0
गोल्डेन न्यूज संवाददाता
पोखरा नगर होटल रेष्टुरेण्ट तथा बार एशोसिएशन (सिटी रेवान)को १५औं वार्षिक साधारण सभा बुधबार सम्पन्न भयो । साधारणसभाको उद्घाटन गर्दै नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रमुख सुरेश थपलियाले पोखरा आउने पर्यटकलाई लेकसाइडलेमात्र धान्न नसक्ने बताए । उनले फेवातालको स्थिति बिग्रिंदै गएको भएपनि त्यसबाट प्रत्यक्ष फाइदा लिने व्यवसायी र संस्थाहरुले चासो नदेखाएको भन्दै असन्तुष्टि प्रकट गरे । लेकसाइडका व्यवसायीले विदेशीलाई मात्र पर्यटक मान्ने प्रवृत्ति कायम रहेको भन्दै उनले पर्यटक भनेको नेपाली पनि हुन् भन्ने मान्यता पर्यटन बोर्डले राखेपछि गाउँ–गाउँमा पर्यटकीय गतिविधि बढ्न थालेको बताए । उनले लेकसाइडका रेष्टुरेन्ट व्यवसायीले मात्र नभइ सिटी रेवान अन्तर्गतका व्यवसायीले पनि बजार क्षेत्रमा स्ट्रिट फेस्टिवल गर्न आग्रह गरे ।
सिटी रेवानका अध्यक्ष केपी शर्मा पाध्याले बजार क्षेत्रका व्यवसायीलाई लेकसाइडका व्यवसायीले पर्यटन व्यवसायी होइनौ भन्ने गरेको र पर्यटन परिषदको सदस्यता समेत नदिएको भन्दै गुनासो गरे । उनले भने–‘पर्यटन परिषद्मा यातायात व्यवसायी देखि अन्य सबैखाले व्यवसायी सदस्य बन्दा सिटी रेवानलाई सदस्यता दिन इन्कार गरियो । त्यसैले अब हामी पनि छुट्टै छाता संस्था बनाएर अघि बढ्छौं ।’ उनले उपभोक्ता तथा ग्राहक र सुरक्षा तथा प्रशासनिक निकायबाट आफूहरुमाथि बारम्बार विभिन्न बाहनामा प्रहार हुने गरेको गुनासो गरे । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका महासचिव रविन्सन प्रजु, महिला उद्यमी हिरा भट्टराई, अधिकृत विक्रेता संघ कास्कीका अध्यक्ष सुरेश अधिकारी, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कास्कीका अध्यक्ष शंकर बिरही गुरुङ, सिटी रेवानका संस्थापक अध्यक्ष पिताम्बर श्रेष्ठ, पञ्चकोशी निमाविका प्राचार्य मातृका पराजुली लगायतले बोलेका थिए । कार्यक्रममा सिटी रेवानको तर्फबाट विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति र पञ्चकोशी निमाविलाई २५÷२५ हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरिएको थियो । त्यस्तै, २५ जना व्यवसायीहरुलाई संस्थाको सदस्यता वितरण गरिएको थियो । साधारणसभाले सचिव जीवन दाहालले प्रस्तुत गरेको वार्षिक र कोषाध्यक्ष धर्मबन्धु सुवेदीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ । सिटी रेवान पोखराका अध्यक्ष के.पी शर्मा पाध्याको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष पिताम्बर शर्मा पौडेलले स्वागत र सचिव जीवन दाहालले सञ्चालन गरेका थिए । यसैबीच कार्यक्रममा विभिन्न क्षेत्रका ६ जनालाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमध्ये पत्रकार नविन सिग्देललाई नगद पाँच हजार एक सय सहित दोसल्ला र सम्मानपत्र सम्मान गरिएको हो । यसैगरी संस्थाको विकासमा योगदान पु¥याउने संस्थापक अध्यक्ष चिरञ्जीवि श्रेष्ठ, संस्थापक सचिव नवीन चालिसे, संस्थापक कोषाध्यक्ष भरतराज पौडेल, लोकदोहोरी गायिका पार्वती जिसीलाई समेत सम्मान गरिएको छ । संस्थाले उत्कृष्ट व्यवसायीको रुपमा न्यूरोड स्थित अंकल्स वियर गार्डेनका संचालक रोश गुरुङलाई सम्मान गरिएको छ । उनीहरुलाई दोसल्ला र सम्मानपत्र प्रदान गरिएको थियो । नेपाल पर्यटन बोर्ड पश्चिमाञ्चल क्षेत्रीय कार्यालयका बरिष्ठ अधिकृत सूर्य थपलिया, संस्थाका अध्यक्ष के.पी शर्मा पाध्या, कानूनी सल्लाहकार जगन्नाथ ढकाल लगायतले संयुक्त रुपमा सम्मान गरेका थिए । 




Post a Comment

 
Top