशको आधी जनसंख्या आन्दोलित रहेकोले यसले सबै कार्यलाई अवरूद्ध स्थितिमा राखेको छ । मधेशलाई मधेशीको नाममा रजिष्टे«शन गर्न नचाहने ओली सरकारको संविधान कार्यान्वयनको सपना पनि अधूरो नै रह्यो । भीडन्तको स्थिति सृजना गरेर उखान टुक्कामा नै समय गुमाए । साम्प्रदायिक भिन्नताको ठूलो खाडल खनेर ओली सरकारको पतन भयो । मधेशलाई अपमानको ठूलो घाव लगाएर ओली सरकार मधेशलाई विभाजित गरेर गएको छ । मधेशको मुद्दा सम्बोधनमार्फत नै परिस्थितिलाई सहज बनाउन सकिन्छ । मधेश मामिलामा बनाईएका जटिल परिस्थितिलाई चिरेर अगाडि बढ्नु चुनौतीपूर्ण रहेपनि दृढ ईच्छा शक्तिको खाँचो छ ।
भारतसंग चिढिएका शक्तिको बुई चढेर ओली सरकारले चीनसंगको अप्राकृतिक सम्बन्ध बनाएर जसरी देशमा द्वन्द्व निम्त्यायो, भारत विरोधी शक्तिले भारतसंग प्रतिशोध लिएर सन्तुष्ट भयो होला, तर राजनीति माहौल बिग्रेर ओली सरकारको पतनको कारण बन्यो स्वयं ओलीलाई पनि थाहा भएन । पतनको बेलाको छटपटाहटले ओलीको असक्षमतालाई सोझै बयान गर्दछ । भारतसंग बिग्रेको मैत्रीपूर्ण सम्बन्धको विश्वसनीयतालाई कायम राख्न प्रचण्डको लागि महत्वपूर्ण दायित्व रहेको छ । ओली सरकारको कार्यकालमा मधेश र भारत दुवै चिढिएको अवस्थामा ओली सरकारको पतन आवश्यक महसूस भएकोले प्रचण्डलाई राजनीतिक अनुकूलता नरहेर पनि राजनीतिक वातावरण उसको पक्षमा गएको छ । काँग्रेस उसको सहयोगी बनेको छ ।
भारतको विश्वासपात्र काँग्रेस रहेपनि ओली सरकार ढाल्न काँग्रेसभन्दा प्रचण्ड उपयुक्त रहेको भारतको बुझाई थियो । प्रचण्डसंग भारतको प्रत्यक्ष सम्बन्ध नरहेको अवस्थामा पनि भारत प्रचण्डको नेतृत्वलाई स्वीकार गरि सहयोग ग¥यो । प्रचण्डका लागि अनुकूल वातावरण बन्नुमा ओलीको मनोमानी ढंगको व्यवहार प्रमुख कारण थियो । ओली आफनो प्रशंसकको ताली ठोकाईबाट भ्रमित हुँदै धरातलीय यथार्थबाट टाढिदै गयो । आफनै ढंगको हिंडाईबाट जनता असन्तुष्ट हुँदै ओली सरकारको पतनको प्रतीक्षा गर्न थाले । आफनो पतनका लागि प्रचण्डको विरोध ओलीलाई अप्रत्याशित लागेको थियो तर त्यो समयको आवश्यकता थियो जसलाई ओलीले बुझनै सकेन ।
राजनीतिक प्रतिकूलताका बावजूद प्रचण्डले आफनो लागि बनाएको ठाउँ अचम्भित पार्ने खालको छ । सबै शक्तिको समर्थन पाएर प्रचण्ड देशको प्रधानमन्त्रीमा बनेको छ । ध्रुवीकृत भएको पार्टी र प्रधानमन्त्रीको पद दुवै प्राप्त गरेको छ प्रचण्डले । असफलताकाबीच पाएको सफलतामा उन्माद आउनु स्वाभाविक हो । तर उन्मादित अवस्थामा धेरै थोक गुमाएको प्रचण्ड अहिले संयमित भई नाम कमाउने वा परम्परावादी बनेर मौज गर्ने दोसाँधमा परेको छ । क्षीण सम्भावनामा आफनो ठाउँ बनाई प्रधानमन्त्री पदमा आसीन प्रचण्ड ओली सरकारमा प्रयोग गरेको राजनीतिक दाव प्रत्यक्ष रूपमा खेल्न सक्दैन । ओलीलाई चित्त बुझाउन हो वा गरेर सन्तुष्ट पार्ने हो संसद भवन मै प्रचण्डले ओलीले गरेको सबै सन्धि सम्झौता कार्यान्वयनमा लाने प्रतिबद्धता जाहेर गरेका थिए । ओली पथ कति सुगम हुन सक्ला प्रचण्डको राजनीतिक यात्रामा नै थाहा हुनेछ । तर परोक्षमा खेल खेल्न जति सजिलो छ प्रत्यक्षमा त्यति नै गाह्रो हुन्छ । आफनै काँधमा रहेको ओली मधेशलाई अपमानित गरि रहँदा प्रचण्ड एक शब्द पनि बोलेन । भेदभावको व्यवहारमा प्रचण्डको पनि सहभागितलाई नकार्न सकिंदैन । आज माईती आएको घोषणा गर्दा प्रफुल्लित प्रचण्ड मधेशप्रति कति सहानुभूति राख्छन् समयले नै देखाउनेछ ।
नेपाल राजनीतिक खेल खेल्ने अड्डा बनेको छ । समस्या जन्माउने र खेल खेल्ने । यहाँ खेल छ खेलाडी पनि छ । यसलाई संचालन गर्ने वादशाह पनि छ । दुई खेलाडी त दायाँ बायाँ नै छ । खेल खेल्न अरू दुई खेलाडी अमेरिका र ईयूको आवश्यकता त्यसै पर्ने भयो । नेपालको राजनैतिक खेलमा यी चारैको सक्रियतामा अनेक खेल खेलिने गर्दछ । कहिले राजा हटाउने खेल त कहिले राजा राख्ने खेल, कहिले माओवादी समस्या चर्काएर अरू शक्तिलाई निस्तेज पार्ने खेल त कहिले माओवादीलाई समाप्त पार्ने खेल, कहिले मधेशलाई अधिकार दिलाउने खेल त कहिले मधेशलाई पछाडि धकेल्ने खेल, कहिले हिन्दू राष्ट्र हटाउने खेल त कहिले हिन्दूराष्ट्र राख्ने खेल । मधेशले आफनो अधिकारको ग्यारेन्टी गर्न आन्दोलनमार्फत संघीयताको माँग गर्दा यो पनि खेलको हिस्सा बन्यो । चारै संचालक खेलाडी नेपालका प्यादामार्फत खेल खेल्दा देश जर्जर भई रहेको कुरा यहाँका राजनितिज्ञ भनाउँदाहरूलाई थाहै छैन । बरू कहिलेकाँही उग्र राष्ट्र जुर्मुराएर आफनै तालको खेल खेल्न आउँछन् ।
खेलै खेलमा नेपाललाई पराश्रित राख्ने खतरनाक खेल पनि छन् । नेपाललाई अपाङ्ग अवस्थामा राख्दा सबैले वैशाखी लिएर आउने अवस्था रहन्छ । सबैले सहानुभूति प्रगट गर्न आफनो उपस्थिति देखाएका हुन्छन् । नेपाललाई नजिकबाट हेर्न, बुझ्न र खेल्न पाउँछन् । यसैमा नेपालका राजनीतिक दलहरू रमाई रहन्छन् । सबै सबैका प्यादा भई राजनीतिक दर्शनको परिभाषा गरि रहेका हुन्छन् । कोई स्वेच्छाले त कोही बाध्यात्मक अवस्थामा प्यादागिरी गरि रहन्छन् । नेपाली राजनीतिको यहि नियती हो ।
प्यादागिरी गर्ने दलहरू कहिल्यै देशलाई आत्मनिर्भर बनाउने दिशामा सोचेन । पंचायतकालदेखि लागेको यो बानी प्रगतिशील भनाउँदाहरूले पनि छोडेन । विकासोन्मुख हुन नसकेको देश समृद्धिको बाटोमा लम्कि रहेको लम्पट कुरा गरेर ओली गए । सबैले परतन्त्रताभित्र नै आफ्नो भविष्य खोज्न थाले । यसैलाई आफनो भाग्य ठानेर स्वार्थसिद्ध गर्न लागे । व्यक्तिगत धनलाभ गर्ने कार्यको एउटा ठूलो सञ्जाल बन्यो । कालान्तरमा भ्रष्टाचारको संस्थागत विकास भयो र यसैमा सबै रमाउन थाले । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दशकौंदेखि पर्दा पछाडि चल्दै आएको भ्रष्टाचारको पर्दा उघार्न लाग्दा देशमा कत्रो चिच्याहट फैलिएको सबैले देखेका छन् ।
यी लिकबाट हँटेर प्रचण्ड देशको यावत् समस्या समाधान गर्ने वीरता देखाउन सक्दछ ? देशमा रहेका संघर्षहरूले शक्तिकेन्द्रलाई आनन्द दिई रहेको छ भने देशको आर्थिक, सामाजिक संरचनालाई ध्वस्त पार्दै गई रहेको छ । समस्याहरूको पहिचान गरि यसलाई सम्बोधन गर्न सक्ने एउटा साहसिक कदमको आवश्यकता छ । यो हो स्वाभिमानको यात्रा । देशको यस्तो कार्यभार प्रचण्डले पूरा गर्लान् ? हेरौं, ९ महिने प्रचण्ड सरकारको कार्यकालमा प्रचण्डले लोकप्रियता कमाउँछ वा आलोचना ? (मधेश दर्पण फिचर सेवा)

Post a Comment

 
Top