0
गोल्डेन न्यूज संवाददाता
कास्की ल्वाङघलेल गाउँ विकास समितिका नागरिकहरुले टुक्रे योजनाका कारण गाविसमा विकास निर्माणको काम सुस्त भएको बताएका छन् । गाविसले गत आर्थिक बर्ष २०७२÷७३ मा नागरिकलाई प्रदान गरेको सेवा प्रवाह र विकास निर्माणको बिषयमा बिहिबार आयोजना गरेको बार्षिक समीक्षा तथा सार्वजनिक सुनुवाईमा साना साना योजनामा बजेट दिँदा देखिने गरी काम हुन नसकेको गुनासो गरे । कनिका छरेझैं बजेट बाँड्दा ठूला योजना अधुरो बनेको छ, स्थानीय पूर्णभद्र ढुंगानाले भने–बिकास बजेटबाट गाविसभरिमा लोभलाग्दो एउटा योजना पनि बन्न सकेन । अर्का स्थानीय सुदिप गौतमले पनि टुक्रे योजना भन्दा दिर्घकालीन हुने र ठूला योजनामा केन्द्रित गरेर बजेट विनियोजन गर्न सुझाव दिए । उपभोक्ता समितिलाई योजना छनौट गर्ने बिषयमा अभिमुखिकरण गर्न आग्रह गरे । गुनासोको सुनुवाई गर्दै गाविस सचिव टिकाराम आचार्यले बस्ति स्तरबाटै माग भएका योजनामा बजेट दिनुपर्ने बाध्यताले यस्तो समस्या भएको बताए । जनताले साना साना योजना माग गर्छन्, योजना तोडमोड गर्ने अधिकार हामीलाई हुँदैन, उनले भने–माग सम्बोधन गर्दा थोरै बजेटमा धेरै योजना बाँड्नुपर्छ । यो बर्षपनि खासै साना योजना छैनन्, आगामी बर्षदेखि धेरै योजना भन्दा धेरै बजेटका योजना छनौट गर्न प्रोत्साहन गर्छौं, उनी भन्छन्–देखिने खालका योजना सञ्चालनमा हाम्रो ध्यान केन्द्रित हुनेछ । सहभागीहरुले गाविसका कर्मचारीले सहज रुपमा सेवा प्रवाह गरेका भन्दै प्रसंशा गरे । स्थानीय तहमा उपभोक्ता समिति नै सक्रिय नहुँदा योजनामा सुस्तता आएको भन्दै समितिलाई सक्रिय बनाउनुपर्ने उनीहरुको सुझाव छ । उनीहरुले गाविसको अधिकांश बिकास बजेट सडक र सामुदायिक भवनमा खर्च भएको गुनासो गरे । यसबाहेक लक्षित बर्ग कार्यक्रममा लक्षित समुदायले चासो नदिएका, कृषि र पर्यटन क्षेत्रमा बजेट बिनियोजन हुन नसकेको, एक्याप र गाविस बीच समन्वय हुन नसकेको, बिषयगत कार्यालयका कर्मचारीबाट सेवा पाउन नसकेको लगाएत गुनासो गरे । स्थानीय अगुवा तथा पर्यटन ब्यवसायी राम गुरुङले लक्षित बर्गको बजेट क्षमता अभिबृत्ति भन्दा विकासे काममा खर्च भएको भन्दै अभिमुखिकरणमा जोड दिन आग्रह गरे । उनले गाविसमा भएको सीमा विवाद मिलाउन सरोकारवाला निकायले चासो दिनुपर्ने उनको भनाई छ । जवाफमा गाविस सचिव आचार्यले वडा स्तरबाट माग भए कृषि र पर्यटनलाई बजेट विनियोजन गर्न समस्या नहुने बताए । लक्षित बर्गको बजेटलाई पनि नतिजामुखि बनाउन सक्दो पहल गर्ने उनको प्रतिबद्धता छ । योजना माग गर्ने तर सम्झौता नगर्दा लक्षित बर्गको बजेट नतिजामुखि हुन नसकेको उनको भनाई छ । योजना माग गर्ने बेला धेरै योजना माग्छन्, तर सम्झौता गर्न आउँदैनन्, उनले भने । गाविसको सीमा विवाद मिलाउनका लागि पनि सरोकारवालासँग छलफल भैरहेको भन्दै उनले सकारात्मक सहयोग गर्न आग्रह गरे । नेपाली काँग्रेसका सभापति सम बहादुर गुरुङ, एमाले अध्यक्ष राम बहादुर गुरुङ, माओबादी केन्द्रका अध्यक्ष ओम प्रसाद गुरुङ, राप्रपा नेपालका अध्यक्ष पूर्ण बहादुर गुरुङ लगाएतले जनप्रतिनिधी नहुँदा जटिलता थपिएको बताए । उनीहरुले राजनीति सबैको फरक भएपनि विकासका काममा एकजुट भएर अगाडी बढ्ने प्रतिबद्धता जनाए । कार्यक्रमको सहजीकरण पत्रकार प्रकाश ढकालले गरेका थिए । कार्यक्रममा सहभागीहरुले लाहाचोक केन्द्र बनाएर गाउँपालिका गठन गर्न समेत माग गरेका छन् । ल्वाङघलेल गाउँ विकास समितिले अघिल्लो बर्ष १ करोड ३ लाख रुपैयाँको योजना तथा कार्यक्रम सञ्चालन गरेको थियो । जसमध्ये ६ लाख ३३ हजार आन्तरिक आम्दानी छ ।








Post a Comment

 
Top