0
रामप्रसाद गौतम
हामीकहाँ आफ्नो अनुकूल राजनीतिक पार्टी फेर्ने प्रवृत्ति छ । आफ्नो स्वार्थ पूरा हुँदासम्म एउटा पार्टीको संगठनमा काम गरेर त्यो विचार ठीक छ भनेर प्रचार गरिन्छ । पछि लाभ मिलेन भने यो विचार थोत्रो रहेछ भनेर पार्टी बदलिन्छ वा नयाँ पार्टी खोलिन्छ । यस्तो काम गैरकानुनी हो कि होइन ? एउटै मानिसले कुनै समय बहुदलीय जनवाद ठीक भन्छ, बीचमा आएर नौलो जनवाद ठीक भन्छ । केही समय प्रजातान्त्रिक समाजवाद ठीक मान्छ, केही समयपछि एकल र बहुलवादमध्ये कुनै एक ठीक मान्छ । यसरी जनतालाई सार्वजनिक रुपमा झुक्याउने काम गर्न हुन्छ कि हुँदैन ?
यो कुरा हरेक सार्वजनिक पदधारण गरेको मानिसले बुझ्न जरुरी छ । मानौं कुनै पार्टीको नेता हिंसात्मक राजनीतिका क्रममा विभिन्न परिवारलाई बिचल्लीमा पारेर सत्तामा आउँछ । पछि त्यो काम गलत रहेछ, अब मैले अहिंसात्मक काम गर्छु भनेर फेरि अर्को विचार अपनाउँछ । यस्तो तरिकाबाट जनतालाई गुमराह बनाउन पाउने कि नपाउने ?
सोझो हिसाबमा पार्टी भनेको एउटा निश्चित विचार वा सिद्धान्तलाई समर्थन गर्नेहरुको समूह हो । आम जनता, जो त्यो विचारसँग सहमत रहुन्जेल पार्टीमा आबद्ध रहन्छन् । जुन दिन उनीहरुलाई त्यो विचार मन पर्दैन, पार्टी परित्याग गर्न पाउँछन् ।
बहुलवादले र गणतान्त्रिक चिन्तनले आम व्यक्तिलाई विचार परिवर्तन गर्न, समर्थन वा असमर्थन राख्ने छुट दिन्छ । त्यो छुटलाई मीठो शब्दमा लोकतन्त्र भनिन्छ । यो कतै कुनै स्वार्थ नभएको आम व्यक्तिलाई दिइने छुट हो ।
यही छुटको कारण आवधिक चुनावमा कहिले एउटा पार्टीले जित्छ भने कहिले अर्कोले जित्छ । यसको अर्थ आम जनताले आफ्नो विवेक अनुसार विचारको छनोट गर्न पाउँछ । तर, यो अधिकार सम्बन्धित पार्टीका पदाधिकारीहरु, उच्च तहका नेताहरु, कार्यसमितिमा बसेका र सदस्य बनेका व्यक्तिहरुको हकमा लागू हुन्छ वा हँुदैन ? यो प्रश्न जटिल बन्दै गएको छ ।
बजारशास्त्रको दृष्टिकोणमा विचार वस्तु हो । किनकि यो किनबेच हुन्छ र मूल्य उपभोक्ताको सन्तुष्टिले निर्धारण गर्छ । अर्थशास्त्र अनुसार पनि विचार वस्तु हो । किनकि यसले उपयोगिता सिर्जना गर्छ । मानिसहरु विचार किन्न विद्यालय, विश्वविद्यालय, ट्युसन र कोचिङ सेन्टरहरुमा धाउँछन् । पुस्तक तथा लेख मार्फत पनि विचारको किनबेच हुन्छ । त्यसै गरी राजनीतिशास्त्रमा पनि विचार वस्तु हो । जुन विचार वास्तविक, वस्तुनिष्ठ र वर्तमानका जल्दाबल्दा समस्या निमिट्यान्न पार्न सक्ने जस्तो लाग्छ, मतदाताको मन त्यतैतिर लोभिन्छ । विज्ञानमा विचार वस्तु होइन, किनकि यसको पिण्ड अर्थात् मास हुँदैन ।
शब्दमाथि अन्य अर्थ लगाउने प्रयास गरिएन भने, मतदाता वा आम जनता राजनीतिक विचारको ग्राहक हो । उसले जुन स्टलको विचार बढी उपयुक्त छ, त्यसलाई आज समर्थन गर्छ र पाँच वर्षपछि त्यो विचार तथा व्यवहारले देशलाई गति दिन सक्ने अवस्था देखेन भने त्यो त्यागिदिन्छ । यो उसको संवैधानिक हक हो । नेता तथा कुनै राजनीतिक दलको कार्यसमिति भनेको त्यो स्टलवाला हो, जसले आफ्नो दुनो सोझो हुन्जेल एउटा विचारको व्यापार गर्ने र केही कारणवश स्वार्थको दुनो पल्टिन थाल्यो भने अर्को स्टलमा जाने वा नयाँ स्टल खोल्ने सोच्छ । यस्तो गर्न पाउने कि नपाउने ?
व्यापारमा स्टल परिवर्तन हुन्छ । चिया बिक्न छोडे पछि लस्सीको पसल खोल्ने, त्यो पनि भएन भने रक्सीको कारोबार गर्नुलाई अन्यथा मानिँदैन । तर कुनै नेताले पहिले रक्सीलाई प्रतिबन्ध लगाउनुपर्छ भन्ने आदर्श बेचेर भोट तान्ने र रात परेपछि त्यही रक्सी ख्वाएर भिजिलान्ते फकाउने काम गर्छ भने त्यो ठीक कि बेठीक ? राजनेताको विचार सर्वकालिक रुपमा सर्वस्वीकार्य हुनुपर्छ । यो छिनछिनमा परिवर्तन हुने छेपाराको रङ जस्तो हुनु भएन ।
वास्तवमा नेताहरुले जुन तरिकाले पार्टी बदल्ने र विचार बदल्ने काम गरिरहेका छन्, यो एक प्रकारको राजनीतिक बेइमानी हो । हिजोसम्म मञ्चासीन भएर यो सिद्धान्त बडो उपयोगी भनेर कुर्लने र त्यही सिद्धान्त बेचेर विभिन्न पद खाने अनि केही समयपछि उही नेताले अर्को सिद्धान्त ठीक र पहिलो चाहिँ बेठीक भन्ने काम कानुनी रुपमै गलत हो कि होइन ? यो सोचनीय विषय हो । अनिर्णित भोटहरु आफ्नो पक्षमा पार्न राजनीतिज्ञहरुले कहिले लोकप्रिय खेलाडीलाई, कहिले कलाकारलाई, कहिले धनी व्यापारीलाई मोटो रकमसहित पार्टीमा प्रवेश गराएका हुन्छन् । ती नवआगन्तुकहरु अर्को पार्टीमा जानु वा फरक विचार दिनुलाई गलत मान्न सकिँदैन । किनकि अमुक पार्टीले अमुक कलाकारको लोकप्रियता केही समयका लागि प्रयोग गरेकोले सेलिब्रेटीहरु विचार फेर्न स्वतन्त्र होलान् । तर, राजनीतिक विचार र आस्थाकै कारण पार्टीको कार्यसमितिमा रहेका नेताहरुले आज एउटा विचार बोक्ने र भोलि अर्कै विचार बोक्ने अधिकार रहने–नरहनेबारे सोच्नुपर्छ । एउटा शिक्षकले आज पढाउँदा अमेरिकाको राजधानी वासिंटन र भोलि वार्सा भन्न मिल्ला त ? कहिले हाइड्रोजन र अक्सिजन मिलेर पानी बन्छ भन्ने कहिले अक्सिजन र नाइट्रोजन मिलेर पानी बन्छ भनेमा समाजले उसलाई के भन्ने ? नेता पनि कुनै रुपमा समाजको ऐना हो भने एक प्रकारको शिक्षक पनि हो । उसले कसरी कहिले एउटा विचार र कहिले अर्को विचार ठिक भन्न मिल्छ ?
नेता वास्तवमै नेता हो, अभिनेता वा कलाकार होइन । कलाकारले आज गरिबको भूमिका र भोलि धनी सामन्तको भूमिका खेल्न पाउँछ । तर, नेताले यसरी कहिले कुन कुरा ठीक र कहिले अर्को विचार ठीक भनेर समाजलाई भ्रममा पार्नु निन्दनीय काम हो । अस्थिर मनस्थिति भए विचारको वकालत नगर्न ठीक वकालत गरिसकेपछि त्यसमा अन्तिमसम्म टिक्न ठीक । समय अनुसार फरक कुरा बोल्नेले आफूलाई नेता भनेर चिनाउन मिल्दै मिल्दैन । त्यो त ब्रोकर हो, जसले आफ्नो प्रभावबाट समाजमाथि दलाली गरिरहेको हुन्छ । बुद्धले आज एउटा कुरा र भोलि अर्को कुरा गरेको भए उनी भगवान् मानिन्थे ? गान्धी कहिले अहिंसा र कहिले हिंसाको बाटोमा हिँडेको भए यत्रो सम्मानित हुन सक्थे ? वैचारिक स्थिरताले चीनको कायापलट भयो । मलेसिया विकसित भयो । विडम्बना, हाम्रो देशमा नेताका विचारहरु हप्ता–हप्ता र महिना–महिनामा परिवर्तन हुँदै जान्छ । एउटा होटलमा एउटा देशको दातासँग एक प्रकारको विचारले काम गर्छ, अर्को होटलमा अर्को दातासँग अर्को विचारलाई अगाडि सारिन्छ । यस्तै तरिकाले देश कुनै तार्किक निष्कर्षमा पुग्न सक्दैन । वैचारिक अस्थिरता कुनै प्रकारको पनि क्रमभंगता होइन र देश विकासको रणनीति पनि होइन ।
एउटै पार्टीभित्र बसेर आफ्नो विचार परिवर्तन गर्ने नेताहरु पनि छन् । त्यो नेता र नयाँ पार्टी खोलेर विचार फेर्ने नेता दुवै जनताका लागि झुटा हुन् । तर, पार्टी नै परिवर्तन गर्ने तुलनात्मक रुपमा बढी खतरनाक मानिन्छन् । यो पंक्तिकारले पार्टीगत उद्देश्य परिवर्तनलाई नाजायज भन्न खोजेको होइन । किनकि उद्देश्यहरु कहिले थपिन्छन्, जसलाई लक्ष्य अनुक्रम भनिन्छ । कहिले घटाइन्छ र फेरिन्छ, जसलाई लक्ष्य विस्थापन भनिन्छ । उद्देश्यमा समय अनुसार परिवर्तन गरे पनि विचारमा स्थिरता हुनुपर्छ ।
गरिब मुलुकका धेरै नेताले स्वार्थ अनुकूल विचारलाई नै परिवर्तन गर्ने भएकाले देशको विकास हुँदैन । यो लेखले कुनै व्यक्तिलाई आक्षेप लगाएको होइन, बिकाउ प्रवृत्तिको विरोध मात्र गरिएको हो । नेतामा संवेगात्मक स्थिरता त चाहिन्छ नै, वैचारिक स्थिरता पनि चाहिन्छ । नेताका विचार पिपलको पात झैं फेरिन्छ भने विश्वास को र के माथि गर्ने ?







Post a Comment

 
Top