0
गोल्डेन न्यूज संवाददाता
जिल्ला विकास समिति कास्कीले चालू बर्षमा सञ्चालन गरेका आयोजनाहरुको अनुगमन सुरु गरेको छ । विकास निर्माणको गुणस्तर कायम राख्नका लागि विभिन्न विकास निर्माणका आयोजनाहरुको अनुगमन एवं सुपरिवेक्षण सुरु गरेको हो । अनुगमन अन्तर्गत जिल्लाको ४ वटै निर्वाचन क्षेत्रमा पर्ने गाविसहरुको अनुगमन गरिने स्थानीय विकास अधिकारी दामोदर भण्डारीले जानकारी दिए । सम्झौता अनुसार विकास निर्माणको काम भए नभएको बारे अध्ययन गर्नका लागि र आबश्यक सुझाव दिने उद्देश्यले अनुगमन गरिएको उनको भनाई छ । जिल्ला स्थित राजनीतिक दल, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय, बिषयगत कार्यालय, पत्रकार, गैसस महासंघ लगायतको उपस्थितीमा दुईदिने अनुगमन सुरु भएको हो । टोलिले यो बर्ष सञ्चालित नियमित तथा क्रमागत योजनाहरुको नमुना अनुगमन गर्नेछ । सबै योजनाको अनुगमन गर्न नसक्ने भएकाले नमुनाका रुपमा योजना छनौट गरी अनुगमन गर्न लागिएको प्रमुख जिल्ला इञ्जिनियर नारायण प्रसाद श्रेष्ठले बताए । जिल्लामा उपभोक्ता समितिहरु जिम्मेवार नहुँदा योजनाहरु समयमै सम्पन्न हुन नसकेका गुनासो धेरै छन्, उनले भने–बिषेशगरी उपभोक्ता समितिलाई जिम्मेवार बनाउनका लागि र आवश्यक सुझाव दिनकै लागि अनुगमन गरिएको हो । क्षेत्र नं १ र २ मा प्रमुख जिल्ला इञ्जिनियर नारायण प्रसाद श्रेष्ठ तथा क्षेत्र नम्बर ३ र ४ मा स्थानीय विकास अधिकारी दामोदर भण्डारीको संयोजकत्वमा अनुगमन गरिएको हो । अनुगमन अन्तर्गत शुक्रबार क्षेत्र नम्बर १ को कालिका, माझठाना, हंसपुर, थुम्की, लेखनाथ लगाएतका गाविसमा अनुगमन गरिएको छ भने क्षेत्र नम्बर ३ र ४ अन्तर्गत भदौरे तामागी, कास्कीकोट, ढिकुरपोखरी, सल्यान, लुम्ले, धम्पुस र पोखरा उपमहानगरपालिकाका विभिन्न वडामा अनुगमन गरिएको हो ।
चालू बर्षमा सञ्चालित योजनाहरु सन्तोषजनक रहेको प्रमुख जिल्ला इन्जिनियर हरि मैनालीले बताए । नाकाबन्दी को चरम अवस्थामा पनि यस्तो राम्रो काम भएको रहेछ, उनले भने–हामीले अपेक्षा गरेभन्दा राम्रो काम भएको छ । बजेट अख्तियारीका कारण केही योजनाहरु आर्थिक बर्षको मसान्तसम्म पनि चलिरहेकाले यसको सुधार हुनुपर्ने उनले सुझाव दिए । नेपाली काँग्रेसका जिविस प्रतिनिधी युवराज कुँवरले उपभोक्ता समितिले सुधारिएको काम गरेको बताए । अघिल्ला बर्षहरुमा उपभोक्ता समितिको गुनासो धेरै आउँथ्यो, उनले भने–तर अहिले त्यस्तो छैन, पैसा थोरै भएपनि जनश्रमदान उठाएर धेरै काम गरेका छन् । क्षेत्र नम्बर एक तर्फका अनुगमन टोलीले पनि केही योजना बाहेक अधिकांश योजना इस्टिमेट अनुसार सम्पन्न भएको प्रतिक्रिया दिए । सरकारले बजेट पठाउदा नै ढिलो गरेकाले समयमा काम सम्पन्न गर्न समस्या भएपनि स्थानीयको सहभागिताले योजनाहरु सफल भएका अनुगमन समितिका सदस्य तथा नेकपा एमालेका प्रतिनिधि बैन बहादुर क्षेत्रीले बताए । सरकारले बजेट पठाउन ढिलो गरेकाले अन्यौल थपिएको छ, उनले भने–आगामी बर्षदेखि समयमै बजेट पठाउन हामी पनि लविङ्ग गर्छौं । अनुगमनमा सहभागी अन्य राजनीतिक दलहरुले पनि योजना सक्नेतर्फ मात्रै बजेट केन्द्रित भएको तर गुणस्तरमा नजर पुग्न नसकेको प्रतिक्रिया दिए । हामीले जिल्लामा बसेर जे सोचेका थियौं त्यो भएको रहेनछ, उनीहरु भन्छन्–आगामी बर्षदेखि योजना सुरु हुनेबेला नै अनुगमन गर्नुपर्छ । शुक्रबार क्षेत्र नम्बर ३ र ४ तर्फ बैदाम–पामे सडक, खहरे खोला नियन्त्रण, टुँडेफाँट बस्ती संरक्षण, घाटिछिना मोटरेवल पुल, मादिवाङ मोटरेवल पुल, विन्ध्यावासीनी–सराङकोट–कास्कीकोट–नाउँडाडा सडक, सराङकोटको पर्यटकीय पैदल मार्ग, दलित बाजा वितरण कार्यक्रम, अँधेरीखोला सिञ्चाई, काँडे–भदौरे–सल्यान सडक, लुम्लेको बस्ति संरक्षण, लुम्ले–घुम्ती–लुएरा सडक, काँडेको सार्वजनिक सौचालय, घट्टेखोला–धम्पुस सडक, धम्पुस सामुदायिक भवन, गाविस भवन, पोखरा ७ को पोखरी पुनः निर्माण, डेविजफल्स झोलुङ्गे पुल र हेमजाको गाई फार्म अनुगमन गरिएको जिविस कास्कीका योजना शाखाका कृष्ण खनालले जानकारी दिए । क्षेत्र नम्बर १ अन्तर्गत आर्वा बिजय स्थित बाख्रापालन कार्यक्रम, कालिका गाविस स्थित सुनपँदेली सिञ्चाई आयोजना, माछापोखरी तथा तरकारी खेती, बिजयपुर खोला नदी नियन्त्रण, सौर्य–लिप्यानी–हंसपुर सडक, हंसपुर स्थित जुकेपानी खानेपानी आयोजना, कुवापानी खानेपानी आयोजना, हिमालय निमावि को भवन निर्माण तथा कम्प्युटर कक्षा सञ्चालन, पास्तेखोला मोटरेवल पुल, ठूलिबेसी स्थित माछापालन कार्यक्रम लगाएतका योजनाहरु अनुगमन गरिएको थियो । बाँकी रहेका योजनाहरु शनिवार अनुगमन गरिने जिविस कास्कीले जनाएको छ ।







Post a Comment

 
Top