0
२०४८ यता देशमा संसदीय राजनीतिको अभ्यास हुँदै आएको छ । पछिल्लो २५ वर्षमा देशले २२ वटा सरकार पायो र २३औं सरकारका लागि अहिले संसदीय खेल सुरु भएको छ । यो २५ वर्षको संसदीय राजनीतिको प्रदूसणबाट देशका सबै नागरिक पीडित भएका छन् । संसदीय फोहोरी खेलले राजनीति र दलका नेताप्रतिको जनविश्वास गुम्दै गएको छ । राजनीतिलाई नेता–कार्यकर्ताले मागिखाने भाडो बनाएको जनगुनासो उठेको छ । पछिल्लो पटक सत्ता गठबन्धनले आन्दोलनरत संघीय गठबन्धनलाई सत्ता बचाउनका लागि ५२ करोड रुपियाँको अफर गरेको समाचार प्रकाशित भयो । संघीय गठबन्धनका संयोजक तथा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी र गठबन्धनका नेताहरूसँग गरेको ब्रिफिङका आधारमा यस्तो समाचार प्रकाशमा आएको हो । उपेन्द्र यादवले आन्तरिक भेटघाटमा यो यो विषय ब्रिफिङ गरेका छन् भन्ने समाचारको मुख्य विषय हो । आफ्नो पार्टीका महासचिव ईश्वर पोखरेलको नाम मुछिएपछि सत्ता गठबन्धनको नेतृत्व गरिरहेको एमालेले विज्ञप्ती निकालेर समाचार सत्य नभएको बताएको छ । समाचार प्रकाशित भएको २४ घण्टा बित्दा पनि संघीय समाजवादी फोरमले यस विषयमा संस्थागत धारणा बाहिर ल्याएको छैन, उसले विज्ञप्ती जारी गरेको छैन । यो प्रकरणमा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार मुछिए पनि उनको कार्यालयबाट पनि समाचार प्रकाशित भएको २४ घण्टासम्म कुनै औपचारिक प्रतिक्रिया बाहिर आएको छैन । सत्ता जोड घटाउमा पैसाको खेल हुने गरेको अहिले आएको समाचार न पहिलो हो, न अन्तिम नै हुनेछ । जब गतवर्ष प्रधानमन्त्रीका लागि तत्कालीन कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच चुनाव हुँदै थियो । तत्कालीन माओवादी नेता र हाल नयाँ शक्तिको सह(संयोजक रहेका रामचन्द्र झाले सुशील कोइरालालाई प्रधानमन्त्री बनाउन करोडौंको अफर गरेको समाचार बाहिर आयो । झाले माओवादीका नेता टोेपबहादुर रायमाझीलाई फोन गरेर कोइरालालाई सहयोग गरे करौडौं रकम आउने अफर दिएका थिए । यो कुरा रायमाझीले पार्टी निकट विद्यार्थी सङ्गठनको गोप्य प्रशिक्षणमा खुलासा गरेका थिए । यो प्रकरण पनि त्यतिकै हरायो । न राज्यले न पार्टीले छानविनको आवश्यक ठान्यो । केही वर्ष अगाडि माओवादी नेता कृष्णबहादुर महराले चिनियाँ व्यापारीसँग ५० करोड मागेको विवादास्पद टेप बाहिर आयो । प्रचण्डलाई प्रधानमन्त्री बनाउन सांसद खरिदका लागि महराले पैसा मागेको भन्दै यो विषयले राष्टिूय राजनीतिलाई तरङ्गित पारिदियो । अहिले एमालले विज्ञप्ती निकालेझैँ त्यतिबेला माओवादीले पनि टेपलाई झुठो भन्यो । यसमा भारतीय षडयन्त्र देख्यो । अन्ततः यो प्रकरण पनि यत्तिकै सेलायो । संसद्मा बहुमत प्राप्त दलको नेता प्रधानमन्त्री चुन्ने व्यवस्था अँगालेपछि एउटा प्रधानमन्त्री छान्न संसद्मा १८ पटकसम्म चुनाव भएको सबैले देखेका छन् । ०४६ को जनआन्दोलनपछि सुरु भएको फोहोरी संसदीय खेल जनयुद्धको बलमा आएको गणतन्त्रपछि पनि कायमै छ । कुनै बेला यस्तो पनि हुन्थ्यो, देशमा जब संसदमा प्रधानमन्त्रीका लागि चुनाव हुन्थ्यो, होटलमा सांसदलाई जम्मा गरेर ब्लू फिल्म देखाएको चर्चा चल्थ्यो । विपक्षमा भोट दिने आशङ्कामा सांसद्लाई विदेश घुम्न पठाइएको हुन्थ्यो । ट्राफिक जाम भएको भन्दै सांसदहरू भोट हाल्न संसद भवन जाँदैनथे । पैसा भरिएका सुटकेस बोकेर नेता सांसद किन्न हिँडेका हुन्थे । सत्ताको खेलमै दलहरू नै विभाजित भएका नजिर छन् । ८ सिट भएका लोकेन्द्रबहादुर चन्द ८८ सिट पाएको एमालेको समर्थनमा प्रधानमन्त्री भएकै हुन् । ११ सिट भएका सूर्यबहादुर थापा थापा ८३ सिट भएको कांग्रेस समर्थनमा प्रधानमन्त्री भए । दोस्रो संविधानसभापछि पहिलो दल कांग्रेस र दोस्रो दल एमाले मिलेर सरकार बन्यो । दोस्रो दलले प्रतिपक्षमा बस्न मानेन । गणतन्त्रपछि कहिले कांग्रेससँग, कहिले माओवादीसँग मिलेर एमालले सत्ताको स्वाद लिइरहेको छ । पार्टीका नेताको सम्पत्तिको स्रोतले पनि हाम्रो राजनीतिक व्यवस्थामाथि प्रश्न उठाउने ठाउँ दिएको छ । संसदीय राजनीतिका यी घटनाक्रमकै जगमा पछिल्लो ५२ करोडको प्रकरण बाहिर आएको हो । विगतलाई बुझ्ने हो भने यति स्पष्ट हुन्छ कि उपेन्द्र यदावले आफ्ना नेताहरूबीच गरेको ब्रिफिङ सत्यको नजिक छ । अविश्वासको प्रस्ताव दर्तापछि पनि सत्ता छाड्ने विषयमा सत्ता गठबन्धनमा देखिएको अनिश्चयले भित्रभित्र केही पकाउन कोसिस भइरहेकालाई नै सङ्केत गर्दछ । नयाँ सरकारका विषयमा जानी जानी देखाएका संवैधानिक जटिलता पनि स्वभाविक देखिएको छैन । सत्ताको खेलमा हुने पैसाको कारोवार रोक्न चाहने हो भने सार्वजनिक भएका यस्ता विवादमाथि निष्पक्ष छानविन हुन आवश्यक छ । ५२ करोडको प्रकरणमा पनि उच्च स्तरीय छानविन समिति बनाइयोस् र सत्यतथ्य बाहिर ल्याउने काम होस् । यसले मात्र गणतन्त्रप्रतिको जनआस्था बढ्छ । राजनीतिलाई हेर्ने नजर बदलिन सक्छ । विगतमा जस्तै अहिले पनि ५२ करोडको प्रकरण विज्ञप्तीमा मात्र सीमित गरियो भने केही महिनामा फेरि अरू प्रकरण बाहिर नआउलान भन्न सकिन्न ।











Post a Comment

 
Top