0
गोल्डेन न्यूज संवाददाता
कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कारबाट पत्रकार मानबहादुर घर्ती (एमबी आस्था) मगर पुरस्कृत भएका छन् । तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले केही वर्षदेखि आफ्नो बैवाहिक वर्ष गाँठको अवसरमा प्रत्येक वर्ष एक जना पत्रकारलाई पुरस्कार प्रदान गर्दै आइरहेकी छन्। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीले उक्त पुरस्कार संचालन गर्दै आएको छ । पुरस्कृत व्यक्तित्व आस्था एबीसी न्यूज टेलिभिजनका पश्चिमाञ्चल व्युरो प्रमुख हुन् । पोखरामा रहेर लामो समयदेखि पत्रकारिता गर्दै आइरहेका उनलाई पुरस्कारका संस्थापक कर्म तमु र फोनिज कास्कीका अध्यक्ष हुमबहादुर गुरुङले १० हजार रुपैयाँ नगद, सम्मानपत्र, भाङग्रा र फेटाले पुरस्कृत गरेका थिए । जनजाति मञ्च मासिकबाट पत्रकारिताको यात्रा शुरु गरेका अस्था गगन दैनिक, हिमचुली एमएम, सगरमाथा टेलिभिजन हुँदै  हाल एवीसी न्यूज टेलिभिजनमा कार्यरत छन् । उनी अनिज कास्कीका पूर्व सचिव, फोनिज कास्कीका सल्लाहकार, नेपाल मगर पत्रकार संघका केन्द्रीय उपाध्यक्ष समेत हुन् । पुरस्कार ग्रहणपछि बोल्दै आस्थाले पुरस्कारले पत्रकारितामा लाग्न थप प्रोत्साहन मिलेको बताए । कार्यक्रममा बोल्दै पुरस्कारका संस्थापक कर्म तमुले आदिवासी जनजाति पत्रकारहरुलाई प्रोत्साहनका लागि आफूले सानो पहल मात्रै गरेको भन्दै जनजाति पत्रकारहरु क्रियाशील बन्दै अघि बढे थप सहयोग गर्ने बताइन । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रुद्र भट्टले लगनशील भई कर्म गरे सबै पत्रकार सम्मानित हुने आवस्था आउने बताए । नेपाल आदिवासी जनजाति महासंघ कास्कीका अध्यक्ष पानबहादुर घर्तीले साँचो अर्थमा पत्रकारहरुले विभेदमा पारिएकाहरु को आवाज बुलन्द अहिलेका संचार माध्यमहरु चुकेको आरोप लगाए । वरिष्ठ मानव अधिकारकर्मी टेकनाथ बरालले कर्म तमुसँग विद्यार्थी कालदेखि नै सहकार्य गर्दै आइरहेको भन्दै तमुको सामाजिक योगदान र पत्रकार घर्ती मगरको पत्रकारिता क्षेत्रको योगदानको प्रशंसा गरे । फोनिज कास्कीका सल्लाहकार रुद्रबहादुर थापामगरले आदिवासी जनजाति पत्रकारको पहँुच बृद्धि नहँुदा संचार माध्यमहरुमा आदिवासी जनजातिका समाचारले स्थान पाउन नसकेको गुनासो गरे । फोनिज कास्कीका अध्यक्ष हुमबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा फोनिज कास्कीका सल्लाहकार सरस्वती तमु, सल्लाहकार एवं अधिवक्ता जुनाकुमारी गुरुङ, फोनिज कास्कीका उपाध्यक्ष रुद्रबहादुर श्रीसमगर र रोशनी गुरुङ लगायतले पनि आ–आफ्ना भनाइ राखेका थिए । यसअघि उक्त पुरकारबाट रीता गुरुङ, तिलक पुर्जा पुन, हर्क आलेमगर र शान्ति गुरुङ पुरस्कृत भईसकेका छन् ।
कार्यक्रममा पुरस्कारका संस्थापक कर्म तमु र कर्णबहादुर तमुलाई ३६औं वैवाहिक वर्षगाँठको अवसरमा सम्मान गरिएको थियो ।



Post a Comment

 
Top